१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बेलकोटगढीमा सामूहिक जमरा

कृष्ण थापा

बेलकोटगढी, नुवाकोट — बडादसैंको पहिलो दिन आ-आफ्नो घरमा जमरा राखिन्छ । यहाँ भने सबै जातजाति मिलेर सामूहिक जमरा राखेका छन् । बेलकोटगढी नगरपालिका- १० बेलकोटगढी निरञ्जना देवीथानमा आइतबार जमरा राखिएको हो । 

बेलकोटगढीमा सामूहिक जमरा

आश्विन शुक्ल प्रतिपदाको दिन जमरा राखी नवरात्र सुरु हुन्छ । यहाँ नेपाल पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरे अनुसार आइतबार बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा जमारा राखिएको थियो । बडादसैंको पहिलो दिन निरञ्जना भगवतीथानमा घटस्थापना दिन २ सय ३५ धुरीले सामूहिक जमारा राखेका छन् ।

परापूर्वकालदेखि घटस्थापनाको दिन दलित, गैरदलित र जनजाति मिलेर नवदुर्गाभवानीको प्रसाद स्वरूप जमरा राखिँदै आएको स्थानीयवासी तथा पत्रकार भोला पौडेलले बताए । यहाँ जमरा राख्नको कुनै भेदभाव नगरिने उनले बताए । यहाँका स्थानीय भीमबहादुर नेपालीले नवरात्र सुरु भएपछि देवीथानमा नगरा बजाउँछन् । उनले पनि यहीं जमरा राखेका छन् । ‘यहाँ कुनै भेदभाव छैन’, उनले भने, ‘सबै मिलेर जमरा राख्यौ ।’

उनी यही मन्दिरमा बिहान ५ बजे र साँझ पहेंलीघाम लागेपछि मन्दिरमा नगरा बजाउँछन् । स्थानीयहरू बिहान नुहाईधुवाई गरेर शुद्ध भई जमारा राख्न आउँछन् ।

यहाँ ब्राह्मण, क्षत्री, मगर, नेवार, विश्वकर्मा, नेपाली, मिजारलगायतले सामूहिक जमारा राखेका छन । ‘सबै स्थानीय मिलेर जमारा राखियो,’ पुजारी महेश पौडेलले भने, ‘पहिले देखिनै हामी मिलेर जमारा राख्दै आएका छौं । यहाँ जातीय भेदभाव छैन । यहाँका लागि कुनै नौलो पनि होइन ।’ अन्यत्र दलित र गैरदलितबीच छुवाछूतको बाराना छ । ‘आ-आफनो टपरीमा एउटै कोतघरमा जमारा राखियो,’ उपाशे मानबहादुर रानाले भने, ‘यहाँ काठमाडौंको हनुमानढोकाको विधिविधान अनुसार जमारा राखिन्छ ।’

यहाँका मगरहरूले निरञ्जना भगवतीलाई आफनो कुलदेवीको रूपमा पुज्छन् । यहाँ आधा दर्जन धुरी मगर छन् । दलित २४ धुरी छन् । गैरदलित सवा २ सयभन्दा बढी छन् । यो पटक २ सय ३५ टपरी जमरा राखिएको छ । त्योबाहेक भुइँमा लिपपोत गरेर छुटै जमरा राखिएको छ । गत वर्ष १ सय ८२ टपरीमा जमारा राखिएको थियो । यहाँमा निरञ्जना भगवती संरक्षण समिति छ । यहाँको रेखदेख र संरक्षण यही समितिले गर्दै आएको छ ।

‘सामूहिक जमारा राख्ने चलन उहिलेदेखि रहेको छ,,’समितिका अध्यक्ष कालीबहादुर तिवारीले भने, ‘अहिलेसम्म हाम्रो परम्परा कायम छ ।’ यदि आफूले राखिएको जमराको भाग पुगेन भने समितिले राखेका जमरा स्थानीयले लैजान्छन् । बेलकोटगढीगाउँमा ६ सय धुरी छन् । त्यसैगरी नुवाकोट साततल्ले दरबारको उत्तरपट्टि रहेको तुलजा भवानी दरबारमा पनि जमरा राखिएको छ ।

प्रकाशित : आश्विन १३, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?