अव्यवस्थित सडकले पहिरो

राजेन्द्र मानन्धर

दोलखा — जथाभावी सडक विस्तारले दोलखामा पहिरोको समस्या देखिएको छ । पछिल्ला दुई वर्षमा सडककै कारण दोलखाको सिंगटी बजार पहिरोको चपेटामा परिसकेको छ ।

अव्यवस्थित सडकले पहिरो

अव्यवस्थित सडक विस्तारका कारण यस वर्ष सिंगटी बजारको पश्चिमी क्षेत्र बाढीपहिरोको चपेटामा पर्‍यो । करिब २८ वटा पसलमा पहिरो पसेको थियो । ६ करोड हाराहारीमा क्षति भएको दोलखा उद्योग वाणिज्य संघले दाबी गरेको छ ।


‘उक्त बाढीको बितण्डा निम्तिनुको पहिलो कारण अव्यवस्थित सडक हो,’ जिल्ला समन्वय समिति प्रमुख डबल पाण्डेले भने ।

करिब दुई सय साना–ठूला व्यापार र उद्यम गरिने स्थल सिंगटी दोलखाको प्रमुख बजारहरूमध्ये पर्छ । दशकअघि सूचकांकमा पछाडि परेको यो बजार करिब एक दर्जन साना–ठूला जलविद्युत् आयोजनाहरूका कारण चम्किएको हो ।


जलविद्युत्का कारण सिंगटीमा व्यापार र उद्यममा लगानी बढेसँगै यहाँबाट जोडेर सडक विस्तार तीव्र भए तर सडकको स्तर सुधार भने भएन । डोजर चलाएर सडक विस्तार गरिए पनि नाला, टेवा पर्खाल र जैविक संरक्षणका विधितर्फ ध्यान नदिँदाको असर सिंगटीमाथि परेको छ ।


यस वर्ष सिंगटी अस्पतालतर्फ हुँदै जाने कच्ची सडकबाट बगेको पानीले वेग परिवर्तन गर्दा भेलमा परिणत भयो । उक्त भेलको बितण्डाले चरिकोटदेखि लामाबगर जाने मुख्य सडकमा क्षति पुगेको छ । सडकहरूमा ढुंगा, लेदो र पानीको भेल पस्दा २८ वटा पसलमा क्षति पुगेको हो ।


गतवर्ष सडक निर्माणको क्रममा बजारमै ठूला ढुंगा र माटोको पहिरो जाँदा मानिस हताहात भए । बिगु गाउँपालिकाले गरेको सडक विस्तार भएकाले उक्त कार्यालयकै खर्चमा हेलिकप्टरमा उद्धार गरेर घाइतेहरूलाई बँचाइएको थियो । त्यस्तै, तीन वर्षअघि लामाबगरसम्म विस्तार गरिएको सडकको माथिबाट ठूला पहिलो जाँदा बजारको पूर्वी क्षेत्रका घरहरू पुरिएका थिए । उक्त पहिरो जोगाउन माथिल्लो तामाकोसीले करोडौं लगानी गरिरहेको छ, अझै पनि जोखिम कायमै छ ।


२०७२ सालको विनाशकारी

भूकम्पको झड्का सिंगटीमा पर्‍यो त्यतिखेरको स्थिति विश्लेषण गर्दा सडकमाथिबाट आएको पहिरोमा परेर मानिसको बढी क्षति भयो । सडकमाथिबाट खसेका पहिरोले बजारका घरहरू भत्काए ।


गाडीहरू पुरिए । यस क्षेत्रका कुनै पनि सडकहरू पूर्ण सुरक्षित ढंगले निर्माण भएको छैन जो सडक मापदण्ड पूरा भएको होस् । सिंगटीका व्यवसायी प्रकाश केसीको भनाइमा सिंगटी जोगाउन सडक व्यवस्थित गर्ने र खोलाहरूमा बलियो तटबन्ध निर्माण गर्नु आवश्यक छ ।


दोलखामा लगभग तीन सयवटा सडक १५ सय किलोमिटर लम्बाइमा विस्तार भएको तत्कालीन जिल्ला विकास समितिमा तयार प्राविधिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन तयारमा संलग्न इन्जिनियर नारायण शिवाकोटीका अनुसार हाल दोलखामा एक सय किलोमिटर मात्रै कालोपत्रे सडक छ । जसमध्ये केही मात्रै पक्की छ ।


बाँकी सडकहरू जेनतेन मोटर कुदन सक्ने गरी बनाइएका छन् । पछिल्लो नौवटा स्थानीय तहले करिब पाँच सय किलोमिटर सडक बनाएको अनुमान छ । त्यो पनि कच्ची नै छन् ।यसै वर्ष जुँगुमा दुई जनाको ज्यान जानेगरी भएको पहिरोको प्रमुख कारण सडक भएको निश्कर्ष छ । जहाँबाट सडक विस्तार भएको छ त्यहीँबाट भिरालो परेको जमिनतिर बाढी र पहिरो कुदेको छ ।


भूगर्भविद् ज्योति केसीको भनाइमा जुगुँका केही बस्तीहरू सदाका लागि पहिरोको उच्च जोखिममा छ । बस्ती नै स्थानतरणबाहेक अन्य उपाय छैन । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनासँग आबद्ध उनले उक्त ठाउँको स्थलगत अध्ययनपछि गौरीशंकर गाउँपालिकालाई बुझाएको प्रतिवेदना उल्लेख छ ।

प्रकाशित : भाद्र ३१, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?