१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बासस्थान अभावका कारण अति दुलर्भ रेडपान्डा सडकमै भौंतारिन थाल्यो

राजेन्द्र मानन्धर

(दोलखा) — विश्वकै अति दुर्लभ र संरक्षित जनावर रेडपाण्डा सडक बनाउँदै गर्दा डोजरकै अघिअघि कुद्यो । 
उक्त दृश्य डोजर अप्रेटर पासाङ शेर्पाले सामाजिक सञ्जालमा पोस्ट गरेपछि गौरीशंकर संरक्षण क्षेत्रभित्र हल्लिखल्ली मच्चियो ।

बासस्थान अभावका कारण अति दुलर्भ रेडपान्डा सडकमै भौंतारिन थाल्यो

रेडपाण्डा अचाक्ली बढ्दै गएको हो वा बासस्थान अतिक्रमणको चपेटाले हो भन्ने द्विविधामा संरक्षण क्षेत्रका अधिकारी परे । नेपाल, भारत, भुटानमा एक हजार जति रेडपाण्डा भएको अनुमान छ । तीमध्ये नौ वर्षअघि गरिएको सर्भेक्षणले ३० देखि ४० को हाराहारीमा गौरीशंकर संरक्षण क्षेत्रको मार्वु र चंखुमा भएको देखिएको हो । यो जनावर २५ सयदेखि ४८ सय मिटरसम्म पाइएको तथ्यांक छ ।

मार्वुमा जलविद्युत् आयोजना सञ्चालनका लागि सडक निर्माण भइरहेको छ । उक्त क्षेत्रमा रेडपाण्डा हिँडिरहेको दृश्यसहित केही समयअघि भिडियो नै खिचिएको लाक्पा शेर्पा बताउँछन् । संरक्षण क्षेत्र व्यवस्थापन समिति सचिवसमेत रहेका लाक्पाका अनुसार रेडपाण्डालाई असर परेको छ । ‘रेडपाण्डा अचेल मेसिनको आवाज र मानिससँग घुलमिल हुन थालिसके,’ उनले भने ।

संरक्षण क्षेत्र घोषणा भएपछि जंगली जनवारहरूको वृद्धिसँगै रेडपाण्डा पनि बढेको अनुमान उनको छ । ‘उक्त क्षेत्रमा सय जतिको हाराहारीमा रेडपाण्डा भएको हुन सक्छ,’ सचिव लाक्पाले भने । संरक्षण प्रमुख सत्यनारायण साहले रेडपाण्डाको बासस्थान क्षेत्र सडक विस्तार र हाइड्रो पावरले हडप्दै गएकोले खतरा पनि बढ्दै गएको बताए । हाल उक्त क्षेत्रमा तीनवटा जलविद्युत् आयोजना सञ्चालित छन् ।

संरक्षण क्षेत्रले असोज ४ मा ‘रेडपाण्डा जोन’ घोषणा गर्दै छ । उक्त क्षेत्रमा रेडपाण्डाको बासस्थान जोगाउन अभियान पनि चलाउने उनले बताए । सडक र जलविद्युत् निर्माणस्थलमा रेडपाण्डा देखिन थालेको जानकारी आएपछि बासको सुरक्षा कार्यक्रम लागू गर्न लागेको उनले जनाए । एक कार्यक्रममा संघीय सांसद पार्वत गुरुङले रेडपाण्डाको ऊर्वर क्षेत्र भएकाले मार्व र चंखुमा प्रजनन् केन्द्र बनाउन सुझाएका थिए ।

रेडपाण्डा बाँस र निगाला घारी रुचाउँछ । उक्त जनावरले निगालाका कलिला मुनाहरू बढी खान रुचाउँछ । त्यसैले बाँस र निगाला रोप्ने कार्यक्रम व्यापक बनाइने संरक्षण प्रमुख साहले बताए । जलुविद्युत् आयोजना र सडक निर्माणलाई रोक्न सकिँदैन तर जलविद्युत् आयोजनाहरूले पर्यावरण जोगाउन लगानी र भूमिका खेल्न सक्ने उनी बताउँछन् ।

रेडपाण्डा लजालु, शान्त र भाग्न नसक्ने खालको हुन्छ । त्यसैले उक्त प्रजातिको जीवनचक्र जोखिममा पर्दै गएको छ । जोखिम अवस्थाबाट जोगाउन राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण ऐनअनुसार उक्त जनवार चोरी सिकारी गरेमा पाँचदेखि १५ वर्षसम्म कैदको व्यवस्था छ । कडा कानुन भए पनि गतवर्ष उक्त क्षेत्रबाट रेडपाण्डा ओसारपसार गरेको अभियोगमा चंखुका छोटी शेर्पालाई जिल्ला वन कार्यालयले मुद्दा चलाएको थियो । वन्यजन्तु अन्तर्राष्ट्रिय व्यापार महासन्धिअनुसार उक्त जनावर बेचबिखन र ओसारपसार गर्न बन्देज लगाइएको छ ।

प्रकाशित : भाद्र २५, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?