नौबिसे–नागढुंगा सडक मर्मतको असर : ३० किमिसम्म सवारी जाम

हरेक वर्ष चाडपर्वको बेला मात्रै सडक मर्मत गर्दा सर्वसाधारणले सास्ती भोग्ने गरेका छन्
हरिहरसिंह राठौर

(धादिङ) — गत असारमै सक्नुपर्ने नौबिसे–नागढुंगा सडक मर्मतको काम बल्ल सुरु गरिएको छ । मर्मतको जिम्मा पाएको चितवनस्थित ठेकेदार कम्पनी जीएमआरले सडक मर्मत दसैंको चहलपहल सुरु हुने बेलामा सुरु गरेको हो । मर्मतका कारण उक्त सडक खण्डको धादिङतर्फ ३० किलोमिटरसम्म सवारी जाम हुने गरेको छ । 

मर्मतका कारण उक्त सडक खण्डको धादिङतर्फ ३० किलोमिटरसम्म सवारी जाम हुने गरेको छ । दसैंअघि उपभोग्य सामग्री राजधानी भित्रिने बेलामा हुन लागेको मर्मतले यात्रुलाई सास्ती भएको छ । दसैं–तिहार नजिकिँदा राजधानी छिर्ने र बाहिरिने सवारी साधनहरूको चाप यसै पनि बढ्छ ।

काठमाडौंबाट बाहिरिने र त्यहाँ छिर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकखण्ड मर्मत धेरै दिन टिक्दैन । अत्यधिक सवारी चापले मर्मत गरेको महिना दिनमै सडक जीर्ण हुन थाल्छ । हरेक वर्ष चाडपर्व लक्षित गर्दै हतारमा टालटुल गरिँदै आएको छ । मापदण्डविपरीत भार बोकेका साधनहरूले सडक साना सवारी गुडाउन असहज हुने गरी भत्किने गरेको छ ।

अत्यधिक वर्षाका कारण असार महिनामा काम गर्न नसकिएको र वर्षा नभए बिहीबारसम्म मर्मत सकिने निर्माण कम्पनीका सञ्चालक गणेश पाण्डेले दाबी गरे । नौबिसेबाट काठमाडौं पस्ने देब्रे लेनको उकालोमा बढी खाडल परेर सडक जीर्ण बनेको छ । चाँडपर्वका बेला मात्रै यो सडक टालटुल गरिँदै आएको छ । गतवर्ष पनि दसैंअघि खाल्टाखुल्टी पुरिएको थियो ।

खाल्टाखुल्टी भएको उकालो र साँघुरो बाटो, घुमाउरा मोड, अत्यधिक भार बोकेका गाडी र लेन अनुशासन मिच्ने प्रवृत्तिले पनि सडक जाम हुने गरेको छ । चितवनस्थित सडक डिभिजन कार्यालयका प्रमुख कृष्ण अधिकारीले यात्रुलाई असर नपर्ने गरी मर्मत थालिएको बताए ।

दसैं–तिहारमा दैनिक १८ हजारसम्म सवारी र मालबाहक गाडी राजधानी भित्रिने र बाहिरिने गरेका छन् । तीमध्ये ७ सयभन्दा बढी १८ देखि २२ चक्केसम्मका ठूला मालबाहक गाडी हुन्छन् । सवारी जाम घटाउन मंगलबारबाट ठूला मालबाहक साधनलाई दिनभर जिल्लामै रोक्ने र नोओभरटेक जोन लागू गरिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए ।

प्रकाशित : आश्विन ८, २०७६ ०७:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

नेकपा–सीपीसी भाइचारा : कांग्रेसभित्र तरंग

कुलचन्द्र न्यौपाने

काठमाडौँ — चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) र नेकपाबीच राजधानीमा मंगलबार सम्पन्न सी विचारधाराबारे छलफलले प्रमुख प्रतिपक्ष कांग्रेसभित्र तरंग पैदा गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ विचारधारा लोकतान्त्रिक मूल्य मान्यताविपरीत रहेको भन्दै कांग्रेस नेताहरूले सार्वजनिक रूपमा टीकाटिप्पणी सुरु गरेका छन् । दोस्रो चरणको जागरण अभियानको अन्तिम दिन मंगलबार देशभरका विरोधसभामा कांग्रेस नेताहरूले सी विचारधाराप्रति नेकपाको झुकावलाई लिएर आलोचना गरेका छन् । 

आर्थिक, राजनीतिक, सांस्कृतिक विविधितासँगै भूराजनीतिक संवेदनशीलता रहेको नेपालमा सी विचारधाराको नक्कल असम्भव रहेको भन्दै कांग्रेसले नेकपाको लोकतन्त्रप्रतिको प्रतिबद्धतामाथि पनि प्रश्न उठाएको छ ।

सीपीसीका विदेश विभाग प्रमुख सोङ ताओको उपस्थितिमा भएको सी विचारधारामाथिको छलफलमा नेकपाका नेताहरूले सी विचारधाराको प्रशंसा गर्दै यही अवधारणाअन्तर्गत चीनसँग विकासको साझेदारी अघि बढाउन सकिने बताएका थिए । यी दुई पार्टीबीच भाइचाराको सम्बन्ध स्थापित भएको छ ।

कांग्रेस नेताहरूले नेपालको भूराजनीतिक एवं भूरणनीतिक संवेदनशीलतालाई नबुझी नेकपाले सी विचारधारा पछ्याउन खोज्दा अस्थिरता आउन सक्ने भन्दै चिन्ता प्रकट गरेका छन् । चीन र भारतबीचको सन्तुलित एवं सहकार्यमा आधारित सम्बन्धले मात्रै नेपालमा स्थिरता कायम हुन सक्ने बुझाइ कांग्रेस नेताहरूमा छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा नेकपाका नेताहरूले आफूलाई कम्युनिस्ट सिद्ध गर्न उनको विचारधाराको नक्कल मात्रै गर्न खोजेको हो वा साँच्चै यही दर्शनलाई पछ्याउन खोजेको हो भन्नेबारे केही समय पर्खनुपर्ने बताएका छन् । पछिल्लो दशकमा चीनले उदार अर्थनीति अवलम्बन गरे पनि राजनीतिक रूपमा ‘एक पार्टी राज्य’ व्यवस्था अँगाल्दै आएको छ । ‘राजनीतिमा चीन अझै कठोर छ । कुनै किसिमको राजनीतिक स्वतन्त्रता छैन, त्यसैको नक्कल गरेर नेपालमा आर्थिक विकास हासिल गर्छु भन्ने नेकपाले सोचेको हो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ,’ पार्टी कार्यक्रममा रुकुम पुगेका पौडेलले कान्तिपुरसँग भने, ‘साँच्चै सी विचारधारा नक्कल गर्न खोजियो भने मुलुक अधिनायकवादतर्फ उन्मुख हुन्छ । यसले द्वन्द्व निम्त्याउँछ ।’

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले सी विचारधारालाई नेपालको आर्थिक समृद्धिसँग मात्रै जोड्न खोजेको बताएका छन् तर कांग्रेस नेताहरूले एक चीनको आर्थिक समृद्धिको लाभ नेपालले लिन सक्ने भए पनि त्यही मोडलको विकास असम्भव रहेको भन्दै प्रतिवाद गरे । एकदलीय राजनीतिक दर्शनमा सञ्चालित विकासको मोडल भूराजनीतिक जटिलता र विविधिता भएको नेपालका लागि नक्कल गर्न नहुने नेताहरूको तर्क छ । मुलुक संघीयतामा गइसकेपछि पनि राज्यका शक्तिशाली निकायहरू आफूमातहत ल्याउनु र संशोधनमार्फत कानूनलाई राज्य नियन्त्रणमुखी बनाउँदै लैजाने कोसिस गर्नुले आशंका जन्माएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए ।

पछिल्लो समय नेकपाले सीपीसीको भ्रातृ संस्थाकै रूपमा गतिविधि गरेको उनले आरोप लगाए । ‘होइन भने एकदलीय शासन सत्ता भएको मुलुकको कम्युनिस्ट पार्टीबाट नेकपाले दीक्षान्त किन लिनुपर्‍यो ? यसले नेकपा संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको मूल्यमान्यताप्रति प्रतिबद्ध नभएको देखाउँछ,’ उनले भने । कांग्रेस केन्द्रीय सदस्य मीनेन्द्र रिजाल र शेखर कोइरालाले पनि नेकपाको राजनीतिक दर्शनप्रतिको विश्वसनीयतामा प्रश्न उठाए । ‘चीनसँग हाम्रो भरपर्दो र विश्वसनीय सम्बन्ध छ तर चीनको राजनीतिक व्यवस्था फरक छ,’ कोइरालाले भने, ‘त्यहाँको राजनीतिक पार्टीको प्रशिक्षणले हामीलाई चीनसँगको सम्बन्धलाई गहिरो बनाउनेतिर भन्दा कम्युनिस्ट पार्टीका रूपमा रूपान्तरण गर्ने चाहना रहेको हो कि भन्ने आशंका छ ।’ कोइरालाले चीनको आर्थिक समृद्धिको अनुभव नेपालका लागि पाठ हुने भए पनि त्यही मोडल लागू हुन नसक्ने बताए ।

प्रकाशित : आश्विन ८, २०७६ ०७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×