कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

निर्धारित मितिअघि नै बने विद्यालय भवन

प्रताप विष्ट

हेटौंडा — निर्माण कम्पनीहरूले निर्माण कार्यर्को ठेक्का लिएर वर्षौंसम्म काम सम्पन्न नगर्ने प्रवृत्ति हाबी भइरहेको अवस्थामा विद्यालय भवनको पुनर्निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले ६ महिनाअघि नै आधा दर्जन भवन निर्माण गरेर हस्तान्तरण गरेका छन् ।

निर्धारित मितिअघि नै बने विद्यालय भवन

निर्माण कम्पनीले यति छिटो भवनको पुनर्निर्माण गरेर हस्तान्तरण गर्छ भनेर सरोकारवालाहरूले कल्पनासमेत गरेका थिएनन । सुगम क्षेत्रका मात्र होइन, दुर्गमका पनि विद्यालय भवन ६ महिनाअघि नै निर्माण गरी हस्तान्तरण गरेका छन् ।


मकवानपुरको सुदूरपूर्वमा पर्ने वाग्मती गाउँपालिका—१ र २ वडामा रहेको वाग्मती मावि र सूर्योदय माविको भवन शुक्रबार एक समारोहबीच हस्तान्तरण गरिएको छ ।


स्वच्छन्द खानी निर्माण कम्पनीले माघसम्ममा सम्पन्न गरिसक्नुपर्ने समयावधि भए पनि भदौमै स्कुल भवनको पुनर्निर्माण गरेर संघीय सांसद कृष्णप्रसाद दाहालले एक समारोहबीच विद्यालय व्यवस्थापन कमिटीलाई नवनिर्मित भवन हस्तान्तण गरेका हुन् । वाग्मती गाउँपालिकाको राईगाउँस्थित वाग्मती माविको २ तले ६ कोठे भवनसहित छात्रा र अपांगमैत्री शौचालय निर्माण गरिएको छ ।


‘तोकेको समयभन्दा अगावै निर्माण कम्पनीले स्कुल भवन बनाउला भनेर सोचेका थिएनौं,’ प्रअ हर्कबहादृर राईले भने, ‘निर्माण कम्पनीले झरीबादल केही नभनीकन निरन्तर रूपमा काम गरेको थियो, जसले गर्दा समयभन्दा अघि नै सकियो ।’ उक्त विद्यालयको भवन २ करोड २१ लाखमा निर्माण गरेको हो । वाग्मती गापाका वाग्मती मावि मात्र होइन उक्त गापाकै सूर्योदय माविको भवन पनि ६ महिनाअघि नै सम्पन्न गरेर शुक्रबार एक समारोहबीच हस्तान्तण गरेको छ । उक्त भवन पनि स्वच्छन्द खानी जेभी निर्माण सेवाले निर्माण गरेको हो ।


२०७२ वैशाख १२ को भूकम्पले दुवै विद्यालयको भवन भूकम्पले क्षतिग्रस्त बनाएको थियो । भवनको अभावमा विद्यार्थीहरू बाँसले चारैतिर बेरेको टहरामा बसेर पढ्दै आएका थिए । विद्यालय भवनको निर्माणसँगै टहरामा बसेर पढ्ने कार्यबाट उनीहरूले मुक्ति पाएका छन् ।


स्वच्छन्द खानी जेभी निर्माण कम्पनीले वाग्मती गापाको मात्र होइन थाहा नगरपालिका—७ आग्रास्थित सुन्दरीदेवी मावि, मकवानपुरगढीस्थित जाल्पादेवी मावि र हेटौंडा उपमहानगरपालिका—५ बालज्योति माविको भवनको पुनर्निर्माण कार्य ६ महिनाअघि नै सम्पन्न गरेर विद्यालयलाई हस्तान्तरण गरिसकेका छन् ।


जाइकाको आर्थिक सहयोगमा उक्त निर्माण कम्पनीले १२ वटा विद्यालय भवनको ठेक्का पाएको थियो । त्यसमध्ये अधिकांश विद्यालय भवन पुनर्निर्माण भइसकेको जिल्ला पुनर्निर्माण एकाई (शिक्षा) का प्रमुख बद्री पाठकले भने । ‘उक्त निर्माण कम्पनीले समय अगावै निर्माण कार्य सम्पन्न गरेकाले समुदायलगायत सबै क्षेत्रले निर्माण कम्पनीलाई बधाई दिएका छन्,’ उनले भने । समुदायलगायत सबै पक्ष सहयोग गरेका कारणले समय अगावै भवन तयार बनाएर हस्तान्तण गर्न पाएको निर्माण कम्पनीका प्रतिनिधि दीपक देवकोटाले बताए ।


जाइकाले पहिलो चरणमा निर्माण गरेको ७ वटा विद्यालय भवनमध्ये ६ वटा निर्माण गरेर हस्तान्तरण गरिसकेको छ । जाइकाले थप ३४ वटा विद्यालय भवनको पुनर्निर्माण कार्य सुरु गरेको छ । हेटौंडा उपमहानगरपालिकामा ११ वटा, थाहानगरपालिकामा ६ वटा, भीमफेदी गाउँपालिकामा ३ वटा, बकैया गाउँपालिकामा ३ वटा, इन्द्रसरोवर, मकवानपुरगढी,, वाग्मती, मनहरी र राक्सिराङ गाउँपालिकाका गरी ३४ विद्यालय भवनको पुनर्निर्माण कार्य सुरु गरिसकेको छ ।


मकवानपुरमा पहिलो चरणमा ११० वटा विद्यालय भवनको पुनर्निर्माण कार्य सुरु गरिएको थियो । पुनर्निर्माण प्राधिकरणको शिक्षासम्बन्धी जिल्ला आयोजना कार्यान्वयन एकाई आव ०७३/७४ र ०७४/७५ मा १ सय ३६ वटा विद्यालय भवनको पुनर्निर्माण गरिसकेको छ । चालू आवमा शिक्षासम्बन्धी जिल्ला कार्यान्वयन आयोजना एकाईले ६५ वटा विद्यालय भवन निर्माण गर्दै छ ।


मकवानपुरमा हालसम्म सरकारी, गैरसरकारी गरेर २ सय ५५ वटा विद्यालय निर्माण भइसकेका छन् । ती निर्माण भएका विद्यालयमा करिब एक हजारवटा कक्षाकोठा तयार भएका छन् । अहिले सरकारी तथा गैरसरकारीतर्फबाट ५ सयवटा कक्षा तयार भइरहेको जिल्ला कार्यान्वयन एकाई शिक्षा प्रमुख पाठकले बताए । जाइकाले केन्द्रीय आयोजना कार्यान्वयन एकाईमार्फत् मकवानपुरमा ४१ वटा विद्यालयको भवन निर्माण गरिरहेको छ ।


तीमध्ये सात विद्यालय भवनको निर्माण सम्पन्न गरिसकेको छ । ३ वटा हस्तान्तरण गर्न मात्र बाँकी छ । प्लान नेपालले ५ वटा विद्यालय भवनको पुनर्निर्माण गरिसकेको छ । एस्थर बेन्जामिन्स नामक गैरसरकारी संस्थाले भूकम्पले भत्केका १० वटा विद्यालयको भवन बनाउने जिम्मा लिएको थियो । त्यसमध्ये ८ वटा भवनको पुनर्निर्माण गरिसकेको छ ।


२ वटा पनि निर्माणाधीन अवस्थामा छन् । यूएसआईडीले ६ वटा विद्यालय भवन निर्माण गर्दै छ । जिल्ला आयोजना कार्यान्वयन एकाईसँग अनुमति लिएर उनीहरूले विद्यालय भवनको पुनर्निर्माण गरेका हुन् ।

प्रकाशित : भाद्र २९, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?