होमस्टेमा पर्यटक बढे

चितवन — चित्लाङ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । हेटौंडा र काठमाडौंबाट करिब तीन घण्टाको यात्रापछि यहाँ पुग्न सकिन्छ । पछिल्लो समय होमस्टे यसको विशेषता बनेको छ । चित्लाङमा मात्र १३ वटा होमस्टे सञ्चालनमा छन् ।

आन्तरिक तथा बाह्य पर्यटकहरू रमणीय स्थलको भ्रमणको क्रममा होटलमा नभएर होमस्टेमै रमाउँछन् । भदौदेखि वैशाखसम्म होमस्टेमा पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । ‘सार्वजनिक बिदाको दिन, विद्यालय तथा कलेज बिदाको समयमा एक साता अगाडिबाटै होमस्टे बुकिङ भइसक्छ,’ गर्जुधारा होमस्टेका सञ्चालक बुद्धरत्न मानन्धरले भने । उनका अनुसार थानकोटबाट चित्लाङको दूरी १३ किलोमिटर भए पनि सडकको अवस्था नाजुक हुँदा समस्या भइरहेको छ ।


होमस्टेमा प्रतिदिन प्रतिव्यक्ति एक हजार पाँच सय रुपैयाँ लिने गरिएको छ । पर्यटक आउनेबित्तिकै टीका लगाएर अण्डा खुवाउँदै सगुन दिएर स्वागत गरिने र त्यस क्षेत्रको बारेमा जानकारी गराइने गरिएको छ । बेलुकाको खाना, सुत्न र बिहानका खाजा तथा टीका लगाएर सगुन खुवाएर बिदाई होमस्टे सञ्चालकहरूले गर्ने गरेका छन् ।


सन् २०११ बाट त्यस क्षेत्रमा पर्यटन बोर्डको सहयोगमा होमस्टे सञ्चालन गरिएको थियो । पर्यटन बोर्ड र तत्कालीन जिल्ला विकास समितिले तालिम प्रदान गर्दै आर्थिक सहायतासमेत प्रदान गरेर होमस्टे सञ्चालनमा ल्याएपछि त्यस क्षेत्रमा पर्यटकको आगमनमा ह्वात्तै वृद्धि भएको जिल्ला समन्वय समिति मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले जनाए । एक होमस्टे सञ्चालक मोहन जोशीका अनुसार विशेष गरी शुक्रबारको दिन काठमाडौंबाट चन्द्रागिरी हुँदै हाइकिङ गरेर त्यस क्षेत्रमा आउने पर्यटकको संख्या धेरै रहेको छ ।


प्राकृतिक तथा प्राचीन सम्पदाले भरिएको चित्लाङनजिकै रहेको मानव निर्मित नेपालको सबैभन्दा ठूलो ताल कुलेखानी, बाख्रा विकास फार्मको मैदान, दामान, पालुङ क्षेत्रमा रमाउन विशेष गरी आन्तरिक पर्यटक बढी आउने उनले बताए । पर्यटन विकास बोर्डले चार वर्षअघि मुलुकको पहिलो पर्यटकीय गाउँ घोषणा गरेपछि त्यस क्षेत्रमा घुम्नका लागि मात्र नभएर डकुमेन्ट्री, फिल्म, गीतको भिडियो बनाउने तथा सभा एवं गोष्ठी गर्नेहरूको संख्यासमेत बढी रहेको स्थानीयहरूले बताएका छन् । ‘हामीले समग्र थाहानगरलाई पर्यटकीय नगरको रूपमा विकास गर्दै अगाडि बढ्ने घोषणा गरेर सोहीअनुसार लबिङसमेत गरिरहेका छौं । अब त्यस क्षेत्रमा पर्यटकलाई आकर्षण गर्नका लागि विभिन्न किसिमका भौतिक संरचनाको विकासको सुरुवात हुने छ ’ थाहानगरपालिकाका मेयर लवशेर विष्टले भने ।

प्रकाशित : आश्विन ४, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?