दोरम्बामा बल्ल चिकित्सक

रामेछाप सदरमुकामदेखि काभ्रेको सीमासम्म रहेका साबिक २० गाविसका बासिन्दाले चिकित्सकको सेवा पाउने भएका छन् 
टीकाप्रसाद भट्ट

(रामेछाप) — रामेछापको दोरम्बामा पहिलो पटक चिकित्सकको सेवा सुरु भएको छ । सरकारले दोरम्बा 
स्वास्थ्यचौकीमा चिकित्सक पठाएपछि सर्वसाधारणले उक्त सेवा पाउन थालेका हुन् ।

दोरम्बामा बल्ल चिकित्सक

सदरमुकामबाट काभ्रे जिल्लाको सीमासम्म रहेका साबिक २० गाविसमा चिकित्सक

सेवा थिएन । सामान्य बिरामी पर्दा स्वास्थ्यचौकीको औषधि र सेवाको भर मात्रै स्थानीयलाई थियो । दोरम्बामा चिकित्सक पुगेपछि रोग परीक्षण र उपचार गराउन आउने बिरामीको संख्या बढेको छ । पहिले दैनिक ४/५ जना बिरामी पुग्ने दोरम्बा स्वास्थ्यचौकीमा अहिले प्रतिदिन ३०–३५ बिरामी पुग्ने गरेका छन् ।


‘यहाँ पूर्वाधार र औषधिको अझै अभाव छ,’ चिकित्सक सन्तोष श्रेष्ठले भने, ‘सबै सुविधा भयो भने पश्चिमी रामेछापकालाई गम्भीर प्रकृति बाहेकका अन्य समस्याका लागि काठमाडौं धाउनु पर्दैन । ल्याब र त्यसका लागि प्राविधिक, रेडियोग्राफर र स्टाफ नर्स नभएकाले अझै समस्या छ ।’


गाउँपालिकाले स्वास्थ्य उपकरणको खरिद गरिसकेको र शीघ्र जनशक्ति व्यवस्थापन गर्ने वचन दिएकाले सेवा प्रभावकारी हुनेमा श्रेष्ठ आशावादी छन् । चिकित्सकले चलाउने औषधि फार्मेसी या गाउँपालिकाले व्यवस्था गरेमा बिरामीलाई सहज हुने उनले सुझाए ।


रामेछापकै दुर्गम काभ्रेको सीमावर्ती क्षेत्रमा पर्ने लखनपुर र गुन्सीलगायत बासिन्दा बिरामी भएमा धुलिखेल वा काठमाडौं धाउनुपर्ने बाध्यता अझै छ । लखनपुर, गौश्वारा र गुन्सीलाई दोरम्बाभन्दा उतै जान पायक पर्छ । टोकरपुर, दोरम्बा, डडुवा, दिमीपोखरी, खाँडादेवी, हिलेदेवीलगायत साबिकका गाविसका बासिन्दालाई दोरम्बामा चिकित्सकको सेवा लिनका लागि सहज भएको स्थानीय पेमा लामाले बताए । बेथान, खनियापानी, राकाथुम, मझुवा, भिरपानी, माकादुमलगायत साबिकका गाविसका बासिन्दालाई सित्खा र खैरेनीमा पुल निर्माणपछि उपचारका लागि काठमाडौं पुग्न सहज छ ।


गागल, पिङखुरी, पकरबासतर्फका बासिन्दा पनि मन्थलीभन्दा काठमाडौंतिरै उपचारका लागि पुग्दै आएका छन् । पहरी थामी, मगर र तामाङ जातिको बाहुल्य रहेको उक्त गाउँपालिकामा अझै कतिपय बस्तीमा बिरामी पर्दा धामीझाँक्री लगाउने चलन छ ।


उपचारका लागि दोरम्बा पुगेका केही बिरामी दीर्घरोगी भेटिएको श्रेष्ठले बताए । ‘ढाडकम्मरका बिरामी धेरै भेटिए,’ श्रेष्ठले भने, ‘जो वर्षौंदेखि उक्त रोगबाट पीडित भएका थिए । त्यसका अतिरिक्त भाइरलका बिरामी प्रशस्तै भेटिए ।’ दोरम्बा गाउँपालिकाले दोरम्बा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर प्राथमिक अस्पतालका रूपमा विकास गर्ने योजना बनाएको छ । हरेक स्थानीय तहमा एक अस्पतालको नीति लिएको सरकारले चाँडै दोरम्बामा अस्पलात सञ्चालनमा ल्याउने कुरामा आशावादी रहेको गाउँपालिकाका अध्यक्ष कमानसिं मोक्तानले बताए ।


पश्चिमी रामेछापकै खाँडादेवी गाउँपालिकाले यस वर्षदेखि आफ्नै स्रोतमा चिकित्सकको सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।


गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङका अनुसार सरकारले स्थानीय तहमा सञ्चालन गर्ने अस्पतालबारे अन्योल रहेकाले गाउँपालिकाले गुणस्तरीय स्वास्थ्य उपकरण र चिकित्सकको व्यवस्था गर्न लागेको हो । ‘अब हाम्रो ल्याब, भिडियो एक्सरेलगायतका सबै सुविधा गाउँपालिकामै उपलब्ध हुन्छन्,’ तामाङले भने ।


प्रकाशित : आश्विन ६, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?