सहयोगी शिक्षकको पीडा, न्यून तलबमा कति खट्ने ?

(नुवकोट) — जिल्लाको रामचन्द्र प्राविमा सन्तमाया लवट १७ वर्षदेखि साना बालबालिकाका लागि सहजकर्ता हुन । वर्षौंसम्म ५ सय तलबमा खटिएकी उनको बल्ल ६ हजार रुपैयाँँ पुगेको छ । सोही विद्यालयमा अध्यापनरत मनुमाया गिरीले पढाउन थालेको ७ वर्ष पुग्यो ।

सहयोगी शिक्षकको पीडा, न्यून तलबमा कति खट्ने ?

उनको पनि तलब ६ हजार रुपैयाँ छ । दुवैले अन्य शिक्षक सरह विद्यालयमा बालबालिकालाई पढाउँछन् ।


बेलकोटगढी नगरपालिका ६ नेपाल घेदुङ विद्यालयमा पढाउने सावित्री तामाङ ११ वर्षदेखि पढाइरहेकी छन् । उनको तलब पनि बल्ल बढेर आएको छ ।


शिवपुरी गाउँपालिका ७ की सानुमाया तामाङ १९ वर्षदेखि घ्याम्पेश्वरी विद्यालयमा सहयोगी छिन् । ७ सय रुपैयाँ तलबबाट काम गरेकी तामाङ अहिले ४ हजार रुपैयाँ पाउँछिन् । उनीहरूले शिक्षा विकास तथा समन्यव एकाइ कार्यालयमा तलब बढाउन माग गर्दै आइतबार धर्ना दिए । त्यसअघि र्‍याली निकालेका उनीहरूले सरकारले तोकेको मापदण्डअनुसार तलब र स्थायी गर्न माग गरे । १८ महिने शिशु बोकेर एकाइ कार्यालय आएकी गिरीले अरू शिक्षकसरह तलब र स्थायी गरिदिन आग्रह गरिन् ।


‘हामी अरू शिक्षकसरह पढाउँछौं,’ उनले भनिन्, ‘तर तलब र सुविधा भने एकदमै थोरै दिएको छ ।’ बाल विकास शिक्षकले साना नानीलाई पढाउने र उनीहरूको रेखदेख गर्न ठूला विद्यार्थीभन्दा गाह्रो हुने उनी बताउँछिन् । त्यसैगरी विदुरनगरपालिका ७ बच्छला माविमा अध्यापन गराउने शोभा अधिकारी बालविकास शिक्षक हुन ।


न्यूनतम तलबमा पढाउँदै आएकी उनले अन्य शिक्षकसरह सेवा सुविधा दिनुपर्ने बताइन् । विद्यालयमा कार्यरत बाल विकास शिक्षक, विद्यालय कर्मचारी र सहयोगीप्रति राज्यले उपेक्षा र विभेद गरेको बालविकास शिक्षक अध्यक्षसमेत रहेकी अधिकारीले बताइन् ।


‘मजदुरी र मेलापात गर्नेको दैनिक ज्याला बढयो,’ उनले भनिन्, ‘अरू शिक्षकसरह हात घोट्दा समेत हाम्रो सेवासुविधा दिनेमा सरकार गम्भीर भएन ।’ उनीजस्तै बाल विकास शिक्षकले ०६८ देखि सेवासुविधाका विषयमा आन्दोलन गर्दै आएका छन् ।


त्यसैगरी, विद्यालय कर्मचारीका अध्यक्ष झंकबहादुर सडौलाले विद्यालयमा कार्यरत कर्मचारी, बालविकास शिक्षकको दरबन्दी आन्तरिक प्रक्रियाबाट स्थायी गर्नुपर्ने माग गरे । ‘तलब भनेको बौद्धिक श्रमको पारिश्रमिक हो,’ उनले भने, ‘कुनै भिख मागेको होइन । न्यूनतम तलबमा वर्षौं घोटिन बाध्य बालविकास शिक्षक, कर्मचारी, सहयोगीलाई सौतेनी व्यवहार गरेको उनीहरूको भनाइ छ ।


सरकारले समयानुकूल पारिश्रमिक निर्धारण गरेर आफ्नो माग सम्बोधन गर्नुपर्ने उनले बताइन् । विद्यालय कर्मचारी स्कुलका लेखापाल र सहयोगी हुन् । माविसम्मका लेखापालले साढे ११ हजार तलब पाउने गरेका छन् । मावि र आधारभूत विद्यालयका सहयोगीले साढे ४ हजारदेखि साढे ७ हजार रुपैयाँसम्म तलब पाउँछन् । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख अर्जुन श्रेष्ठले राखेका मागलाई माथिल्लो तहमा पठाउने बताए ।


प्रकाशित : आश्विन ६, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?