अझै खुलेन कान्ति लोकपथको ट्र्याक
काठमाडौं — ठेकेदारले सम्झौताअनुसार काम नगर्दा कान्तिलोक पथको ट्र्याक खोल्ने काम अधुरै रहेको छ । दसैं मनाउन काठमाडौं उपत्यकाबाहिर जाने यात्रुलाई सहज बनाउने गरी गत वर्ष ट्र्याक खोल्न ठेक्का गरिएको थियो । ६ दशक अघिदेखि निर्माण सुरु गरिएको कान्तिलोक पथको मकवानपुरतर्फ २ किमि र ललितपुरतर्फ ४ किमि दुई लेन सडक चौडा गर्न बाँकी छ ।
कान्तिलोक पथ सडक सुधार योजनाका सूचना अधिकारी अमिन्द्र खड्काले ठेकेदारले समयमा काम सम्पन्न नगरेकाले दसैंमा सवारीसाधान गुडाउने लक्ष्य फेल खाएको बताए । ‘ठेकेदारलाई जरिवार तिराउने वा के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘६ किमि सडकमा कडा पत्थर छ ।’
ललितपुर खण्डतर्फ ट्र्याक खोल्न सूर्य, बाइवा जेभीले १७ करोड रुपैयाँमा ठेक्का पाएका थिए । मकवानपुरतर्फ नार्गाजुन र सर्वशक्ति जेभीले १० करोडमा ठेक्का पाएका थिए । अर्थ मन्त्रालयले मार्गको स्तरोन्नति गर्न आर्थिक वर्ष २०७६/७७ का लागि ६० करोड रुपैयाँ बजेट विनियोजित गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा निर्माण सम्पन्न गरी उद्घाटन गर्ने सरकारी लक्ष्य छ । योजनाअनुसार ट्र्याक चौडा ७१ किमि र कालोपत्रे ६९ भइसकेको छ । सडकको लम्बाइ हेटौंडाको बुद्ध चोकदेखि सातदोबाटोसम्म ९० किमि छ ।
योजनाअन्तर्गत टीकाभैरव– सातदोबाटो ११ किमिबाहेक ७९ किमि छ । जसको ललितपुर र मकवानपुर खण्डअन्तर्गत २८ र ५१ किमि छ । नेपाली सेनाले २०१३ बाट ट्र्याक खोल्न सुरु गरेर २०१६ सम्पन्न गरेको थियो । कान्तिलोक पथ राजधानीलाई हटौडासँग जोड्ने छोटो भरपर्दो मार्गका रूपमा लिइन्छ ।