कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भरतपुरको पूर्वाधार निर्माण सुस्त

‘साझेदारबाट रकम समयमा जम्मा नहुनु, कालोपत्रेका लागि चाहिने बिटुमिन अभाव हुनु, निर्माण व्यवसायीले समयमा काम सुरु नगर्नु, उपभोक्ता समितिले अनुकूलतामा मात्रै काम गर्न खोज्ने परिपाटीले पूर्वाधरातर्फ राम्रोसँग काम भएन’
रमेशकुमार पौडेल

चितवन — भरतपुर महानगरपालिकाले गत आर्थिक वर्ष कर संकलनमा सफलता पाए पनि पूर्वाधार निर्माणको क्षेत्रमा भने सन्तोषजनक काम गर्न सकेन । गत वर्ष भरतपुरले आन्तरिक आय एक अर्ब रुपैयाँ नघायो ।महानगरको आन्तरिक आय वर्षमा एक अर्ब हुनुपर्ने प्रावधान छ । 

भरतपुरको पूर्वाधार निर्माण सुस्त

सडक निर्माणलगायतका क्षेत्रमा भरतपुरले स्थानीयबासीबाट रकम संकलन गर्छ । यस शीर्षकमा अघिल्लो वर्ष २० करोड रुपैयाँ उठाउने योजना बनाएकोमा २१ करोड उठ्यो । ‘जनसहभागिता शीर्षकमा भरतपुरले ६ महानगरमध्ये सबैभन्दा बढी पैसा उठाउन सकेको छ,’ राजस्व महाशाखा प्रमुख सिर्जना थपलियाको दाबी छ । उनका अनुसार कर तथा गैरकर क्षेत्रबाट थप ४२ करोड ४० लाख ७ हजार संकलन भयो ।


त्यसैगरी, घरजग्गा रजिस्ट्रेसनबाट ४० करोड ८६ लाख ७९ हजार उठ्यो । नदी सामग्रीबाट ५ करोड ५६ लाख ४४ हजार राजस्व आयो । प्रदेश र संघको राजस्व बाँडफाँडबिनै नगरपालिकाको आन्तरिक आय १ अर्ब ४ करोड नाघ्यो । कर संकलनका लागि महानगरले व्यवसायी संघसंस्थासँग पनि साझेदारी गर्‍यो । जसका कारण राजस्व सहज रूपमा संकलन भएको थपलियाको भनाइ छ । तर कर संकलनमा देखिएको यो उत्साहपूर्ण अवस्था महानगरको पूर्वाधार निर्माणतर्फ भने छैन ।


महानगरको सहरी पूर्वाधार विकास महाशाखाका प्रमुख वरिष्ठ डिभिजनल इन्जिजियर (डीई) रत्न लामिछाने अघिल्लो आर्थिक वर्ष पूर्वाधार विकास क्षेत्रका लागि १ अर्ब २९ करोड २२ लाख ४० हजार बजेट थियो । तर यसको आधाभन्दा केही धेरै मात्र खर्च हुन सकेको लामिछानेले जानकारी दिए । ‘हामीले पूर्वाधारतर्फ ७३ करोड ९२ लाख ७० हजार अर्थात् उपलब्ध बजेटको ५७ प्रतिशत मात्रै खर्च गर्न सक्यौं,’ डीई लामिछानेले भने । महानगरमा योजना र बजेट भएपनि काम हुन नसकेकोमा शुक्रबार महानगरमा भएको समीक्षा कार्यक्रममा वक्ताले प्रश्न सोधेका थिए । महानगरले ७५ किलोमिटर सडक कालोपत्रे गर्ने भनेकोमा २५ किमि मात्रै गर्न सक्यो । महानगरका २९ वटा वडामध्ये शतप्रतिशत बजेट खर्च गर्न सक्ने कुनै वडा भएनन् ।


सबैभन्दा बढी वडा ४ ले ९७ प्रतिशत बजेट खर्च गरेको देखिन्छ । सात वडाले ५० प्रतिशतभन्दा कम बजेट खर्च गर्न सके । ६ वटा वडाले मात्र ९० प्रतिशतभन्दा धेरै बजेट खर्च गर्न सकेको देखिन्छ । ‘काम समयमा सुरु हुन सकेनन् । महानगरका कुल १ सय ६६ योजनामध्ये ४० वटा मात्र सम्पन्न भए,’ डीई लामिछानेले भने । साझेदारबाट रकम समयमा जम्मा नहुनु, कालोपत्रेका लागि चाहिने बिटुमिन अभाव हुनु, निर्माण व्यवसायीले समयमा काम सुरु नगर्नु, उपभोक्ता समितिले अनुकूलतामा मात्रै काम गर्न खोज्ने परिपाटीले पूर्वाधारतर्फ राम्रोसँग काम गर्न नसकेको उनले बताए ।


विकास कागजी घोडा मात्रै

महानगरमा गौरवका आयोजना प्रशस्तै छन् । चक्रपथ निर्माण, स्थायी ल्यान्डफिल्ड साइट निर्माण, सिटी हल, अन्तर्राष्ट्रिय क्रिकेट मैदान, व्यावसायिक कम्प्लेक्स, अटो ल्यान्ड, पुलचोक गोन्द्राङ सडकलाई ६ लेन बनाउनेजस्ता कामको चर्चा पहिलेदेखिकै हो । यस्ता आयोजनाको शिलान्याससमेत हुन नसकेको अवस्था अहिलेसम्म रहेको छ । सघन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमा भरतपुर केन्द्रित योजना थुप्रो छन् । कार्यालयको कार्य क्षेत्र चितवनसहित चार जिल्ला हो ।


कार्यालय प्रमुख कुमार घिमिरेका अनुसार चार जिल्लाका लागि १८ योजना सञ्चालनमा छन् । चारवटा योजनाको डीपीआर बन्दै छ । यी २२ कार्यक्रममध्ये आधा कार्यक्रम भरतपुरमा मात्रै भएको उनले बताए । वडा–२१ का वडाध्यक्ष चित्रसेन अधिकारीले भने, ‘सघन सहरी विकास कार्यालयले बनाउने भनेको बाटोको हालत खराब छ । खेतमा गोबर मल थुपारेको जस्तो लामो समयदेखि गिट्टी थुपारेर बसेको छ ।’ उनले समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही हुनुपर्ने बताए । वडाध्यक्ष अधिकारीले भने, ‘सिटी हल, चक्रपथजस्ता महानगरका गौरवका आयोजना त हाम्रा पालामा नबल्लाझैं भयो । महानगरमा विकासको कागजी घोडा मात्रै कुद्यो । फिल्डमा काम अलपत्र पर्‍यो ।’


प्राविधिक अभाव

उपभोक्ता समितिका कारणले पनि काम हुन नसकेको धारणा आउँदा समीक्षा कार्यक्रममा भाग लिन आएका भरतपुर–१४ शिवनगरका बालकृष्ण ढकालले निकै आक्रोश पोखे । ‘उपभोक्ताले गरेन भनेर हुन्छ । भनेको समयमा बोलाउँदा खै प्राविधिक आएको । एउटा प्राविधिकले ६ वटा वडा हेर्नुपर्छ रे । उसले नभ्याउने अनि उपभोक्ताले मात्रै छिटोछिटो कसरी काम गर्ने,’ ढकालले भने ।


महाशाखाका प्रमुख वरिष्ठ डिभिजनल इन्जिनियर रत्न लामिछाने पनि कम्तीमा एउटा वडामा एउटा सब इन्जिनियर हुनुपर्ने बताउँछन् । ‘प्राविधिकको पर्याप्त व्यवस्था गरेर उनीहरूलाई साधन दिएर काममा खटाउनुपर्छ । ढिलोमा मंसिरबाट काम सुरु गर्ने परिपाटी विकास हुनुपर्छ,’ लामिछानेले भने, ‘निर्माण व्यवसायीले कार्यतालिका बनाएर काम गर्ने र त्यसअनुसार नभए सजग गराउने परिपाटी राख्नुपर्छ ।’ प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी पूर्वाधार खर्च बढाउन कार्य सम्पादन सम्झौता गर्नु उपयुक्त हुने धारणा राख्दछन् ।


भन्न सजिलो, गर्न गाह्रो

महानगरमा ठुल्ठूला पूर्वाधार बनाउने, स्मार्ट सिटी बनाउने, नगरवासीको जीवनस्तर सुधार गर्ने वाचासहित चुनाव जितेर आएपछि आधा कार्यकाल बिताउँदा पनि देखाउने खालका ठूला काम केही छैनन् । महानगरपालिकाकी मेयर रेनु दाहाललाई अचेल भन्न सजिलो भए पनि गर्न गाह्रो हुने अनुभव भएको छ । शुक्रबार भएको समीक्षा कार्यक्रममा मेयर दाहालले यही भनाइ राखिन् । नियमित पूर्वाधारका कामममा पनि राम्रो प्रगति छैन । गौरवका आयोजनाको फिल्डमा काम सुरु भएकै छैन । ‘जस्तै वडा स्तरबाट काम भएन, चाँडो गर्दिनुपर्‍यो भनेर हामीलाई ताकेता लगाउनुहुन्छ । हामीले पनि संघीय सरकारलाई त्यसरी नै भनिराखेका छौं,’ मेयर

रेनुले भनिन् ।


मुख्य बजार क्षेत्रमा राजमार्ग नै व्यवस्थित हुन सकेको छैन । ‘संघीय सरकारले पुल्चोकदेखि गोन्द्राङसम्म ६ किलोमिटर सडकलाई ६ लेनको बनाउने, हरियालीसहितको नगरकै सुन्दर संरचना बनाउने भनेको छ,’ मेयर दाहालले भनिन्, ‘सडक विस्तार हुने भएपछि अहिल्यै हामीले के काम गर्नु, आकाशेपुल कहाँ राख्नु । सडक विस्तारको काम यो वर्ष सुरु होला ।’


प्रकाशित : आश्विन २, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?