२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

भाइरलका बिरामी बढे

कृष्ण थापा

नुवाकोट — सूर्यगढी गाउँपालिका- ५ का खड्गप्रसाद पौडेल डेंगुको संक्रमण हो कि भनेर त्रिशूली अस्पताल जँचाउन आए । उनलाई ज्वरो आउने, घाँटी र छाती दुख्ने भएको थियो । उनको ५ दिनदेखि उपचार भइरहेको छ । ‘सुरुमा डेंगु हो कि भनेर चिन्ता लागेको थियो,’ उनका छोरा राजेन्द्र पौडेलले भने, ‘जँचाएपछि थाहा भयो, भाइरल ज्वरो मात्रै रहेछ ।’ गाउँमा भाइरल ज्वरोले व्याप्त भएको उनले बताए । धेरैजसो गाउँकै मेडिकलमा औषधि लिएर बस्ने र अति नै भएपछि मात्रै अस्पतालतिर लाग्ने गर्छन् । 

भाइरलका बिरामी बढे

भदौ तेस्रो सातादेखि जिल्लामा भाइरलका बिरामी बढेपछि डेंगु फैलिएको हल्ला चल्यो । ज्वरो आएका बिरामी अस्पताल र निजी मेडिकलमा उपचार गराउन थाले । बिरामीको रगत र पिसाब परीक्षण गरेपछि मात्र भाइरल ज्वरो भएको निश्चित भयो । चिकित्सकले औषधि लिएर घरमै आराम गरेर बसेपछि ज्वरो कम हुने सल्लाह दिएपछि उनीहरू घरमै उपचार गराइरहेका छन् ।

कतिपय घरमा भन्दा चिकित्सकको निगरानीमा उपचार गराउँदा छिटो निको हुने आसले अस्पतालमा छन् । दुई दिनसम्म ज्वरो आएपछि विदुरनगरपालिका- १३ की सुनिता खड्का अस्पतालमा उपचार गराइरहेकी छन् । अस्पतालको इमेर्जेन्सी बेडमा उनको उपचार भइरहेको छ । अस्पतालभित्रका अरू बेड बिरामीले भरिएपछि उनको इमेर्जेन्सीमा उपचार भएको हो ।


‘घरमै बसेर उपचार गर्दा ज्वरो आउन छाडेन,’ उनले भनिन्, ‘त्यही भएर उपचारका लागि अस्पताल आएकी हुँ ।’ भाइरल ज्वरो १ सयबाट १ सय ४ डिग्रीसम्म आउने गरेको उपचार गराउन आएका बिरामीले बताए । ज्वरो आएपछि साना काखेनानीदेखि वृद्धवृद्धासम्म अस्पतालमा उपचारका लागि आइरहेका छन् । जिल्ला अस्पतालमा नुवाकोट र रसुवाको तल्लो भेगका बिरामी उपचार गर्न आउने गरेका छन् । बिरामीको चाप बढेकाले रातिको समयमा पनि चिकित्सकले चेकजाँच गरेर पठाउने गरेको अस्पतालका कर्मचारी बताउँछन् । अस्पतालमा दैनिक १ सयदेखि २ सयसम्म बिरामी आउने गरेका छन् । चिकित्सकहरू मौसम परिवर्तन हुने बेलामा भाइरल ज्वरो आउने बताउँछन् ।


‘यहाँ फाट्टफुट्ट रूपमा उपचार गर्न आइराखेका छन् । अरू बिरामी अन्य मेडिकलमा पनि उपचार गराइरहेका हुन्छन्,’ त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रेमकुमार राईले भने, ‘स्क्रब टाइफसका बिरामी आएका छैनन् ।’ जिल्लाका आधा दर्जनभन्दा बढी मेडिकलमा डेंगुको संक्रमण फैलिएको भन्दै भाइरल ज्वरोको बिरामी उपचार गर्न आउनेको गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर घिमिरेले भने, ‘डेंगुका बिरामी फाट्टफुट्ट छ । भाइरल ज्वरोको बिरामी बढेका छन् ।’


कार्यालयका अनुसार नुवाकोटमा परीक्षण गरिएका ११ बिरामीमा डेंगुको संक्रमण देखिएको थियो । जिल्लाका १२ वटै स्थानीय तहका वडामा डेंगुबाट बच्न लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान चलाइरहेको कार्यालयले जनाएको छ । डेंगु लागेमा खासै उपचार नहुने रोकथामका उपाय मात्रै गर्न सकिने चिकित्सकको भनाइ छ ।

प्रकाशित : आश्विन ११, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?