कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डाइभर्सनको विरोध

रमेशकुमार पौडेल

(चितवन) — कालीगण्डकी नदीलाई डाइभर्सन गरी तिनाउमा मिसाउने सरकारी योजनाको स्थानीय साधु/सन्तले विरोध गरेका छन् । प्रसिद्ध तीर्थस्थल देवघाटधामको अस्तित्व नै खतरामा पर्ने भन्दै उनीहरू विरोधमा उत्रेका हुन् ।

सिँचाइ र बिजुलीका लागि गर्न लागिएको डाइभर्सनले देवघाटको मात्रै नभई वरपरका मानवबस्ती र चितवन निकुञ्जमा समेत नकारात्मक असर पर्ने उनीहरूको तर्क छ । कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष स्वामी चैतन्य कृष्णले कालीगण्डकी डाइभर्सन गर्दा त्योभन्दा तलको क्षेत्रमा वातावरणीय प्रभाव पर्नुका साथै मानवीय संस्कार संस्कृतिलाई पनि असर पर्ने बताए । उनले कालीगण्डकीमा जलसँगै जीवन पनि जोडिएको बताए ।


‘रुपन्देही र कपिलवस्तु क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउन भन्दै सभ्यताको केन्द्र र धार्मिक महत्त्वको कालीगण्डकीलाई खलल पुर्‍याउनु भनेको सामान्य काम हैन । यो रोक्नुपर्छ,’ उनले भने । नेपाल सरकारका पूर्वसचिव शान्तबहादुर श्रेष्ठले सम्भाव्यता अध्ययनपछि सरकारले यो वर्षको नीति तथा कार्यक्रम र बजेटमा कालीगण्डकी डाइभर्सन आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने उल्लेख गरेको बताए ।


कालीगण्डकीको राम्दीघाटबाट नदी डाइभर्सन गरेर ३० किलोमिटर सुरुङमार्फत् तिनाउमा झार्ने योजना रहेको उनको भनाइ छ । यसो गर्दा राम्दी तल कालीगण्डकी नदीमा अहिलेको भन्दा ४० प्रतिशत कम पानी बग्ने उनले बताए । जसबाट सय किलोमिटर क्षेत्रमा रहेका १० वटा स्थानीय तहका तीन लाख जनसंख्या यसबाट प्रभावित हुने उनले जनाए । नदी डाइभर्सन भए त्यसभन्दा तलका धेरै खोल्साहरू सुक्ने दाबी उनको छ ।


‘राम्दीभन्दा तलको महाभारत आड हुँदै कालीगण्डकी नदी बग्ने क्षेत्रमा वर्षा कम हुन्छ । डाइभर्सन गरेर पानी अन्यत्र लगेपछि खोल्सा सुक्न थाल्ने छन् । तापक्रम दुई डिग्रीसम्म बढेर जाने खतरा छ,’ श्रेष्ठले भने । डाइभर्सन गरेर रुपन्देही कपिलवस्तुमा सिँचाइ गर्ने भनिएको छ । त्यो क्षेत्रमा अहिले पनि ८० प्रतिशत सिँचाइ सुविधा भएको हुँदा डाइभर्सन गरेर जोखिम ननिम्त्याउन उनले अपिल गरे । कालीगण्डकी नदीको विषयमा विद्यावारिधि गरेका कुलराज चालिसेले गण्डकी प्रदेशभित्रै उद्गम रहेर गण्डकी प्रदेशबाटै भारत जाने कालीगण्डकी नदीका विषयमा संघ र अन्य प्रदेशले निर्णय लिन नहुने बताए । ‘स्थानीयबासीको सरोकार जलवायु परिवर्तनको असर र भूमिगत पानी प्रणालीमा पर्ने प्रभावका विषयमा ख्याल राख्ने हो भने यो आयोजना उपयुक्त नै छैन,’ उनले भने ।


नेपाल सन्त समाजका महासचिव गुरुप्रसाद सुवेदीले कालीगण्डकी डाइभर्सनले राम्दी, केलादी र देवघाटको धार्मिक आस्था एवं सम्भावनाको केन्द्रलाई नामेट पार्ने बताए । ‘कालीगण्डकी नदी मात्रै हैन सभ्यता पनि हो । कम्तीमा आठ १० हजार वर्ष पुरानो वैदिक मान्यता र आस्थासँग जोडिँदै आएको देवघाटलाई आघात पुग्ने गरी कालीगण्डकीको प्रवाह रोक्न खोज्नु सांस्कृतिक सम्पदामाथि कुठाराघात गर्नु हो,’ उनले भने ।

प्रकाशित : आश्विन १, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?