डाक्टर नहुँदा पोस्टमार्टम भएन

प्रताप विष्ट

(हेटौंडा) — मकवानपुर कैलाशका एक स्थानीयलाई भिरबाट खसेर मृत्यु भएको पीडा छँदै छ । शव पोस्टमार्टम गर्न बोकेर लैजानुपर्ने बाध्यता पनि छ । खसेर मृत्यु भएपछि पोस्टमार्टम गर्नुपर्ने कानुनी व्यवस्था छ ।

डाक्टर नहुँदा पोस्टमार्टम भएन

दुर्गम गाउँमा अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र त्यसै पनि छैनन् । नजिकमा पर्ने मकवानपुरको थाहा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र त छ, १५ दिनदेखि चिकित्सक छैनन् । यसले दुर्गमका स्थानीय दोहोरो पीडा सहन बाध्य छन् ।


बिहीबार भिरबाट खसेरकैलाश २ का ३१ वर्षीय वीरबहादुर तामाङको मृत्यु भयो । पोस्टमार्टम गर्न थाहाको प्राथमिक स्वास्थ्य केन्द्रमा शुक्रबार शव ल्याइएको थियो । चिकित्सक नहुँदा पोस्टमार्टम भएन । त्यसपछि आफन्तले शुक्रबारै शव हेटौंडा ल्याए । थाहाको पालुङबाट शव गाडीमा राखेर हेटौंडा ल्याउन सवारी चालकले ३२ हजार ढुवानी भाडा मागे ।


महँगो भाडाका कारण आफन्तले हेटौंडाबाट शववाहन ल्याएर पोस्टमार्टम गर्न शव हेटौंडा अस्पतालमा ल्याएका थिए । थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका र कैलाश गाउँपालिकाको साबिकको गोगने र डाँडाखर्क गाविसका मृतक व्यक्तिहरूको पोस्टमार्टम प्राथमिक स्वास्थ्य केन्द्र पालुङमै हुने गरेको थियो ।


‘अहिले डाक्टर अभावमा पोस्टमार्टम गर्न शव हेटौंडा लैजानुपर्ने बाध्यता छ,’ थाहा नगरपालिकाका मेयर लवशेर विष्टले भने, ‘स्वास्थ्य केन्द्रमा डाक्टर ल्याउने प्रयत्न भरहेको छ ।’


पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा विगत २ वर्षदेखि चिकित्सकसहित स्वास्थ्यकर्मीले सेवा दिइरहेका थिए तर गत भदौ २१ मा चिकित्सकले छिटो स्वास्थ्य सेवा दिएनन् भनेर केही स्थानीय युवकले डाक्टरमाथि अभद्र व्यवहारसहित स्वास्थ्य केन्द्रको भवनमा तोडफोड गरे । त्यसयता डा.रवीन थामी स्वास्थ्य केन्द्रमा उपस्थित भएका छैनन् । जिल्लाको उत्तरी क्षेत्रबाट ल्याइएका शवको पोस्टमार्टम रोकिएको छ ।


स्वास्थ्य केन्द्रमा तोडफोड गर्ने र चिकित्सकमाथि अभद्र व्यवहार गरेकाहरूलाई कानुनी कारबाही गरिसकिएको छ । यो घटनामा स्थानीय एक युवकलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ भने अन्य १२ जना फरार छन् ।


‘स्वास्थ्य केन्द्रले दिने उपचार सेवामा खासै समस्या छैन,’ थाहा नपा स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले भने, ‘नपाको अन्य स्वास्थ्यचौकीका सिनियर स्वास्थ्यकर्मीहरूलाई

काजमा ल्याएर सेवा दिइरहेका छौं, पोस्टमार्टम गर्न तालिमसहितको डाक्टर नै हुनुपर्ने भएकाले यो सेवा १५ दिनेदेखि दिन सकिरहेका छैनौं ।’


उत्तरी क्षेत्रमा दिनमा एक जनादेखि ३ जनासम्म आत्महत्या गर्ने, भिरबाट लडेर मृत्यु हुने, कर्तव्य गरेर ज्यान लिनेजस्ता घटना हुने गर्छन् । पोस्टमार्टम गर्न अहिले हेटौंडा नै लैजानुपर्ने बाध्यता छ ।


प्रकाशित : आश्विन ६, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?