संक्रमितहरू नै नियन्त्रण अभियानमा

एक पटक डेंगु भइसकेकाहरु फेरि बिरामी हुनबाट बच्न सचेतना फैलाइरहेका छन्  
रमेशकुमार पौडेल

चितवन — अजिता अधिकारीलाई भदौ १६ मा हनहनी ज्वरो आयो । भरतपुरको एक निजी अस्पतालमा गएर जँचाउँदा उनलाई डेंगु भएको पत्ता लाग्यो । भरतपुर महानगरपालिका–३ नगरवन मार्ग घर भएकी अधिकारी ६ दिन अस्पताल बसेर घर फर्किन् । 

संक्रमितहरू नै नियन्त्रण अभियानमा

उनको उपचार जुन अस्पतालले गर्‍यो, शनिबार उनी फेरि त्यहीं पुगिन् । तन्दुरुस्त देखिएकी अजिता अब डेंगुविरुद्ध हुने अभियानमा संलग्न हुने भएकी छन् । भरतपुरको पुष्पाञ्जली अस्पतालले यो अभियान सुरु गरेको हो । सो अस्पतालमा मात्रै साउन १६ गतेयता भदौ २७ गतेसम्म ज्वरो आएका ४०५ जना बिरामी आए ।


यीमध्ये २२३ जनालाई डेंगु भएको पुष्टि भयो । १०५ जना भर्ना नै भएर उपचार गराए । चितवन र आसपासका ३७ वटा टोलबाट बिरामी डेंगु भएर सो अस्पतालमा उपचारका लागि आएका रहेछन् । ‘डेंगु निको भएर फर्केका यी बिरामीले ३७ वटा टोलमा डेंगुविरुद्ध अभियान चलाउन सक्नेछन् ।


सचेतनाले नै डेंगु नियन्त्रणमा आउने हो,’ अस्पतालमा कार्यरत वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले भने । डेंगु गराउने लामखुट्टेले जमेको सफा पानीमा अन्डा पार्छ । यस्तो पानी जम्ने ठाउँ गमला, फूलदानी, निर्माण सामग्री, टायर खोजेर लामखुट्टेका लार्भा भेटिए नष्ट गर्नु प्रभावकारी हुने डा. अधिकारीले बताए । निको भएर गएका बिरामीले समाजलाई सजग गराउन सक्ने उनको भनाइ छ ।


‘लामखुट्टे कसरी फैलन्छ, डेंगु लाग्दाका लक्षण के हुन्, ज्वरो आए के गर्ने, डेंगु भए के गर्ने जस्ता चेतनामूलक कुरा उल्लेख भएको पर्चा पोस्टर संक्रमित भएर उपचारपछि निको भएका व्यक्तिहरूलाई दिएका छौं । त्यसअनुसार उहाँहरूले समाजमा गएर चेतना फैलाउने काम गर्न सक्नुहुनेछ,’ डा. अधिकारीले भने । डेंगु लागेर निको भएकी अजिता अधिकारी पनि यो काम गाह्रो नभएको बताउँछिन् । ‘एक पटक डेंगु भएका बिरामी थप डेंगु नहोस् भनेर सजग हुनुपर्दो रहेछ ।


यो काम हाम्रा लागि नै हो । हामी समाजलाई डेंगु नियन्त्रणका उपाय बुझाउन तयार छौं,’ अजिता अधिकारीले भनिन् । गैंडाकोट–२ का सुरेन्द्रजंग श्रेष्ठ पनि डेंगु भएर उपचार गरेका व्यक्ति हुन् ।


उनी अस्पतालमा भर्ना भएर भने बसेनन् । ‘यो महामारीका बेलामा डेंगु खतरनाक झैं लाग्दो रहेछ । यो त्यत्ति खतरनाक पनि हैन । यसबारे जाने बुझेर बस्नुपर्दो रहेछ । मुख्य कुरा लामखुट्टेलाई फैलन दिनु भएन । समाजका सबै मिलेर काम गरे त्यो काम पनि त्यति गाह्रो हैन रहेछ,’ श्रेष्ठले भने ।


चितवन र भरतपुर महानगरपालिकामा डेंगुको प्रकोप निकै उच्च छ । त्यसैले यसको नियन्त्रणका लागि सबै मिलेर काम गर्नुपर्ने भरतपुर महानगरकी मेयर रेनु दाहालले बताइन् । चितवन जिल्ला स्वास्थ्य कार्यालयबाट प्राप्त विवरणअनुसार चितवनमा मात्रै साउनयता भदौ २७ सम्म डेंगुका एक हजार ६३२ बिरामी फेला परेका छन् ।


तीमध्ये भरतपुर महानगरपालिकाभित्रका बिरामीको संख्या एक हजार २०३ जना छ । भरतपुर महानगरको बजार क्षेत्र रहेका एक, दुई, तीन, चार, १०, ११ र १२ नम्बर वडामा डेंगुको संक्रमण अत्यधिक छ । आधिकारिक विवरणमा डेंगुका कारण चितवनमा एकजनाको निधन भएको छ ।

प्रकाशित : भाद्र ३०, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?