१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्रदेशसभा बैठक– 'दलगत विवादले सदन अकर्मण्य’

सुवास बिडारी

मकवानपुर — प्रदेशको स्थायी राजधानी र नामकरण विषयलाई टुंगो लगाउन नसकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको आलोचना गरेको छ ।

प्रदेशसभा बैठक– 'दलगत विवादले सदन अकर्मण्य’

सोमबार सुरु वर्षे अधिवेशनको चौथो बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकार गठन भएको दुई वर्ष अवधि बित्नलाग्दा समेत प्रदेशको न्वारानसमेत गर्न नसकेकामा नेकपा नेतृत्व सरकारको आलोचना गरेका हुन् ।


सत्ताको नेतृत्व गरिरहेको दुई तिहाइ सरकारले जनताको काम गर्न नसकेको कुरा सबैमा जानकारी नै छ । तर, सदनको अधिकारका रूपमा रहेको प्रदेशको नामकरण र राजधानीको विषयलाई समेत टुंग्याउन सकेको छैन । बानियाँले हरेक पार्टीभित्र विवाद भए पनि त्यसको असर सदनमा पर्न नहुने र नेकपाभित्रको विवादका कारण प्रदेशले स्थायी राजधानी र नामकरण नपाएको दाबी गरे ।


‘पार्टीभित्र विवादका कारण मुख्यमन्त्री र सभामुखले बोलिसकेको विषयलाई रोक्नु हुँदैन । अब प्रदेशको स्थायी राजधानीको विषय टुंग्याएर अगाडि बढ्नुको विकल्प छैन,’ बानियाँले भने । उनले प्रदेश सरकार असाध्यै सुस्त गतिमा अगाडि बढेको भन्दै जनताको जनजीविकाको सवालमा काम गर्न सुझावसमेत दिए ।


कांग्रेसले प्रदेशका बाढीपीडितलाई प्रदेश सरकारले घोषणा गरेको राहत अझैसम्म पुर्‍याउन नसकेको आरोप लगाएको छ । ‘बाढी पहिरोभन्दा पनि बढी मकवानपुर जिल्लामा चट्याङबाट मृत्यु हुनेको संख्या डर लाग्दो छ । यसलाई न्यूनीकरण गर्ने प्रयास थाल्न प्रदेश सरकारको ध्यानाकर्षण गराउँछु,’ कांग्रेस नेता बानियाँले भने । उनले कृषिमा अनुदान वितरण गर्दा वास्तविक किसानले नपाएको गुनासो व्यापक आएको बताउँदै अनुदान ठूलालाई नभएर वास्तविक किसानसमक्ष पुर्‍याउन आग्रहसमेत गरे ।


'डेंगु’ सार्वजनिक महत्त्व प्रस्ताव

प्रदेश ३ का १२ जिल्लामा फैलिएको डेंगु संक्रमण नियन्त्रण गर्न प्रदेशसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरिएको छ । प्रदेशसभा बैठकमा मुख्य सचेतक रामेश्वर फुँयालले दर्ता गराएका प्रस्तावमा सचेतक राधा घले तथा सांसद कञ्चन खनालले समर्थन गरेकी थिइन् ।


जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि डेढ दर्जन सांसदहरूले आफ्नो भनाइ राख्दै डेंगु नियन्त्रण गर्न प्रदेश सरकारले प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाएका थिए ।


सत्तापक्ष नेकपा, प्रतिपक्षी कांग्रेस, विवेकशील, नेपाल मजदुर किसान पार्टी, राप्रपा, राप्रपा संयुक्तका सांसद्हरूले प्रदेश सरकारले एकै दिन प्रदेशभर अभियानको घोषणा गरेर अगाडि बढ्न सुझाए । उनीहरूले डेंगुबारे सचेतना जगाउन प्रदेश सरकारले खास कदम नचालको भन्दै आलोचना गरेका थिए ।


हालसम्म प्रदेशको १३ जिल्लामध्ये रसुवाबाहेक सबै जिल्लामा डेंगु संक्रमण देखिसकेको छ । हालसम्म प्रदेशमा करिब दुई हजार १० जनामा संक्रमण भेटिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


प्रदेशमा सबैभन्दा बढी चितवनमा एक हजार ३६, मकवानपुरमा ६ सय २४, काठमाडौंमा दुई सय ५४, भक्तपुर ३३, ललितपुरमा ३२, धादिङ १८, काभ्रेमा चार, सिन्धुपाल्चोक, रामेछाप, दोलखामा २/२, सिन्धुली र नुवकोट १/१ जनामा डेंगु भेटिएको सरकारी तथ्यांक रहेको छ ।


प्रदेश सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै सामाजिक विकास मन्त्री युवराज दुलालले डेंगु नियन्त्रणका लागि काम गरिरहेको भए पनि नतिजा भने नदेखिएको बताए । स्थानीय तहसँग सहकार्य गरेर हामीले अभियान सञ्चालन गरिरहेको बताउँदै संक्रमितको संख्या धेरै देखिए पनि बढ्ने दरमा भने कमी आएको जनाए । उनले डेंगु नियन्त्रणका लागि थप अभियान गर्न प्रदेश सरकार तयार रहेको दाबीसमेत गरे ।


दुइटा प्रतिवेदन पेस

प्रदेशसभाको बैठकमा दुइटा प्रतिवेदन दर्ता भएका छन् । बैठकमा प्रदेशसभा सचिवालयअन्तर्गत प्रदेश मामिला समितिले दफाबार छलफलपश्चात् टुंग्याएको प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य, अधिकार र कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा मुख्य न्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष ०७५/७६ को प्रतिवेदन प्रदेशसभामा पेस भएका छन् ।


प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य, अधिकार र कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरेका थिए भने मुख्यमन्त्री डोरमणि पौडेलले मुख्य न्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष ०७५/७६ को प्रतिवेदन प्रदेशसभामा पेस गरेका थिए ।


यसैगरी प्रदेशकी प्रदेश प्रमुख अनुराधा कोइरालाले दुइटा संशोधित विधेयक प्रमाणीकरण गरेकी छन् । सोमबारको प्रदेशसभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै दुइटा विधेयक प्रमाणीकरण भएको जानकारी गराएका थिए ।


प्रदेशसभा सचिवालय ऐन २०७५ संशोधन गर्न बनेको विधेयक तथा प्रदेश सवारी तथा यातायात ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश प्रमुख कोइरालाले प्रमाणीकरण गरेकी हुन् ।

प्रकाशित : भाद्र २४, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?