वधशालाको लगानी उपलब्धिविहीन

शुल्क महँगो भएको, दीर्घकालीन सञ्चालनको सुनिश्चित नभएको तथा बजारसम्म लैजान असहज भएको भन्दै व्यापारीले जान मानेका छैनन्

मकवानपुर — प्रदेश सरकारले पशुवधलाई व्यवस्थित गर्न भन्दै निजी उद्योगलाई दिएको अनुदान उपलब्धिवधविहीन बनेको छ । सरकारले अनुदान दिएर हेटौंडा औद्योगिक क्षेत्रभित्र बफेलो क्वालिटी फुडमा व्यवस्थित वधशाला सञ्चालनमा ल्याए पनि हेटौंडाका व्यवसायीले त्यसको उपयोग गर्न आनाकानी गरेसँगै प्रदेशको लगानी उपलवधविहीन बनेको हो ।

पशुवधलाई व्यवस्थित गर्ने भन्दै सरकारले करिब ७१ लाख रुपैयाँ अनुदान निजी उद्योगलाई उपलब्ध गराएको थियो । माछामासु व्यवसायी संघका अनुसार हाल हेटौंडामा दैनिक ६० वटा राँगाभैंसी, करिब एक सय २० वटा खसीबोका र १० हजारवटाभन्दा बढी कुखुरा खपत हुने गरेको छ ।


हेटौंडा बजारका विभिन्न २० भन्दा बढी स्थानमा राँगाभैंसी वध हुने गरेका छन् । जथाभावी पशुवध गर्दा स्वस्थकर मासु उत्पादनमा समस्या हुनुका साथै वातावरण पनि प्रदूषित भएको भन्दै प्रदेश र स्थानीय सरकारले निजी क्षेत्रको लगानीमा उद्योग सञ्चालनमा ल्याएको थियो ।


हेटौंडा तथा छिमेकी जिल्लाको विभिन्न स्थानमा हुने पशुपन्छीको काटमारलाई नियन्त्रण गरी स्वच्छ मासु उत्पादन तथा वातावरणलाई समेत ध्यानमा राखेर प्रदेश र हेटौंडा उपमहानगरपालिकाको सक्रियतामा वधशाला सञ्चालनमा ल्याएको भए पनि व्यवसायीहरूले विभिन्न बाहना देखाउँदै त्यसको प्रयोगबाट पन्छिरहेका छन् ।


व्यवसायीहरूले पशुवध गरेबापत् उद्योगलाई बुझाउनुपर्ने शुल्क महँगो भएको र दीर्घकालीन सञ्चालनको ग्यारेन्टी नभएको तथा पशुवध गरेपछि बजारसम्म ल्याउने व्यवस्था नभएको भन्दै वधशालामा पशुपन्छी काटमारका लागि लैजान नमानेका हुन् ।


हेटौंडा उपमहानगरपालिकाले एकै ठाउँमा पशुवध गर्न भन्दै व्यवसायीहरूलाई पटकपटक आग्रह गरे पनि उनीहरूले त्यसको बेवास्ता गर्दै आएका छन् । पशुवध गरेबापत् उद्योगले लिने मूल्यको विषयमा सहमति नजुटेको र आफूहरूले सहमति गराउने प्रयास गरिरहेको हेटौंडा उपमहानगरपालिकाका वातावरण शाखाका अधिकृत ध्रुव भुजेलले बताए ।


हेटौंडाका मासु व्यवसायी संघका प्रतिनिधिहरूसँग विभिन्न चरणमा छलफल गरिए पनि सहमति नजुटेको बताउँदै भुजेलले व्यवसायी र उद्योगीबीच मूल्यमा सहमति गराएर केही समयमा नै पशुपन्छीको काटमारलाई व्यवस्थित गरिने बताए । ‘पशुवध गरेबापत् हामीले समय सुहाउँदो मूल्य प्रस्ताव गरे पनि उद्योग पक्षले राँगाभैंसी काट्न नसक्ने भन्यो, अर्को कुरा वधशाला दीर्घकालीन सञ्चालनमै हामीलाई शंका छ, यसको ग्यारेन्टी कसले लिने ?’ हेटौंडा मासु व्यवसायी संघका अध्यक्ष सूर्य अधिकारीले भने ।


उद्योगले अहिले एउटा राँगा वध गरी मासु तयार गरेबापत् एक हजार पाँच सयसम्म शुल्क तोकेको छ । उक्त शुल्क तिर्न नसक्ने व्यवसायीहरूको भनाइ छ । माछामासु व्यवसायी संघ मकवानपुरका महासचिव नारायण राजथलाले भने, आफू मातहतमा रहेका व्यवसायीहरू वधशालामा वध गर्न इच्छुक भए पनि केही व्यवसायीहरूको असहमतिको कारण रोकिएको बताए ।


‘हाम्रो संघले राँगाभैंसी, खसी, कुखुरालगायत वध गर्दाको छुट्टाछुट्टै मूल्यसूची प्रस्ताव गरेका थियौं, त्यसलाई उद्योगले स्वीकार गरिसकेको अवस्थामा केही साथीहरूले असमति जनाइहेका छन्, जसले गर्दा समस्या भइरहेको छ,’ राजथलाले भने । उद्योगका निर्देशक सैयद रियाजुद्दिनले मासु व्यवसायीले प्रस्ताव गरेकै मूल्यमा आफूहरूले पशुवध गर्न सहमत रहे पनि केही व्यवसायीले असहमति जनाएको बताए ।


व्यवसायीले पशुवध गर्न नल्याएपछि आफूहरूले सीमित मात्रामा मासु उत्पादन गरी मकवानपुरलगायत बाहिरी जिल्लामा समेत पुर्‍याउन थालिएको उद्योगले जनाएको छ । ५५ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगमा करिब १८ करोड रुपैयाँ लगानी गरिएको उद्योगका निर्देशक रियाजुद्दिनले बताए ।

प्रकाशित : भाद्र ३१, २०७६ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?