भूमिगत तार बिछ्याउन कम गहिराइको खाल्डो

चितवन — भरतपुर विमानस्थलको दक्षिण–पूर्वी क्षेत्रमा बिजुलीको तार भूमिगत गराउनका लागि कम गहिराइको खाल्टो खनेपछि स्थानीयहरू विरोधमा छन् ।

जहाजको उडान र अवतरणलाई सहज बनाउन भन्दै रन वे आडको तार भूमिगत गराउने काम सुरु भएको हो । नेपाल विद्युत् प्राधिकरण भरतपुर शाखाले दुई फिट गहिरो खाल्डो खनेर भूमिगत तार बिछ्याउने भने पनि त्यसअनुसारको खाल्डो खनेको देखिँदैन ।

स्थानीयका अनुसार भूमिगत तार राख्न खनेको खाल्डो एक फिटभन्दा पनि कम छ । ‘जो जसको घर अगाडिबाट तार लगिँदै छ, उहाँहरूले गुनासो गर्नुभयो । कम गहिरो खाल्डोमा तार राख्दा पछि समस्याहरू आउन सक्ने बताउनुभयो । मैले पनि गएर हेरेँ । खाल्डो दुई फिट त छँदै छैन । खाल्डो खन्नेले अब यत्ति नै खनेर तार राख्ने बताएको थियो,’ युनिक टोल विकास संस्थाका अध्यक्ष श्याम गिरीले भने । नेपाल विद्युत् प्राधिकरण भरतपुर शाखाका प्रमुख सुरेशकुमार महतो तार भूमिगत गर्नका लागि दुई फिट खाल्डो खन्नुपर्ने बताउँछन् ।


‘हामीले त्यति नै गहिरो खाल्डो खन्न भनेका छौं । त्योभन्दा कम खने तार राख्न दिइने छैन,’ प्रमुख महतोले भने । विशेष खालको पाइपभित्र राखेर तारलाई खाल्डोमा पुरिने छ । तर स्थानीयहरूले खाल्डो थप गहिरो नबनाई जेजति खनेको हो त्यसैमा तार राख्ने तयारी सुरु भएको गुनासो गरेका छन् ।


तार भूमिगत गराउने काममा ४३ लाख रुपैयाँ खर्च हुने महतोले जानकारी दिए । ‘तीन सय मिटर लम्बाइमा तार भूमिगत गराउँदै छौं । अहिले थ्रिफेज लाइन भूमिगत हुन्छ । पछि अरू पनि लाइन भूमिगत गराउने छौं ।

प्रकाशित : भाद्र २८, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?