महानगरले दिए करमा छुट

सीमा तामाङ

काठमाडौँ — काठमाडौँ र ललितपुर महानगरले राजस्व बढाउन सम्पत्ति करमा लाग्ने शुल्कको १० प्रतिशतसम्म छुट दिने भएको छ । यो सुविधा असोज मसान्तसम्म रहेको महानगरले जनाएका छन् ।

सम्पत्ति कर वर्षमा एकपटक मात्र तिर्नुपर्छ । आर्थिक वर्षको सुरुवातमै सेवाग्राहीले कर नतिर्ने हुँदा सेवाग्राहीलाई आकर्षित गर्न सम्पत्ति करमा छुट दिएको काठमाडौं महानगरका राजस्व विभाग प्रमुख नुरनिधि न्यौपानेले बताए । ‘नेपालीको वर्षको अन्तिममा मात्र कर तिर्ने बानी छ,’ उनले भने, ‘त्यसैले समयमै कर तिराउनका लागि करलगायत विभिन्न शीर्षकमा छुट दिएको हो ।’ महानगरमा तिर्न बाँकी राजस्वमा लाग्ने जरिवानामा समेत छुट दिएको उनले सुनाए । सम्पत्ति करमा छुट दिए पनि व्यवसाय, मालपोत, तथा घरबहाल करमा छुट नदिएको महानगरले जनाएको छ । घरबहाल कर ढिला तिरेमा जरिवाना लिने व्यवस्था पनि नभएको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए । ‘पहिलेदेखि बहाल करमा जरिवाना लिने व्यवस्था छैन,’ उनले भने । आर्थिक वर्षको सुरुवातमै सेवाग्राहीले कर तिर्ने हो भने करबापत् उठेको रकम महानगरले अन्य विकासका काममा खर्च गर्न पाउने भएकाले सम्पत्ति करमा छुट दिइएको उनले बताए । महानगरले ०७५/७६ मा ६८ करोड रुपैयाँ सम्पत्ति कर उठाएको थियो । महानगरले नक्सा पासको राजस्व मात्रै गतवर्ष १ अर्ब ७६ करोड रुपैयाँ संकलन गरेको थियो । त्यस्तै घरबाहल करबापत् १ अर्ब ३३ करोड रुपैयाँ राजस्व उठाएको महानगरले जनाएको छ । महानगरले यस वर्ष करको दरमा वृद्धि नगरे पनि सम्पत्ति करमा छुट दिएको उनले जानकारी दिए । काठमाडौं महानगरमा तिर्न बाँकी राजस्वमा लाग्ने जरिवानामा समेत छुट दिइरहेको छ ।

विभागका प्रमुख न्यौपानेका अनुसार ‘क’ वर्गका कार्ड पाएका भूकम्पपीडित अर्थात् घरधनीले पहिलेको जत्रै घर बनाउने हो भने घरको नक्सापास गर्दा लाग्ने दस्तुरमा समेत छुट दिएको छ । यदि कसैले व्यक्तिगत घर बनाउँदा नक्सापासमा पार्किङ स्थल भनी छुट्याई घर बनाउने र उक्त घरको पार्किङ स्थल सर्वसाधारणलाई उपलब्ध गराएमा यस वर्षको सम्पत्ति कर तिर्नु नपर्ने उनको भनाइ छ ।


त्यस्तै, परम्परागत शैली अपनाएर नयाँ घर बनाएमा नक्सापासमा लाग्ने दस्तुरमा समेत १० प्रतिशत छुट दिने महानगरले जनाएको छ । धारा, बत्ती जडान गर्न सिफारिस लिन आउने करदाताले २०२१ सालको नापीनक्सामा आफ्नो घर उल्लेख भएको देखाउन सके १ हजार रुपैयाँमा सिफारिस दिने छ । नयाँ तथा उक्त नक्सामा घर नदेखिएका सेवाग्राहीको हकमा भने सिफारिस लिन आउँदा ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने नियम छ ।


मालपोत र व्यवसाय करमा पनि छुट


ललितपुर महानगरपालिकाले सम्पत्ति करसँगै मालपोत कर र व्यवसाय करमा लाग्ने शुल्कमा १० प्रतिशत छुट दिएको छ । करमा लाग्ने जरिवाना र तिर्नुपर्नेमा पनि १० प्रतिशत छुट दिएको ललितपुर महानगरका राजस्व महाशाखाका वरिष्ठ अधिकृत डिल्लीराज शाक्यले बताए । अघिल्ला आर्थिक वर्षर्हरूको तिर्न बाँकी करमा भने १५ प्रतिशत थप जरिवाना लाग्ने व्यवस्था गरेको छ । महानगरले घरबहाल करमा छुट नदिएको शाक्यले बताए । आर्थिक वर्ष ०७५/७६ भन्दा पहिले जरिवानाको व्यवस्था थिएन । त्यसपछिका आर्थिक वर्षमा समयमा घरबहाल कर नतिर्ने सेवाग्राहीलाई १५ प्रतिशत जरिवाना लिँदै आएको उनले बताए ।


आर्थिक वर्ष ०७४/७५ मा महानगरले कर वर्ष मनाएको थियो । त्यसबेला वर्षौंदेखि तिर्न बाँकी करमा लाग्ने जरिवाना छुट दिएको थियो । त्यसबेला बक्यौता छुटसँगै तिर्नुपर्ने करमा पनि १० प्रतिशत छुट दिइएको थियो ।


के–केमा छुट ?


काठमाडौं महानगरपालिका

  • सम्पत्ति करमा १० प्रतिशत
  • राजस्वमा लाग्ने जरिवाना
  • भूकम्पपीडितको नक्सापास
  • सर्वसाधारणलाई पार्किङ स्थल उपलब्ध गराउने गरी घर बनाएमा
  • पम्परागत शैली अपनाएर नयाँ घर बनाएमा

ललितपुर महानगरपालिका

  • सम्पत्ति, मालपोत र व्यवसाय करमा १० प्रतिशत छुट
  • २०२१ सालको नापी नक्सामा आफ्नो घर उल्लेख भएको देखाएमा १ हजारमै सिफारिस




प्रकाशित : आश्विन ३, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?