१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

अन्धविश्वासले ज्यान गयो

दुई महिनाअघि जन्डिसले थला परेका राजु मगरको मृत्युपछि प्रहरीद्वारा उजुरी लिन आनाकानी 
हरिहरसिंह राठौर

(धादिङ) — झाँक्रीले पेटमा प्वाल पारेर गरेको ‘गलत उपचार’ ले ३९ वर्षीय राजु मगरको मृत्यु भए पनि प्रहरीले उजुरी लिन आनाकानी गरेको छ । दुई महिनादेखि जन्डिसले थला परेका राजुलाई मुखैले चुसेर कमलपित्तको विकार निकाल्ने भन्दै झाँक्रीले पेट चिरेका थिए । उक्त घाउ निको नभएर झनै थलिएका राजुको सोमबार जिल्ला अस्पताल धादिङमै मृत्यु भएको थियो । 

भदौ २५ मा जिल्ला अस्पताल धादिङ ल्याउँदा उपचार हुन नसक्ने भन्दै वीर अस्पताल लैजान सिफारिस गरिएको थियो । तर आर्थिक अभावका कारण काठमाडौं लानुको साटो अस्पतालकै बरन्डामा बेडमा राखिएको थियो । डेंगुका बिरामीका बेडहरू खाली नभएकाले बरन्डामै राखिएको अस्पताल स्रोतले जनाएको छ ।


राजुलाई सदरमुकामै बसेर आफूलाई महायान लामा झाँक्री बताउने गजबहादुर लामाले पेटको जन्डिस चुसेरै निकालिदिन्छु भन्दै बिरामीलाई आफ्नै घरमा बोलाएर ब्लेडले पेट चिरेका थिए । त्यसबापत् झाँक्रीले ८ हजार रुपैयाँ पनि असुलेका थिए । लामासम्म उनकै बहिनी बिमला तामाङले लिएर गएकी थिइन् । उनी भन्छिन्, ‘दाइले त्यतिबेला पेटमा घाउ लगाएको भन्नुभएको थिएन । अशक्त भएर अस्पताल आउँदै गर्दा मात्रै थाहा भयो । पेट लामाले हरितालिका दर खानको दिन चिरेको रहेछ ।’


अवस्था झनै बिग्रिएपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो । काठमाडौं नयाँबजारस्थित पिपुल मेडिकल कलेजले अरूले बनाइदिएको घाउ आफूले नहेर्ने भन्दै पेटमा जमेको पानी निकालिदिएर घर तिरै फिर्ता गरिदिएको थियो ।


मृतक राजुको शव जिल्ला अस्पतालकै शवगृहमा छ । मंगलबार साँझसम्म शवको परीक्षणसमेत गरिएको छैन । लामा झाँक्रीविरुद्ध जाहेरी दिन गएका आफन्तजनलाई मंगलबार दिनभर प्रहरीले सबुत प्रमाणसहित आउन भनेपछि आफूहरू कागजपत्र मिलाउन लागेको मृतक राजुकी श्रीमती राधिकाले बताइन् । राधिकाले झाँक्रीविरुद्ध जाहेरी दिने बताइन् । आफूविरुद्ध किटानी उजुरी नपरे पनि गजबहादुर लामा गत २५ देखि नै फरार छन् । यसैबीच, जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार बैदवारले जाहेरी नपरेसम्म कारबाही बढाउन र छानबिन गर्न नमिल्ने भए पनि चिकित्सकबाट शव परीक्षण गर्ने तरखरमा रहेको बताए । उनले आफन्तजनहरू दिनभर जिल्ला प्रहरी छेउमा आएर पनि जाहेरी दर्ता नगरेको जनाए । उनले भने, ‘शव परीक्षणबिना हामी शव हस्तान्तरण गर्दैनौं ।’


यसअघि नै गजबहादुरले ८ जनाको पेट चिरेको घटना सार्वजनिक भएको छ भने कतिपयलाई फलामे पन्यू तताएर गाला डाम्ने, गर्भवती महिलाको पाठेघरमै हात हालेर बच्चा निकाल्ने गरेको पनि स्थानीयले बताएका छन् ।


पहिले पनि हत्या

धादिङमा अन्धविश्वासले ज्यान गएको यो पहिलो घटना भने होइन । अघिल्लो वर्ष गंगा–जमुनाका पूरै गाउँले मिलेर २ जना झाँक्रीको हत्या गरेका थिए । ती झाँक्रीहरूको हत्या गरी जंगलमा जलाएको आरोपमा गंगा–जमुना ६ लतापका २९ जना वृद्ध र युवा हाल जिल्ला कारागारमा छन् । उनीहरूले ०७५ साउन ५ मा २ जना लामा झाँक्री ४५ वर्षीय पलक तामाङ र ६५ वर्षीय युरोङ तामाङलाई सामूहिक रूपमा कुटपिट गरी हत्यापछि अन्त्येष्टि पनि गरेका थिए । गाउँबस्तीका ६ जनालाई टुनामुना लगाएर मारेको आरोपमा २ जना लामा झाँक्रीको आफ्नै बस्तीमा हत्या भएको थियो । हाल बस्ती पुरुषविहीन बनेको छ ।


सदरमुकाम धादिङबेंसीका ३६ सय घरधुरीमध्ये उत्तरी भेकका तामाङ समुदायले डेरा नलिएको घर पाउन मुस्किलै पर्छ । जिल्लाको उत्तरी भेकमा रहेका तामाङहरू बसाइँसराइ गरेर होस् वा भूकम्पपछि होस् चारैतिर तामाङ समुदायहरू ओर्लेका छन् । बसाइँसराइ गरेर आएका बाहेक श्रीमान् वैदेशिक रोजगार र श्रीमती बालबालिका पढाउनका लागि सदरमुकाममा डेरा लिएर बस्नेहरूको कमी छैन । डेरा लिनेहरूमध्ये दुईथरी धार्मिक समुदाय छन्, एकथरी बौद्धमार्गी र अर्कोथरी इसाई । ‘विकट गाउँबस्तीबाट सदरमुकाममा बसाइँसराइ गरे पनि तामाङ समुदायको लामा, झाँक्री, टुनामुना, जन्तरमन्तरप्रतिको विश्वास दुवै धार्मिक सम्प्रदायमा त्यत्तिकै जरा गाडेर बसेको छ । खानलाउनमा आधुनिक हुन खोजे पनि मौलिक संस्कार छोडेनन्,’ गंगा–जमुना गाउँपालिकाको रिगाउँबाट सदरमुकाम बसाइँसराइ गरेका भक्त लामाले भने ।


सदरमुकाममा रोग लागेर बिरामी हुँदा पनि अस्पताल र लामा झाँक्री दुवैको शरणमा पुग्छन् । बौद्धमार्गी छाडेर इसाई भएकाहरू पनि तन्त्रमन्त्रबाहेक पास्टरले लामा झाँक्रीजस्तै ढ्यांग्रो ठटाउन छाडेका छैनन् ।

प्रकाशित : आश्विन १, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?