विकास निर्माणले मासिँदै चौतारी

प्रमिता ढकाल

(भरतपुर) — सडक विस्तार तथा विकास निर्माणको नाममा प्रतीक्षालय बनाउने क्रम बढेसँगै वरपीपलको चौतारी मासिँदै गएका छन् । पछिल्लो समय सडक, बिजुली, ढल, घर निर्माणको क्रम बढेसँगै चौताराहरू भत्काइने क्रम तीव्र भएको छ । चौतारा संरक्षण र विस्तारमा कमैको चासो देखिने गरेको छ ।

भरतपुर १० का ७० वर्षीय होमनाथ पौडेल चौतारा मासिँदै गएको देख्दा खिन्न छन् । ‘रुखबिरुवा मासेर घर अनि सहर त बढेकै थियो,’ उनले भने, ‘अब त चौतारा पनि बाँकी नरहने भयो ।’ भरतपुर १० वीरेन्द्र क्याम्पस चोकको एउटा कुनामा सीमित चौतारामा सुस्ताउँदै गर्दा भेटिएका पौडेलले सो चौतारासँग जोडिएको आफ्नो जीवनकथा सुनाउन चाहे ।


‘कति पर्व, कति अनसन, कति आन्दोलन यही चौतारामा गरियो,’ उनले भने, ‘इतिहासका साक्षी पो हुन् त चौताराहरू ।’ क्यान्सरले थलिएका साहित्यकार पौडेलका अनुसार पछिल्लो १० वर्षयता भरतपुरको राजमार्गसहितका क्षेत्रमा मात्रै करिब ५४ वटा चौतारा काटिए ।


४ वर्षअघि चौबिसकोठीदेखि लायन्स चोकसम्म सडक विस्तारको काम हुँदा क्याम्पस गेटमा रहेका दुई चौताराका चारवटा वरपीपलका रुखहरू सजिलै काटिएका थिए सांस्कृतिक सम्पदा संरक्षणका लागि ०१३ मा बनेको ऐन र पछिल्लो पटक ०७३ पुस ६ मा सर्वोच्चले परमादेश नै जारी गरी वरपीपल संरक्षण गर्नुपर्ने निर्देश गरेको छ । सर्वोच्च अदालतले बाटोको नाममा पर्यावरणीय विनाश नगर्नू भनी आदेश गरेको छ । तर पनि विकास निर्माणको नाममा चौतारा मास्न छोडिएको छैन ।


भरतपुर १० कै स्थानीय अनिता खनाललाई बिहानीपख चराचुरुंगीको चिरबिर नसुनेको वर्षौंजस्तो लाग्न थालेको छ । ‘घर अगाडि नै चौतारो थियो, साँझ–बिहान चराको चिरबिर सुनेर काम गर्दा दिन नै रमाइलो लाग्थ्यो,’ उनले सम्झिँदै भनिन्, ‘अहिले त चराचुरुंगीको आवाज सुन्न पनि रहर हुन थाल्यो ।’ चौतारा मासिँदा चराचुरुंगीको बासस्थान पनि मासिएका छन् । ठूला चौतारामा बास बस्ने चराचुरुंगी बासस्थान अभावकै कारण लोप हुने जोखिम बढेको छ ।


हाकिम चोककी ६८ वर्षीया लक्ष्मी अधिकारीले आफ्नै जीवनकालमा धेरै रुखबिरुवा मासिएको प्रत्यक्ष देखेको बताइन् । चौताराको महत्त्व अहिलेको पुस्तालाई थाहा नभएको उनको भनाइ छ । ‘हाम्रो पुस्तैनी घर पटिहानीमा थियो, यहाँ भर्खर घर बनाउँदै थियौं,’ उनले भनिन्, ‘३ घण्टा हिँडेर यहाँ आउँदा ३ ठाउँ बिसाउने चौतारी कहाँ भुल्याछु र ।’


यातायात असुविधा भएको समयमा बाटोमा भएका चौतारीमा थकाइ मार्न पाउँदाको आनन्द उनले स्मरण गरिन् । अहिले यातायात संख्या बढे पनि यात्रुले भोग्ने सास्ती कम भएको छैन । क्षमताभन्दा बढी यात्रु राख्ने, सकसपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । वरपीपललाई धार्मिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ । वरपीपलमा जल चढाए पुण्य कमाइन्छ भन्ने मान्यता छ ।


प्रत्येक शनिबार जल चढाउन नजिकको चौतारा जाने लक्ष्मीले अहिले घरमा गमलामा वरपीपल रापेकी छन । घर नजिकका चौतारा मासिएपछि उनले यो विकल्प रोजेकी हुन् । ‘पहिला त ३ घण्टा हिँड्दा पनि केही लाग्थेन तर अब बूढो शरीर थोरै हिँड्दा पनि घुँडा दुख्छ,’ उनले भनिन्, ‘चौतारा मासिए पनि धर्म मास्न भएन नि ।’


पहिले पहिले चौतारा निर्माण गर्ने, थाकेर सुस्ताउन आउने बटुवाका लागि दैनिक गाग्रीमा पानी राख्ने परम्परा थियो । अहिले बजार क्षेत्रमा प्रतीक्षालय (बस बिसौनी) निर्माण गरिएका हुन्छन् । बस बिसौनीमा खाने पानीको सुविधातर्फ भने कसैको ध्यान गएको पाइँदैन । कंक्रिटका बिसौनीलाई चौतारासँग तुलना गर्नै नसकिने लक्ष्मी बताउँछिन् ।


काम विशेषले बजार आएकी भरतपुर १६ की रामकुमारी ठकुरी पनि चौतारीमै भेटिइन् । चर्को घामले आत्तिएकी उनले सुस्ताउँदै भनिन्, ‘बसले ऊ पर चोकमा छोडिहाल्यो, यस्तो चर्को घाममा उभिनै सकिन, बजारमा त थकाइ मार्न पनि पैसा तिरेर होटलमा खाजा खान जानुपर्ने पो रै’च ।’


डेंगुको उपचारका लागि अस्पताल भर्ना गरिएका आफन्त भेट्न आएकी उनले थकाइ मार्न केहीबेर चौतारीमा बसेको बताइन् । पहिलेको तुलनामा धेरै चौतारा मासिएकोप्रति उनले चिन्ता व्यक्त गरिन् ।


प्रकाशित : भाद्र २५, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?