कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

विद्यार्थीको भरमा ट्रमा सेन्टर

फातिमा बानु

काठमाडौँ — नर्सिङ कर्मचारी प्रदेश र स्थानीय तहमा समायोजन भएर गएपछि ट्रमा सेन्टर विद्यार्थी (नर्स पढ्दै गरेको) को भरमा चलिरहेको छ । नर्स अभाव र विद्यार्थीका अस्पतालको ओपीडीदेखि शल्यक्रिया सेवा प्रभावित भइरहेको छ । 

समायोजन, अध्ययन र सुत्केरी बिदालगायतका कारणले नर्स बाहिरिने तर कुनै माध्यमबाट नभित्रिने भएपछि विद्यार्थीकै भरमा अस्पताल चलाउन बाध्य भएको ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेड डा.प्रमोद यादवले बताए । उनले भने, ‘अन्य कर्मचारी अभाव भए त हामीले करार या ज्यालादारीमा पनि लिएर काम चलाउँथ्यौं । नर्सिङ कर्मचारी ल्याउने अन्य कुनै बाटो छैन ।’ डा. यादवले अन्य कुनै बाटो नभएको बताए पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को ऐनमा अभाव हुँदा नर्सिङ कर्मचारी करार या ज्यालादारीमा राख्न पाउने व्यवस्था छ ।


ट्रमा सेन्टरमा पहिलेदेखि नै नर्स र चिकित्सकको सबै दरबन्दी पदपूर्ति भएको थिएन । १ सय ४७ नर्सिङ दरबन्दीमध्ये २८ जना पदपूर्ति नै भएको छैन । १९ नर्स १ वर्षदेखि अध्ययन बिदामा र १२ सुत्केरी बिदामा छन् । भएका नर्स अहिले स्थानीय र प्रदेश तहमा समायोजन भएर चिठी बुझ्दै दैनिक रूपमा बाहिरिने क्रममा छन् । सरकारको तीन तहमध्ये संघको झमेलाका कारण ट्रमामा अन्य अस्पतालबाट नर्स सरुवा भएर आउन सकिरहेका छैनन् । समायोजनले संघअन्तर्गतका स्वास्थ्य कर्मचारीको टुंगो नलगाएको हुँदा समायोजन भएर पनि यहाँ कुनै नयाँ नर्स आउन पाएका छैनन् । असोजभित्रै ट्रमामा दुई दर्जन नर्स अध्ययन बिदामा बस्दै छन् । ‘दिनानुदिन नर्सको चरम अभाव हुँदै छ, अझै नर्स घटे अस्पतालको आईसीयू र नियमित शल्यक्रिया सेवामा कस्तो असर पर्ला ?’ अस्पताल कर्मचारी प्रश्न गर्छन् ।


बिरामीको चाप बढ्दो र नर्स जनशक्ति घट्दो हुँदा अस्पतालको उपचार सेवामा कटौती भइरहेको छ । बिरामी भर्ना भए पनि उनीहरूले गुणस्तरीय सेवा पाइरहेका छैनन् । एक नर्सले एक पटकमा २५ बिरामी हेर्न र आठ घण्टाभन्दा बढी काम गर्न बाध्य भइरहेका छन् । काम र बिरामीको चाप धान्न सकस हुँदा नर्स कर्मचारी बिरामीमाथि झर्किने, रिसाउने गर्छन् ।


आफूले पढेको कुरा पूर्ण रूपमा बिरामीमाथि लागू गर्न नपाएको नर्सिङ कर्मचारीको गुनासो छ । थोरै नर्सलाई धेरै बिरामीको भार खेप्न सास्ती भइरहेको उनीहरूले बताए ।


दैनिक हुँदै आएको ईएचएस (विस्तारित) सेवा पनि खुम्चिएको छ । यो सेवाअनुसार चिकित्सकले कार्यालय समयपछि पनि दैनिक १० वटासम्म शल्यक्रिया गर्थे । नर्स अभावकै कारण अहिले दैनिक २ वटा मात्रै शल्यक्रिया हुने गरेको छ । अझै नर्स बाहिरिए ईएचएसमार्फत् गरिने शल्यक्रिया रोकिने अवस्था आउने अस्पताल चिकित्सक बताउँछन् ।


दैनिक १४ वटासम्म भइरहेको रुटिन शल्यक्रियासमेत प्रभावित भइरहेको मेसु डा.यादव बताउँछन् । ‘ईएचएस कटौती भएमा बिरामीले शल्यक्रियाका लागि कुनुपर्ने समय अझै लम्बिन्छ । सेवा विस्तारित हुनुपर्नेमा कटौती भइरहेको छ,’ उनले भने ।


नर्सिङ कर्मचारी व्यस्थापनका लागि के गर्ने भन्ने विषयमा ‘न्याम्स’ को व्यवस्थापन समितिको बैठक एकपटक पनि बसेको छैन ।


प्रकाशित : आश्विन ५, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?