अझै खुलेन पासाङल्हामु मार्ग
(रसुवा) — पहिरोले अवरुद्ध पासाङल्हामु मार्गको राम्चे–ग्राङ सडक खण्ड अझै सुचारु हुन सकेको छैन । कालिका गाउँपालिका–१ नाकुरदुङमा भदौ २५ मा सडक भासिँदा पासाङल्हामु मार्ग अवरुद्ध बनेको भएको हो ।
मार्ग अवरुद्ध हुँदा स्थानीयबासी, पर्यटक र मानसरोवर जाने तीर्थयात्री मर्कामा परेका छन् । दसैं र तिहारका लागि चीनबाट आयात गरिएका सामान भन्सारमै रोकिएका छन् । रसुवागढी नाका हुँदै तिब्बतको कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीहरू महँगो शुल्क तिरेर हेलिकप्टर चार्टर गर्न बाध्य छन् । भन्सार गरेर छुटेका र सामान लिन केरुङ हिँडेका सयौं कन्टेनर बीचमै रोकिएका छन् । अहिले दसैं र तिहारका लागि चीनबाट धमाधम सामान आयात भइरहेको छ ।
चाडबाडको मुखैमा सडक अवरुद्ध भएकाले व्यापारीहरू चिन्तित भएका छन् । पासाङल्हामु मार्ग अवरुद्ध भएपछि विकल्पको रूपमा मंगलबार साँझदेखि मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड सञ्चालनमा ल्याइएको छ । तर, उक्त सडकखण्डमा पनि ठूला सवारीसाधन सञ्चालन गर्दा जोखिम हुने र फस्ने समस्या भएको चालकहरू बताउँछन् ।
जोखिम मोलेर भए पनि केही चालकले कन्टेनर चलाएका छन् । उक्त सडकखण्डमा सवारी चलाउन कठिन हुने देखिएपछि बिहीबार धेरैजसो कन्टेनर पासाङल्हामु मार्गको राम्चेतर्फ गएका छन् । पासाङल्हामु मार्गको राम्चे–ग्राङ सडक छिट्टै सञ्चालनमा ल्याउने गरी निर्माणको काम भइरहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । ‘सडक डिभिजन कार्यालय नुवाकोटसँग समन्वय गरी पहिरो गएको ठाउँमा तारजाली हाल्ने काम भइरहेको छ,’ उनले भने । छिट्टै सडक सञ्चालनमा ल्याउन थप जनशक्ति बढाउने काम भएको छ । नेपाली सेनाको कालिजंग गण, सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षाकर्मीलगायतले सडक निर्माणमा सहयोग गरिरहेका छन् ।
रसुवागढी नाकाबाट दसैंमा बिक्री हुने रेडिमेटका सामान भित्रिन थालेको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए । ‘सडक अवरुद्ध हुँदा जाँचपास भएका र जाँचपास हुन बाँकी करिब ७ सय मालबाहक कन्टेनर अहिले भन्सार र्यार्डमा रोकिएका छन्,’ उनले भने ।
चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी पुग्ने जीर्ण सडक त्यसमाथि वर्षात्को समयमा दिनैपिच्छे पहिरो झर्दा बन्द हुने र खुल्ने निश्चित हुँदैन । भूकम्पका कारण चार वर्षअघि तातोपानी नाका बन्द भए पछि तीव्र रूपमा व्यापारिक
कारोबार सञ्चालन हुन थालेको यो नाका अस्तव्यस्त छ ।
नाकासम्म पुग्ने सडकको अवस्था नाजुक र जीर्ण रहेको व्यापारीहरूले बताएका छन् । सडकमा खाल्डाखुल्डी धेरै छ, पहिरोको जोखिम पनि उतिकै छ,’ नेपाल चेम्बर अफ कर्मसका भन्सार सभापति निरज राईले बताए । नाका सुचारु भएको धेरै वर्ष भइसक्यो तर सडक सुधार गर्न सरकारबाट कुनै पहल नभएको व्यवसायीहरूले गुनासो गरेका छन् । सडक राम्रो हुने हो भने रसुवागढी नाकाबाट अहिलेको भन्दा दुई गुना बढी सामान ल्याउन सकिने व्यापारीहरू बताउँछन् ।