कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

नारायणी नदी किनारमा फोहोर फाल्न स्थानीयको अवरोध

रमेशकुमार पौडेल

(चितवन) — भरतपुर महानगरपालिकाले दैनिक ६५ टन फोहोर थुपार्दै आएको नारायणगढ बाह्रघरेको नगरवन नजिक नारायणी नदी किनारमा स्थानीयले अवरोध गरेका छन् । स्थानीयले महानगरमा फोहोर व्यवस्थापकसमक्ष सोमबार ११ बुँदे मागसहित १० दिने अल्टिमेटम दिइसकेका छन् ।

नारायणी नदी किनारमा फोहोर फाल्न स्थानीयको अवरोध

आफूहरूको माग पूरा नभए १० दिनपछि फोहोर फाल्न रोक्ने उनीहरूको चेतावनी छ । तर महानगर सकारात्मक नभएको भन्दै मंगलबारबाटै फोहोर फाल्न दिइएको छैन ।

‘हाम्रो मागका बारेमा महानगर पदाधिकारी सकारात्मक देखिनु भएन । मेयरले नै सक्ने भए भोलिबाटै रोक्नुस् भन्नुभयो । त्यसैका कारण हामीले फोहोर फाल्न दिएनौं,’ भरतपुर महानगर ल्यान्डफिल्ड साइट पीडित संघर्ष समिति, भरतपुर–३ नारायणी दोभानका संयोजक उत्तम श्रेष्ठले भने । स्थानीयले बिहान सबेरैदेखि पहरा दिन सुरु गरेको नारायणी दोभान टोलका अध्यक्ष सूर्य बरालले बताए ।

‘यहाँ बिहानै साढे चारदेखि पाँचै बजेबाट फोहोर फाल्न सुरु हुन्थ्यो । फोहोर बोकेका ट्याक्टरहरू आउन सुरु गर्दथे । स्थानीय टोलबासीले बिहानैदेखि पहरा दिएका कारण फोहोर बोकेका ट्याक्टरहरू यस क्षेत्रमा आउन सकेका छैनन्,’ टोल विकास समितिका अध्यक्ष बरालले भने । संघर्ष समितिका संयोजक उत्तम श्रेष्ठले स्थानीयले दिउँसो र राति पनि त्यस क्षेत्रमा पहरा दिने बताए ।

‘महानगरको २९ वटै वडाको फोहोर ल्याएर यहाँ थुपारेर हामीले दुर्गन्ध मात्रै बेहोर्नुपर्‍यो । स्थानीयका समस्याको सुनुवाइ गर्न महानगर तयार नभएपछि बाध्य भएर यो कदम उठाएको हो,’ संयोजक श्रेष्ठले भने । भरतपुर महानगरमा स्थायी ल्यान्डफिल्ड साइट छैन । वर्षौंअघि महानगरको पूर्वतर्फ रहेको सामुदायिक वन क्षेत्रमा फोहोर लगेर फ्याँक्ने र पुर्ने गरिन्थ्यो ।

वनमा फोहोर फाल्दा स्थानीयको विरोध बढ्दै गयो । त्यसैगरी, हेटौंडाको तत्कालीन पुनरावेदन अदालतले पनि वन क्षेत्रमा फोहोर फाल्न रोक लगायो । त्यसपछि झन्डै १२ वर्षयता भरतपुर महानगरको बजार क्षेत्रको फोहोर नारायणगढ बजारदेखि पश्चिम नारायणी नदी किनारमा थुपार्ने र पुर्ने गरिन्छ । महानगरको वातावरण शाखाका प्रमुख विराट घिमिरे अहिले दैनिक ६० देखि ६५ टन फोहोर संकलन हुने गरेको बताउँछन् ।

वर्षायामपछि नदीको पानी सुकेपछि बस्तीदेखि झन्डै तीन/चार किलो मिटर पर नगर वनभित्र मजुवामा लगेर फोहोर थुपार्ने र पुर्ने काम हुन्छ । ‘तर पानी बढेका बेलामा गाडीहरू मजुवासम्म पुग्न सक्दैनन् । नदी किनारमै थुपार्ने र पुर्नुपर्ने बाध्यता छ,’ घिमिरेले भने । बस्ती नजिक नै फोहोर थुप्रेपछि स्थानीयको विरोध बढेको हो । कात्तिकसम्म बस्ती आडमा फोहोर राख्नुपर्ने बाध्यता रहेको छ ।

‘नारायणगढ बजारदेखि नजिकै भए पनि हाम्रो टोल क्षेत्र निकै विकट ठाउँजस्तो छ । यहाँ पूर्वाधार निर्माणका कामहरू हुँदैनन्भन्दा पनि हुन्छ । तर महानगरभरिकै फोहोरको दुर्गन्ध हामीले सहनुपर्ने किन,’ संघर्ष समितिका संयोजक श्रेष्ठले प्रश्न गरे । भरतपुर महानगरपालिकालाई स्थायी ल्यान्डफिल्ड साइट बनाउन सरकारले भरतपुरदेखि उत्तर–पूर्वमा पर्ने सामुदायिक वनमा जग्गा पनि उपलब्ध गराएको छ ।

सरकारले जग्गा दिएको १० वर्ष भए पनि निर्माणको काम सुरु भएको छैन । वातावरण शाखा प्रमुख घिमिरेका अनुसार ल्यान्डफिल्ड साइट निर्माणका लागि महानगर र कोरियन कम्पनीबीच विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्ने सम्झौता भएको छ । डीपीआर बन्न नै अझै कम्तीमा एक वर्ष लाग्ने छ । त्यसपछि बल्ल स्थायी ल्यान्डफिल्ड साइट निर्माणको काम सुरु हुने घिमिरेले जानकारी दिए ।

त्यसैले महानगरसँग फोहोर विर्सजन गर्न तत्कालै कुनै भरपर्दो विकल्प छैन । ‘जहाँ फोहोर फालिएको थियो उहाँहरूको जायज माग हामीले विगतमा पनि पूरा गर्‍यौँ, अब पनि गर्ने नै छौं । तर उहाँहरू हामीले नसक्ने नमिल्ने मागहरू पनि लिएर आउनुहुन्छ, अनि कुरा मिल्दैन,’ घिमिरेले भने । महानगरले मंगलबार पनि फोहोर फाल्न नछाडेको उनले बताए । तर सधैं फाल्ने गरेको भन्दा एक किलोमिटर वरै नदी किनारमा नै फोहोर फालेर पुरेको घिमिरले जानकारी दिए ।

प्रकाशित : भाद्र २५, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?