४९ हजार बाँसका मुढा निर्यात

बलराम घिमिरे

रसुवा — रसुवागढी नाका हुँदै तिब्बततर्फ बाँसबाट बनेको मुढा निर्यातमा बर्सेनि वृद्धि हुँदै गएको छ । वर्ष ०७५/७६ मा ४९ हजार ४ सय ५१ वटा बाँसका मुढा तिब्बततर्फ निर्यात भएको छ ।

४९ हजार बाँसका मुढा निर्यात

प्लान्ट क्वारेन्टाइन चेक पोस्ट टिमुरेका वरिष्ठ बाली संरक्षण अधिकृत तथा कार्यालय प्रमुख कुलदीप घिमिरेका अनुसार १ करोड २३ लाख ६२ हजार सात सय ५० रुपैयाँ मूल्य बराबरको मुढा निर्यात भएको छ । ‘तिब्ततमा बाँसबाट बनेका मुढाको माग बर्सेनि बढ्दै गएको छ,’ उनले भने ।

वर्ष ०७३/७४ मा ३० हजार ५ सय ५० गोटा मुढा रसुवागढी नाका हुँदै चीनतर्फ निर्यात भएको प्लान्ट क्वारेन्टाइन चेक पोस्ट टिमुरेसँग तथ्यांक रहेको छ । तर आर्थिक वर्ष ०७४/७५ मा कति गोटा मुढा निर्यात भयो भन्ने तथ्यांक नभएको कार्यालयले जनाएको छ ।

नेपालको विभिन्न कारागारमा कैदीहरूले उत्पादन गरेको मुढा संकलन गरेर चीनतर्फ निर्यात गरिएको व्यापारी मुकुन्द पौडेलले बताए । ‘धेरैजसो बाँसको मुडा केन्द्रीय कारागार काठमाडौं, सुनसरीको झुम्का कारागार र धादिङ कारागारबाट संकलन भइरहेको छ,’ उनले भने । बाँसबाट बनेको मुढाको माग तिब्बतमा उच्च रहेको छ । ल्होसार पर्वको समयमा यसको माग धेरै हुने गरेको छ । नेपालमा उत्पादन भएको मुढा तिब्बतको मुख्य सहरहरू ल्हासा, सिगात्से, न्यालम र धिङ्ग्रीसम्म पुग्ने गरेको छ ।

बाँसका मुढा सस्तो र बलियो हुने भएकाले तिब्बतमा यसको माग बर्सेनि बढ्दै गएको व्यापारीहरू बताउँछन् । मुढा प्रतिगोटा ५ सय ५० रुपैयाँमा बिक्री हुने गरेको छ । विषेश गरी चाड पर्वको बेलामा मुढाको माग धेरै हुने गरेको छ । चाड पर्वको बेलामा घरमा आउने पाहुनालाई तिब्बतीहरूले नेपाली हस्तकलाबाट बनेका सामग्रीहरू उपहार दिने गर्दछन् । पसलमा आउने ग्राहक बस्नको लागि पनि मुढा प्रयोग हुने गरेको छ ।

नाकाबाट वनजन्य सामग्रीहरू चीनतर्फ निर्यात बढ्दै गइरहेको प्लान्ट क्वारेन्टाइन चेक पोस्ट टिमुरेले बताएको छ । नाकाबाट बाँसको मुढा, काठको टेबल, नाङ्लो, बोधिचित्तको माला, धुपदानी र अम्रिसोको कुचोलगायतका बस्तु निर्यात भइरहेको छ । यो नाकाबाट चीनतर्फ अझै कृषिजन्य सामग्रीहरू निर्यात हुन सकेको छैन ।

प्रकाशित : भाद्र २४, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?