सिनो हाइड्रोको जमानत जिम्मा

काठमाडौँ — स्टयान्डर्ड चार्टर्ड बैंकले मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार कम्पनी सिनो हाइड्रोको पर्फमेन्स बन्ड र काउन्टर ग्यारेन्टी (बैंक धरौटी र काउन्टर धरौटी) को जिम्मा लिएको छ । चीन र नेपाल दुवै मुलुकमा रहेका स्ट्यान्डर्ड चार्टर्ड बैकले ग्यारेन्टी लिएसँगै सिनो हाइड्रोलाई आयोजनासित ठेक्का सम्झौता गर्ने बाटो खुलेको आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । 

मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अवरुद्ध काम तत्काल सुचारु गर्न आयोजनाले फास्ट ट्र्याक (द्रुतगति) बाट टेन्डर आहृवान गरेको थियो । हिमाल हाइड्रो र चिनियाँ कम्पनी सिनो हाइड्रो कम्पनीले प्रतिस्पर्धा गरेका थिए । सिनोले हेडवर्क्स ९२ करोड र सुरुङ निर्माणका लागि ७५ करोडमा ठेक्का पाएको छ । ‘सिनो हाइड्रोसँग चाँडै ठेक्क सम्झौता हुन्छ,’ पन्तले भने । मन्त्रिपरिषद्ले विशेष परिस्थितिमा ठेक्का गर्न अनुमति दिएकाले धेरै समय पर्खनु नपरेको उनले बताए ।


सुरुङको बाँकी काम र अम्बाथानमा हेडवर्क्सको निर्माण सिनो हाइड्रोले गर्ने छ । १२ महिनाभित्र सुरुङ र १५ महिनाभित्र हेडवर्क्स निर्माण गरिसक्ने समयसीमा दिइएको छ । ‘सिनो हाइड्रोले १० महिनाभित्र पानी सुरुङभित्र डाइभर्सन गर्छ, दुई महिनाभित्र भल्भ गेट निर्माणलगायत काम सम्पन्न गर्छ,’ पन्तले भने, ‘आयोजनाको ९७ प्रतिशत काम भइसकेको छ, कुनै अवरोध नआए समयसीमाभन्दा अघि नै काम सम्पन्न हुन्छ ।’


खानेपानी मन्त्रालयले पूर्वठेकेदार कम्पनी सीएमसीबाट भुक्तानी नपाएको भन्दै आन्दोलनरत स्थानीय भेन्डर, सप्लायर्स कम्पनी र श्रमिकहरूको समस्या छानबिन गरेर समाधान गर्ने लिखित आश्वासन दिएपछि आन्दोलन स्थगित भएको छ । प्रवक्ता पन्तले भने, ‘समस्या पनि समाधान हुँदै जान्छन्, काम पनि अघि बढ्छ ।’ भेन्टिलेटर निर्माण पनि तीव्रतासाथ अघि बढिरहेको उनले बताए । ‘तीनवटा भेन्टिलेटरमध्ये एउटाको काम सकिइसकेको छ,’ पन्तले भने, ‘अरू निर्माणकार्य पनि केही दिनमै सम्पन्न हुन्छ ।’ आयोजनाले काम सम्पन्न गर्न मुख्य दुइटा प्याकेजमा विभाजन गरेको छ । पहिलो प्याकेजभित्र हेड वर्क्सअन्तर्गतको ड्याम निर्माण, पुल निर्माणलगायत छन् भने दोस्रो प्याकेजमा सुरुङभित्रको फिनिसिङ, गेट, भेन्टिलेटरलगायत निर्माणकार्य छन् ।


गत पुसमा इटालियन ठेकेदार कम्पनी सीएमसीले आर्थिक रूपमा ‘टाट पल्टेको’ घोषणा गर्दै काम छाडेपछि आयोजना ठप्प छ । मेलम्चीको काम सुचारु भएपछि याङ्ग्री र लार्केको पानी ल्याउने काम पनि अघि बढ्ने प्रवक्ता पन्तले बताए । एसियाली विकास बैंक (एडीबी) ले मेलम्ची अघि नबढेसम्म याङ्ग्री र लार्केमा सहयोग नगर्ने चेतावनी दिएको थियो  । परामर्शदाता कम्पनी इप्टिसाले आयोजना विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) आयोजनालाई बुझाइसकेको छ ।


प्रकाशित : आश्विन २, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?