चितवन मेडिकल कलेज आन्दोलन : गिरफ्तार विद्यार्थी सबै रिहा

रमेशकुमार पौडेल

चितवन — चिकित्सा शिक्षामा सरकारले तोकेको भन्दा बढी शुल्क लिएको विरोधसहित १३ बुँदे माग राखेर चितवन मेडिकल कलेजविरुद्ध आन्दोलनमा उत्रदा पक्राउ परेका १५ जना विद्यार्थी रिह भएका छन् ।

चितवन मेडिकल कलेज आन्दोलन : गिरफ्तार विद्यार्थी सबै रिहा

मेडिकल कलेजको शिक्षण अस्पताल अगाडी भएको धर्ना र प्रदर्शनबाट प्रहरीले बुधबार बिहान उनीहरुलई गिरफ्तार गरेको थियो । कलेज प्रशासनको रोहबरमा उनीहरु सबैलाई मध्यरातमा हिरासत मुक्ता गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले जानकारी दिए ।


‘सवै हिजो मध्यरातमा रिहा भए । आज वार्ता हुने कुरा छ’ एसपी मल्लले भने । पक्राउ पर्नेमा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्दका छोरा प्रकाश पनि थिए । उनी चितवन मेडिकल कलेज (सिएमसी)बाटै एमबीबीएसको पढाइ पूरा गरेर मेडिकल काउन्सिलको परीक्षा दिनुअघि सिएमसीको शिक्षण अस्पतालमा नै इन्टर्नसिपमा कार्यरत छन् ।


प्रकाशको अगुवाईमा १० दिनदेखि चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालको गेट अगाडी दिनहुँ प्रदर्शन हुँदै आएको छ ।


विद्यार्थीले माग राखेर मूल गेट अगाडी विरोध प्रदर्शन गर्दै आए पनि बुधबार अस्पताल प्रशासन भित्रै छिर्ने तयारी गरेका कारण उनीहरुलाई नियन्त्रणमा लिनु परेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ले बताए ।


प्रकाश चन्दसहित १५ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । विद्यार्थी पक्राउ परे पनि अस्पताल मुल गेट अगाडीको धर्ना र प्रदर्शन जारी नै रहेको छ ।


के–के छन् विद्यार्थीका मागहरु :

चिकित्सा शिक्षा संघर्ष समितिका नामबाट चितवन मेडिकल कलेजलाई बुझाएको मागपत्रमा ७ बुँदा डेन्टल साइन्सको हकमा र ६ वटा मुद्दा चिकित्सा शिक्षा अध्ययन सम्बन्धमा छन् ।


जसमध्ये पनि प्रमुख माग भनेको भर्ना शुल्क सरकारले तोके अनुरुप लिनु पर्ने र बढी लिएको शुल्क एक महिनाभित्र फिर्ता गर्नु पर्ने रहेको छ । छात्रवृतिमा पढ्न आउने विद्यार्थीलाई कुनै पनि शुल्क लिन नपाउने उनीहरुको माग छ ।


सरकारले एमबीबीएस अध्ययन गर्दा साढे ४२ लाख रुपैयाँसम्म लिन पाउने भनेको छ । ‘तर हामीसँग कलेजले योभन्दा धेरै नै लिने गरेको छ’ मेडिकल कलेज गेट अगाडी धर्नामा सहभागि हुँदै गरेका एमबीबीएस तेस्रो वर्षका विद्यार्थी रोविन साहले भने । विरोध प्रदर्शनमा सहभागि विद्यार्थीका अनुसार कलेजले तोकेको भन्दा १२ देखि २० लाख रुपैयाँसम्म बढी शुल्क लिने गरेको छ ।


तर कलेज प्रशासनले विद्यार्थीको यो आरोप अस्वीकार गरेको छ । कलेजका सञ्चालक डा.हरिश न्यौपाने शिक्षण शुल्कभन्दा केही बढी शुल्क आफुहरुले लिएको स्वीकार गर्दछन् । ‘साढे ४२ लाख रुपैयाँ भनेको शिक्षण शुल्क मात्रै हो । त्यो शुल्कमा हामीले बढी लिएका छैनौं । तर परीक्षा शुल्क लगायतका केही खर्चहरु जोडेर थप रकम भने लिएका छौं । जुन पारदर्शी छ’ डा.हरिशले भने ।


शिक्षण शुल्कभन्दा बढी लिने शुल्कको बारेमा सम्बन्धन दिने त्रिविलाई जानकारी गराएर पत्रपत्रिकाहरुमा सार्वजनिक सूचना नै निकालेको उनले बताए । ‘शिक्षण शुल्कभन्दा अरु के–के शुल्क कति लिने भनेर हामीले पत्रपत्रिकाहरुमा नै सार्वजनिक सूचना निकालेर जानकारी दिएका थियौं । हामीले साढे ४२ लाख रुपैयाँमा ६ लाख रुपैयाँसम्म बढी लिएका छौं’ डा.हरिशले जानकारी दिए ।


संसदीय समितिले बढी शुल्क लिएको भए फिर्ता गर्न भनेको र त्यो शुल्क आउँदो शैक्षिकसत्रमा मिलान गर्न तयार रहेको उनले बताए । त्यसै गरी शुल्कको विषयमा राष्ट्रिय सतर्कता केन्द्रले पनि अनुगमन र अध्ययन गरेको हुँदा केन्द्रको प्रतिवेदन र सिफारिस पनि आफूहरुले मान्ने उनले बताए । ‘सरकारले जे निर्देशन दिन्छ त्यो मान्न हामी तयार नै छौं । यो आन्दोलन किन भइरहेको छ मलाई अचम्म लागेको छ’ डा.हरिशले भने ।


मेडिकल कलेजको प्रशासनले बुधबार नै विज्ञप्ति निकालेर विद्यार्थीले राखेका धेरै मागहरु सरकार र अन्य निकायहरुसँग सम्बन्धित रहेको बताएको छ । अस्पताल र कलेज प्रशासनसँग सम्बन्धित मागहरु वार्ता र छलफलबाट पूरा गर्न अस्प्ताल प्रशासन तयार रहेको विज्ञप्तिमा उल्लेख छ । आन्दोलन गरेर अस्पतालको सेवा प्रवाहमा बाधा हाल्ने, सञ्चालकहरुलाई धम्की दिने जस्ता गैर जिम्मेवार र गैर कानुनी काम भएको अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित : भाद्र २६, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?