कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

डिभाइडर र चिह्न नहुँदा दुर्घटना

चीन सरकारको सहयोगमा बनाइएको कोटेश्वर–कलंकी सडक खण्डमा न्यूनतम आवश्यक पूर्वाधारसमेत नभएको सरकारी अध्ययनले देखाएको छ 
प्रशान्त माली

काठमाडौँ — कोटेश्वर–कलंकी सडक खण्डमा कमजोर व्यवस्थापनका कारणले दुर्घटना बढेको छ । सडकमा आवश्यक ट्राफिक संकेत, सडक बत्ती, डिभाइडर, ढलको ढकनी, रेलिङ, जेब्रा क्रस छेउमा गाडी रोक्न कोरिने चिह्नसमेत नहुँदा दुर्घटना भएको सरकारी अध्ययनले देखाएको हो । 

डिभाइडर र चिह्न नहुँदा दुर्घटना

सडक विभाग अन्तर्गत सडक सुरक्षा तथा ट्राफिक शाखाले उक्त सडक खण्डमा गरेको अध्ययनले न्यूनतम पूर्वाधारसमेत नभएको जनाएको छ । शाखाले ‘रोड सेफ्टी अडिटिङ’ गरेपछि यो सडक खण्डमा दुर्घटना न्यूनीकरण गर्न ४ हजार २ सय मिटर ढलमा ढकनी, रोड डिभाइर ९ हजार ५ सय मिटर, ४ सय सडक बत्ती, २ सय ७ ट्राफिक चिह्न र २ सय ५२ वर्ग मिटर स्टप लाइन मार्किङ (जेब्रा क्रसिङ अगाडि गाडी रोक्न कोरिने चिह्न) गर्न सुझाव दिएको छ । यो प्रतिवेदन शाखाले डिभिजन सडक कार्यालय ललितपुरलाई बुझाइसकेको छ ।


सडकमा न्यूनतम पूर्वाधारसमेत नहुँदा गतवर्ष मात्रै १ हजार ६० दुर्घटना भएका थिए । ट्राफिक प्रहरी महाशाखाका अनुसार गतवर्ष असारदेखि साउनसम्म टिपर ६०, ट्रक १ सय ९८, ट्यांकर २९, कन्टेनर १०, बस २४७, माइक्रो २४, कारजिप ६ सय ७९, टेम्पो १५, मोटरसाइकल ४ सय ७८, स्कुटर १ सय ३४, ट्याक्टर ३, डोजर/लोडर/क्रेन ५ र अन्य २ छन् । दुर्घटनामा परी १७ जनाको मृत्यु भएका छन् भने ३५ गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी ७ सय १७ जना सामान्य घाइते भएका छन् ।


अध्ययन टोलीले यसबाहेक कोटेश्वर–कलंकी पूरै सडक खण्डको सेन्टर, लेन लाइन र किनाराको मार्किङ गर्नुपर्ने सुझाव दिएको छ । बालकुमारी, ग्वार्को, सातदोबाटो, चापागाउँ दोबोटो, महालक्ष्मीस्थान, एकान्तकुना, नख्खु दोबाटो र कलंकीमा गरेर ८ चोकमा ट्राफिक लाइट र सानेपा, बल्खु, खसीबजार गरेर ७ स्थानमा पैदल यात्रुलाई जेब्रा क्रसिङमा बाटो काट्न सहज बनाउन लाइट राख्नुपर्ने प्रतिवेदन दिएको छ । सडक सुरक्षा तथा ट्राफिक शाखा प्रमुख सिनियर डिभिजन इन्जिनियर दीप बाराहीले कोटेश्वर, भाटभटेनी, यातायात कार्यालय एकान्तकुना अगाडि र मेघा अस्पताल क्षेत्रको चोक भने सुधार गर्नुपर्ने सुझाव दिएको छ । ‘हामीले दिएको सुझाव कार्यान्वय हुने हो भने, दुर्घटना न्यूनीकरण हुन सक्छ,’ उनले भने, ‘सडकको हरियाली रोड सेफ्टीअन्तर्गत नपर्ने भएकाले रिपोर्टमा यसबारे उल्लेख छैन । यसको छुट्टै सर्वे गर्नुपर्छ । सर्भिस लेनलाई नै साइकल लेनको रूपमा विकास गर्न सकिन्छ ।’


बजेट अभाव

चक्रपथ हेर्ने छुट्टै चक्रपथ सुधार योजना छ । अडिट रिपोर्ट कार्यान्वय गर्ने जिम्मा भने डिभिजन सडक कार्यालय ललितपुरलाई तोकेको छ । कार्यालयले भने अडिट रिपोर्ट कार्यान्वय गर्न ५० देखि ८० करोड रुपैयाँ बजेट आवश्यक पर्ने बताएका छन् । तर, कार्यालयमा सडक सुरक्षा योजनाअन्तर्गत यस आर्थिक वर्षमा ४० लाख मात्र बजेट छ ।


‘एउटा ट्राफिक लाइट जडान गर्न मात्रै १० लाख बजेट आवश्यक पर्छ,’ डिभिजन सडक कार्यालय ललितपुर प्रमुख अमृतमणि रिमालले भने, ‘उकालो ठाउँबाट सवारीसाधन नखसोस् भनेर बार लगाउन १० करोड, रोड पेन्टिङ, ढलमा ढकनी र फुटमाथमा रेलिङ राख्न १५ करोड खर्च हुन्छ । बजेट छैन ।’


पूर्वाधार व्यवस्थापन गर्न सडक बोर्डसँग ७ करोड माग गरेको उनले बताए । ‘बोर्डले सडक सुरक्षाअन्तर्गत बजेट विनियोजित गर्न नमिल्ने भन्दै दिन मानेन । सडक विभागसँग ५ करोड ५५ लाख माग गरेको छु,’ उनले भने, ‘बजेट भने विनियोजित भएको छैन ।’ विभागले तत्काल बजेट विनियोजित गरी द्रूतमार्गमा काम गरे पनि टेन्डर प्रक्रियाले लम्बिने भएकाले माघमा मात्र काम सुरु हुन सक्ने उनले बताए । ‘दैनिक दुर्घटना बढ्दै गएको छ ।

पछिल्लो ५ महिना सर्वसाधारणलाई सचेत भएर यात्रा गर्न आह्वान गर्छु,’ कार्यालय प्रमुख रिमालले भने, ‘अहिले टायल बिछ्याइएको बीचको डेढ/डेढ मिटरमा हरित क्षेत्रको रूपमा विकास गर्न सकिन्छ ।’ ८ लेनको चक्रपथ मुलुकै सबभन्दा फराकिलो सडक हो । ५० मिटर चौडाइको सडकमा फुटपाथ छैन ।


पैदल यात्रु ड्रेन (आकाशे पानी बग्ने ढल) लाई नै फुटपाथका रूपमा प्रयोग गर्न बाध्य छन् । ड्रेन (ढल) को ढकनीमा प्वालै प्वाल छ । सेतो छडी प्वालमा छिर्ने भएकाले दृष्टिविहीन हिँड्न असम्भव प्राय: छ । ह्विलचियरमा यात्रा गर्ने अपांगता भएका व्यक्ति लड्न सक्ने सम्भावना उत्तिकै छ । हिल जुत्ता लगाउने सोख भएकी महिलालाई पनि आवतजावतमा कठिनाइ छ । साइकल लेन पनि छैन । १०.४ किमि लम्बाइको चक्रपथमा भएका त्रुटि यही मात्र होइन ।

ग्वार्को–एकान्तकुना सडकअन्तर्गत सातदोबाटो खण्डमा बस स्टप छैन । सार्वजनिक यातायातका चालक सडकमै यात्रु ओराल्न र उकाल्न बाध्य छन् । आकाशे पुल पनि पर्याप्त छैनन् । पैदल यात्रु जोखिम मोलेर बाटो काट्न बाध्य छन् । सडकमा त्रुटि नै त्रुटि छन् । यसबारेमा धेरैपटक विरोध पनि भयो । तर, डिजाइनमा परिमार्जन भएन । चक्रपथ सडकको पहिलो खण्ड चिनियाँ ठेकेदार कम्पनी संघाई कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो ।


थप गर्नुपर्ने पूर्वाधार


ढलको ढकनी ४२ सय मिटर

रोड डिभाइर ९५ सय मिटर

सडक बत्ती ४ सय

ट्राफिक चिह्न २०७

जेब्रा क्रसिङ अगाडि गाडी रोक्न कोरिने चिह्न २ सय ५२ वर्ग मिटर

८ वटा चोकमा ट्राफिक लाइट


प्रकाशित : आश्विन ४, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?