काभ्रेमा डेंगुका ६ बिरामी

कान्तिपुर संवाददाता

काभ्रे — डेंगु संक्रमणको उच्च जोखिममा रहेको काभ्रेमा ६ जना बिरामी फेला परेका छन् । संक्रमितमध्ये ४ जनाको टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल र २ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए । 

६ जना स्क्रब टाइफसका बिरामीको पनि धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बीपी र अरनिको राजमार्ग काभ्रे हुँदै जाने, उपत्यकासँग जोडिएको र लामखुट्टेका लागि उपयुक्त तापक्रमसमेत भएकाले काभ्रे डेंगु संक्रमणको उच्च जोखिममा छ ।

झाका अनुसार, जिल्लाका १३ वटै स्थानीय तहमा ‘खोज तथा नष्ट गर’ र जनचेतना अभियान गर्न पत्रचार गरिएको छ । पनौती, पाँचखाल, मण्डनदेउपुर र बनेपा नगरपालिकाको १० नं वडामा खोज तथा नष्ट गर्न अभियान थालिएको पनि उनले जानकारी दिए ।

‘सीमित स्रोत र साधनको बाबजुद अभियान सञ्चालन गरिरहेका छौं,’ प्रमुख झाले भने, ‘यसका लागि सबै पक्ष सहभागी हुनु जरुरी छ, प्रत्येक नागरिक सचेत नभएसम्म यो नियन्त्रण हुँदैन ।’ डा. झाले जम्ने सफा पानी, टायर तथा प्लास्टिकजन्य पदार्थमा लामखुट्टेले बच्चा जन्माउने र संक्रमित लामखुट्टेले टोकेमा संक्रमण फैलने भएकाले सचेत रहन सबैमा अनुरोध गरे ।

प्रकाशित : भाद्र २९, २०७६ ०९:५६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पृथ्वीराजमार्ग वरपर फोहोरको डंगुर

हरिहरसिंह राठौर

धादिङ — नेपाल भ्रमण वर्ष २०२० मा देशभरमा छनोट गरिएका एक सय वटा गन्तव्यहरूमध्ये त्रिशूली नदी पनि एक हो । नारायणगढदेखि गल्छीसम्म ९६ किलोमिटर त्रिशूली नदी किनार र गल्छीदेखि नौबिसेसम्मको महेशखोला किनार यतिखेर फोहोरको डंगुरमा परिणत भएको छ ।

राजमार्ग वरपर सञ्चालित करिब १६ सय होटल, रिसोर्ट र चिया पसल, औषधि पसलहरू, अस्पताल र अन्य उद्योगहरूबाट निस्केको फोहोर व्यवस्थापन गर्ने निश्चित स्थान नभएपछि फोहोर जथाभावी राजमार्ग छेउ र त्रिशूली नदीमा फ्याँकिएको छ ।

राजमार्गमा सबैभन्दा बढी फोहोर प्लास्टिकजन्य नै रहेको छ । घोषणा गरेको गन्तव्य नेपाल सुरु हुन केही महिना मात्रै बाँकी छ । तर, पर्यटक राजधानी भित्रने र बाहिरिने प्रमुख नाकामध्ये पृथ्वीराजमार्गको विभिन्न स्थानहरूमा फोहोरको डंगुर थुप्रन थाले पनि सडक यात्रुहरू नाक थुन्न बाध्य छन् ।

भ्रमण वर्षलाई सफल पार्न र प्रचारप्रसार गर्न विभिन्न कम्पनीले प्रचारात्मक सामग्रीसहित होडिङ बोर्ड राखेका छन् । त्यसमा लेखिएको पनि छ, ‘आ–आफ्नो क्षेत्र स्वच्छ र सफा राखौं, नेपाल भ्रमण वर्ष २०२० सफल पारौं’ तर, यही सूचनामूलक नारा लेखिएको बोर्ड वरपर नै फोहोरका थुप्रो छरपष्ट देखिनुले भ्रमण वर्षको होडिङ बोर्डमा लेखिएका नाराले नै गिज्याइरहेको गजुरीका स्थानीय धुव्र सुवेदीले बताए ।

स्थानीय तहहरूले व्यवस्थित रूपमा ल्यान्डफिल साइटको व्यवस्था नगर्दा पृथ्वीराजमार्ग छेउछाउबाट त्रिशूली नदीमा समेत फोहोर फाल्ने क्रम बढेको छ । र्‍याफिटङका लागि प्रसिद्ध त्रिशूली नदीकिनारमा यत्रतत्र फोहोरको थुप्रो भेटिन्छ ।

अझ कतिपय ठाउँमा त मानव स्वास्थ्यलाई असर गर्ने र नष्ट नहुने फोहोरसमेत थुप्रिएका छन् । त्यस्ता फोहोर मालवाहक गाडीले रातिराति ल्याएर छाडिदिने गरेको मलेखुस्थित राधिका होटलका सञ्चालक बताउँछन् । स्थानीयले भने ‘प्रयोगमा नआउने सिसाका टुक्रा, सेरामिक्सका टुक्रा रातको समयमा ट्रकहरूले फालेर जान्छन् ।’ दिउँसो स्थानीयले देख्ने हुँदा राजधानीबाट बाहिरिने ट्रकले रातिराति फोहोर राजमार्गछेउमै खसालेर जाने गरेको उनको भनाइ छ ।

राजमार्ग छेउछाउका बजारको फोहोर फाल्ने ठाउँ व्यवस्थित नहुँदा पनि राजमार्ग क्षेत्र दुर्गन्धित हुँदै गएको हो । मलेखुका एक स्थानीय युवा सुशील थापाले भने, ‘फोहोर फाल्ने व्यवस्थित ठाउँ छैन, ठूला बजार र होटल छन्, तर फोहोर तह लगाउने व्यवस्थित स्थान छैन । शौचालयको ढल र फोहोर फाल्ने सबैको एउटै स्थान राजमार्ग किनार नै हो ।’

फोहोर फाल्ने ठाउँ व्यवस्थित नभएकाले नै स्थानीयले रात–साँझ पारेर राजमार्गका खुला ठाउँमा फोहोर थुपारिदिने गरेको स्थानीयले बताए । राजमार्ग छेउछाउका खोल्साखाल्सीलाई फोहोर फाल्ने डम्पिङ साइट नै बनाइएको छ । कुनै टोल समुदाय अथवा पालिकाले नै उक्त ठाउँ तोकेको नभई दिनहुँ फोहोर फाल्दाफाल्दै डम्पिङ साइटजस्तै बनिसकेका छन् ।

बेनीघाटका स्थानीय समाजसेवी श्रवण त्रिपाठीले भने, ‘गाउँपालिकाको काम सचेतनामूलक मात्रै छ, पूर्वाधार निर्माण गरेर फोहोर व्यवस्थित गर्नेतर्फ चासो नै छैन, फोहोर नफालौं, स्वास्थ्यमा असर गर्छ भन्ने सन्देश बाँडेर मात्रै फोहोर व्यवस्थापन हुन्छ र ? ’

प्रकाशित : भाद्र २९, २०७६ ०९:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT