१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

२५ घरपरिवार पहिरोको जोखिममा

माथि डरलाग्दो पहिरो, तल भोटेकोसी नदी उर्लिंदा यहाँका २५ परिवारलाई रात–दिन त्रासले सताउने गर्छ । चौकीडाँडाछेउकै ५ घर दिउँसै पहिरोले बगाएपछि यहाँका स्थानीय त्रसित छन् ।
अनिश तिवारी

सिन्धुपाल्चोक — पहिरोको ढिस्कोमा थोत्रो जस्तापाता हटाउँदै भाँडाकुँडा खोजिरहेका भोटेकोसी गाउँपालिकाको कोदारी चौकीडाँडाकी मुकुजा तामाङ आत्तिएकी देखिन्थिन् । अविरल वर्षात्ले बिहीबार दिउँसोबाट सीमाक्षेत्र चौकीडाँडाको माथिल्लो भूभाग विस्तारै बग्न थालेपछि उनको परिवारको सातो गएको छ । 

२५ घरपरिवार पहिरोको जोखिममा

‘बल्लतल्ल ऋण काढेर बनाएको टहरा पनि पहिरोले पूरा बगायो, दैवले यसरी ठगेपछि के गर्नु हजुर,’ तामाङले रुँदै भनिन् । भासिँदै आएको माथिल्लो भूभागको पहिरोले बस्ती छोप्न थालेपछि डर लागेको उनले सुनाइन् ।


माथि डरलाग्दो पहिरो, तल भोटेकोसी नदी उर्लिएको सुन्दा यहाँका २५ परिवारलाई रात–दिन त्रासले सताउने गर्छ । चौकीडाँडाछेउकै ५ घर दिउँसो नै पहिरोले बगाएपछि ढुक्क हुन नसकेको तल्लो चौकीडाँडा टोलका नवराज घतानीले दुखेसो गरे । ‘हामीलाई वर्षैपिच्छै अनेक विपत्तिले खेदिरहेको छ, जहाँ गए पनि आपत् मात्रै आइलाग्छ,’ उनले भने ।


भूकम्पले एकै झड्कामा पुर्ख्यौली घर भत्काएपछि पालमा गुजारा गरिरहेका यहाँका स्थानीयलाई ०७३ मा भोटेकोसी बाढीले कटान पारेर लेखेट्यो । आफ्नो भएको जमिन बाढीले बगाएपछि अलपत्र परेका पीडित परिवार चौकीडाँडाको जग्गामा आश्रय लिएर बस्दै आएका थिए । ‘यहाँ पनि पहिरोले बस्न नदिने भयो, कहाँ जाने ?’ उनले भने ।


सीमाक्षेत्र तातोपानी क्षेत्रको अधिकांश गाउँभर पहिरोले समस्या ल्याएपछि सुरक्षा र उद्धार गर्नका लागि तयारी लिइरहेको सीमास्थित सुरक्षाकर्मीले जनाएका छन् । पहिरो हेर्दै तल्लो बस्तीमा आश्रय लिएर बसिरहेका ५ परिवार छिमेकीको घरमा पनि असुरक्षित भएको महसुस गर्छन् ।


माथिल्लो भागबाट बस्तीलाई पहिरोले छोप्दै ल्याएपछि चौकीडाँडाबासी बिचल्लीमा परेको त्यहाँका जनप्रतिनिधिले बताएका छन् । विस्थापितलाई सुरक्षित स्थानमा लगिए पनि सम्पूर्ण सुविधाको व्यवस्था गर्न नसकेको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए । ‘गाउँपालिका क्षेत्रभरको तथ्यांक संकलन गर्दै यही अभियानलाई अगाडि बढाएका छौं तर उनीहरूले चाहेजस्तो समाधान हुन सकेको छैन,’ उनले भने ।


तत्कालै केही सहयोगको व्यवस्था गरिए पनि विस्थापित परिवारका लागि आवश्यक सुविधा जुटाउन गाउँपालिकाको बजेट पर्याप्त नभएको उनको भनाइ छ । ‘यसका लागि प्रदेश, केन्द्रीय सरकारले पनि चासो दिन जरुरी छ,’ उनले भने ।


विस्थापितलाई सुरक्षित स्थानमा सार्दै लालपुर्जाको प्रक्रिया भइरहेको भए पनि केही स्थानमा अन्योलता बनेको जिल्ला आयोजना कार्यान्वयन एकाई (अनुदान तथा पूर्वाधार) ले जनाएको छ । ‘आवश्यक पहलकदमी लिएर पुनर्निर्माणलाई गति दिइरहेका छौं, कतिपय स्थानमा भने यस्ता समस्या भने अझै देखिएका छन्,’ जिल्ला आयोजना कार्यान्वयन एकाई (अनुदान तथा पूर्वाधार) का सुजन केसीले भने । जिल्लाभरका नौ सय १३ जना विस्थापित रहेको र दुई सय ३२ परिवारका लागि विभिन्न स्थानमा जग्गा खरिद प्रक्रिया भइसकेको उनले प्रस्ट्याए ।

प्रकाशित : भाद्र २८, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?