मैलुङ–स्याफ्रुबेंसी सडक अवरोध हटाउन सुरु

कान्तिपुर संवाददाता

रसुवा — पहिरोको कारण अबरुद्ध मैलुङ–स्याफ्रुबेंसी सडक शनिबारबाट पन्छाउन थालिएको छ । वर्षात्को समयमा पहिरो खस्ने भएकाले असारको अन्तिमबाट उक्त सडक खण्डमा यातायात सञ्चालन गर्न रोक लगाइएको थियो । करिब दुइ महिनायता उक्त सडक खण्ड बन्द रहेको थियो । 

पहिरोले सडक भासिँदा पासाङल्हामु मार्गको राम्चे–ग्राङ सडक खण्ड बुधबार साँझदेखि अवरुद्ध भएपछि तत्कालै यातायात सञ्चालन गर्न मैलुङ–स्याफ्रुबेंसी सडक पन्छाउन थालिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

कालिका गाउँपालिका–१नाकुरदुङ भन्ने ठाउँमा सडक भासिएपछि पासाङल्हामु मार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध बनेपछि भन्सार गरेर छुटेका र सामान लिन केरुङ हिँडेका सयौं कन्टेनर बीचबाटोमा नै रोकिएका छन् ।

सडक भासिएको ठाउँमा निर्माणको काम बिहीबारबाटै सुरु गरिएको छ । तर यातायात सञ्चालनमा आउन अझै एक हप्ता जति लाग्ने जनाएको छ । चाडबाडको मुखैमा सडक अवरुद्ध हुँदा व्यापारीहरू चिन्तित बनेका छन् ।

अहिले दसैं र तिहारका लागि चीनबाट धमाधम सामान आयात भइरहेको छ । चाडबाडको मुखैमा अन्तर्राष्ट्रिय नाका रसुवागढी जोड्ने दुवै सडक अवरुद्ध भएकाले तत्कालै यातायात सञ्चालन गर्न मैलुङ–स्याफ्रुबेंसी सडक शनिबारबाट पन्छाउन सुरु गरिएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए । ‘शनिबार बिहानैदेखि मैलुङ र स्याफ्रु दुवैतर्फबाट सडक पन्छाउन सुरु गरिएको छ,’ उनले भने ।

जिल्ला प्रशासन कार्यालयको रसुवाको संयोजन तथा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजनाको समन्वयमा सडक डिभिजन कार्यालय नुवाकोट, स्थानीय तह, प्रतिनिधि तथा प्रदेशसभा सदस्य, संविधानसभा सदस्य र राजनीतिक दलको सहकार्यमा सडक पन्छाउन थालिएको हो ।

उक्त सडक खण्ड पर्ने सबै जलविद्युत् आयोजनाहरू प्राविधिक तथा मेसिनको सहयोग गरेका छन् । पहिरो पन्छाउन पहिलो दिन ८ वटा मेसिन र २ वटा टिपर प्रयोग गरिएको छ । आइतबार साँझसम्ममा मैलुङ–स्याफ्रुबेंसी सडक सञ्चालनमा आउने प्रजिअ भण्डारीले बताए ।

प्रकाशित : भाद्र २९, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्

काभ्रेमा डेंगुका ६ बिरामी

कान्तिपुर संवाददाता

काभ्रे — डेंगु संक्रमणको उच्च जोखिममा रहेको काभ्रेमा ६ जना बिरामी फेला परेका छन् । संक्रमितमध्ये ४ जनाको टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल र २ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए । 

६ जना स्क्रब टाइफसका बिरामीको पनि धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बीपी र अरनिको राजमार्ग काभ्रे हुँदै जाने, उपत्यकासँग जोडिएको र लामखुट्टेका लागि उपयुक्त तापक्रमसमेत भएकाले काभ्रे डेंगु संक्रमणको उच्च जोखिममा छ ।

झाका अनुसार, जिल्लाका १३ वटै स्थानीय तहमा ‘खोज तथा नष्ट गर’ र जनचेतना अभियान गर्न पत्रचार गरिएको छ । पनौती, पाँचखाल, मण्डनदेउपुर र बनेपा नगरपालिकाको १० नं वडामा खोज तथा नष्ट गर्न अभियान थालिएको पनि उनले जानकारी दिए ।

‘सीमित स्रोत र साधनको बाबजुद अभियान सञ्चालन गरिरहेका छौं,’ प्रमुख झाले भने, ‘यसका लागि सबै पक्ष सहभागी हुनु जरुरी छ, प्रत्येक नागरिक सचेत नभएसम्म यो नियन्त्रण हुँदैन ।’ डा. झाले जम्ने सफा पानी, टायर तथा प्लास्टिकजन्य पदार्थमा लामखुट्टेले बच्चा जन्माउने र संक्रमित लामखुट्टेले टोकेमा संक्रमण फैलने भएकाले सचेत रहन सबैमा अनुरोध गरे ।

प्रकाशित : भाद्र २९, २०७६ ०९:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्