२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

जागिर छोडेको २० वर्षपछि समायोजन

रामेछाप — पदबाट राजीनामा दिएको २० वर्षपछि रामेछापका एक स्वास्थ्यकर्मीलाई स्वास्थ्य मन्त्रालयले समायोजन गरेको छ । 

जागिर छोडेको २० वर्षपछि समायोजन

हेल्थ असिस्टेन्ट पदबाट राजीनामा दिएर रामेछापकै मन्थलीमा रहेको तामाकोसी अस्पतालमा विगत २० वर्षदेखि कार्यरत रहँदै आएका सुमन कर्माचार्यलाई मन्त्रालयले समायोजनमा हालेको हो । जिल्लामा समायोजन हुने स्वास्थ्यकर्मीहरूको सूचीमा एक नम्बरमा रहेका साँघुटार स्वास्थ्य चौकीको दरबन्दीमा रहेका कर्माचार्यलाई हाल मन्थली नगरपालिकामा समायोजन गरी सोको पत्र दिन मन्त्रालयले भदौ १७ मा स्वास्थ्य कार्यालय रामेछापलाई पत्र काटेको हो ।


हेल्थ असिस्टेन्ट पदमा कार्यरत रहेका बेला साबिकको मन्थली स्वास्थ्य चौकीमा सरुवा मागेका कर्माचार्यलाई उदयपुरको कटारी खटाएपछि उनले ०५७ मा पदबाट राजीनामा दिएका थिए । राजीनामा स्वीकृत भए/नभएको उनलाई जानकारीमा छैन । ‘मैले राजीनामा बुझाएँ, हिँडें,’ कर्माचार्यले भने, ‘स्वीकृत गर्ने र रेकर्ड राख्ने काम सरकारको हो, सेवामा रहेका बेलाको पाउने सुविधासमेत उनले बुझेका छैनन् ।’


अहिले समायोजन गरेको सुनेपछि भने उनी सरसल्लाहमा जुटेको बताए । उनले भने, ‘म सल्लाह गरिरहेको छु, अब फेरि राजीनामा बुझाउनुपर्ला ।’ राजीनामा स्वीकृत गरेपछि प्राप्त हुने सुविधाबाट उनले आफ्नो गाउँमा स्वास्थ्य भवन निर्माणको काम गर्ने योजना सुनाए । ‘यो घटनाले देशको रेकर्ड प्रणाली कस्तो छ भन्ने कुराको चित्रण गर्छ,’ कर्माचार्यले भने ।


लामो समयसम्म सेवामा नरहेका कर्माचार्यलाई मात्र हैन, साबिक राकाथुम स्वास्थ्यचौकीमा दरबन्दी रहेका सन्तोषकुमार उपरझियाको समेत समायोजन गरिएको छ । उनी रामेछापमा भएको कसैलाई जानकारी छैन ।


स्वास्थ्य कार्यालय स्रोतका अनुसार उनी विदेशतिर छन् । बुझाएको राजीनामा स्वीकृत गरी निजामती किताबखानामा जानकारी नदिएको कारण यस्तो त्रुटि भएको हुन सक्ने अनुमान स्वास्थ्य कार्यालयको छ । कर्माचार्यको दरबन्दी भएको स्थान मन्थली नगरपालिकामा १ जना जनशक्ति कम हुने भएकाले तत्काल दरबन्दीमा थप जनशक्ति माग गर्ने तयारीमा उक्त कार्यालय जुटेको छ ।

प्रकाशित : भाद्र ३०, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?