कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

क्रसर सञ्चालन गर्न स्थानीय तह एकमत

हेटौंडा — मकवानपुरका स्थानीय तहका जनप्रतिनिधिहरूले क्रसर सञ्चालन गर्न एक मत देखिएका छन् । जिल्ला समन्वय समिति मकवानपुरमा बुधबार बसेको समन्वय बैठकमा उनीहरूले क्रसर सञ्चालन नहुँदा विकास निर्माणका काममा असर परेकाले नियमसंगत ढंगले क्रसर सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।

बैठकमा सहभागी स्थानीय तहका प्रमुखहरूले समृद्धिको कुरा विकाससँग जोडिएको हुनाले विकास निर्माणमा असर पर्ने खालका क्रियाकपाल हुन नहुने बताएका हुन् ।


स्थानीय तहको मुख्य राजस्वको स्रोतसमेत नदीजन्य तथा खानीजन्य पदार्थ भएकाले यसको व्यवस्थित प्रयोग गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् । प्राकृतिक स्रोतहरूको संरक्षण गर्दै भरपुर उपयोग गर्न पाउनुपर्ने बताएका छन् । विभिन्न बहानामा प्राकृतिक स्रोतसाधनको उपयोग गर्न नपाउँदा विकास निर्माणदेखि राजस्व संकलनमा समेत असर परेका विचार व्यक्त गरेका छन् । बैठकमा नेपाल सरकारका तर्फबाट विभिन्न समयमा भएका निर्णयको कार्यान्वयन नहुँदा क्रसर उद्योगहरू अस्तव्यस्त अवस्थामा सञ्चालन भएको विषयमा समेत छलफल भएको थियो ।


उनीहरूले सरकारको निर्णय कार्यान्वयनमा ध्यान दिनसमेत आग्रह गरेका छन् । जनप्रतिनिधिहरूले सरकारका निर्णयको कार्यान्वयनलाई ध्यान दिएर व्यवस्थित रूपमा नदी तथा खानीजन्य पदार्थको प्रयोग गर्ने हो भने कुनै पनि समस्या नआउने बताएका

छन् । बैठकमा प्रदेश—३ का सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिका पदाधिकारीको समेत सहभागिता रहेको थियो ।


उपसमितिले स्थानीय तहहरूमा राजस्व संकलनमा आएका कठिनाइ तथा परेका समस्याबारे छलफल भएको थियो । उपसमितिले राजस्व उठ्न नसक्नुको कारण तथा नदीजन्य पदार्थको उत्खनन, व्यवस्थापन तथा राजस्व बाँडफाँटका विषयमा छलफल गरेका थिए । स्थानीय तहले राजस्व बाँडफाँटको बैठकमा स्थानीय तहका प्रमुखहरूले नदी तथा खानीजन्य पदार्थको दर र दायरा प्रदेश सरकारले तोक्ने तथा स्थानीय तहले राजस्व संकलन गर्ने भएकाले यसको उपर्युक्त व्यवस्थापन हुनुपर्ने बताएका थिए ।


बैठकमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले प्राकृतिक स्रोतको उत्खनन्मा हैन संरक्षण पनि गर्नुपर्ने बताएका थिए ।


‘प्राकृतिक स्रोतको संरक्षण, उपयोग र प्रयोगका विषयमा स्थानीय तहहरूले विशेष ध्यान दिनुपर्छ,’ उनले भने । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालको अध्यक्षतामा बसेको बैठकमा प्रदेशको लेखा समितिका सभापति न्हुच्छेनारायण श्रेष्ठ, लेखा समितिअन्तर्गतको उपसमितिका संयोजक रत्न ढकाल, सदस्यहरू दीपक निरौला, सन्तबहादुर चेपाङलगायत मकवानपुरका १० वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत राजस्वका कर्मचारीको सहभागिता थियो ।

प्रकाशित : भाद्र २८, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?