४९ हजार बाँसका मुढा निर्यात

बलराम घिमिरे

रसुवा — रसुवागढी नाका हुँदै तिब्बततर्फ बाँसबाट बनेको मुढा निर्यातमा बर्सेनि वृद्धि हुँदै गएको छ । वर्ष ०७५/७६ मा ४९ हजार ४ सय ५१ वटा बाँसका मुढा तिब्बततर्फ निर्यात भएको छ ।


प्लान्ट क्वारेन्टाइन चेक पोस्ट टिमुरेका वरिष्ठ बाली संरक्षण अधिकृत तथा कार्यालय प्रमुख कुलदीप घिमिरेका अनुसार १ करोड २३ लाख ६२ हजार सात सय ५० रुपैयाँ मूल्य बराबरको मुढा निर्यात भएको छ । ‘तिब्ततमा बाँसबाट बनेका मुढाको माग बर्सेनि बढ्दै गएको छ,’ उनले भने ।

वर्ष ०७३/७४ मा ३० हजार ५ सय ५० गोटा मुढा रसुवागढी नाका हुँदै चीनतर्फ निर्यात भएकोप्लान्ट क्वारेन्टाइन चेक पोस्ट टिमुरेसँग तथ्यांक रहेको छ । तर आर्थिक वर्ष ०७४/७५ मा कति गोटा मुढा निर्यात भयो भन्ने तथ्यांक नभएको कार्यालयले जनाएको छ ।

नेपालको विभिन्न कारागारमा कैदीहरूले उत्पादन गरेको मुढा संकलन गरेर चीनतर्फ निर्यात गरिएको व्यापारी मुकुन्द पौडेलले बताए । ‘धेरैजसो बाँसको मुडा केन्द्रीय कारागार काठमाडौं, सुनसरीको झुम्का कारागार र धादिङ कारागारबाट संकलन भइरहेको छ,’ उनले भने । बाँसबाट बनेको मुढाको माग तिब्बतमा उच्च रहेको छ । ल्होसार पर्वको समयमा यसको माग धेरै हुने गरेको छ । नेपालमा उत्पादन भएको मुढा तिब्बतको मुख्य सहरहरू ल्हासा, सिगात्से, न्यालम र धिङ्ग्रीसम्म पुग्ने गरेको छ ।

बाँसका मुढा सस्तो र बलियो हुने भएकाले तिब्बतमा यसको माग बर्सेनि बढ्दै गएको व्यापारीहरू बताउँछन् । मुढा प्रतिगोटा ५ सय ५० रुपैयाँमा बिक्री हुने गरेको छ । विषेश गरी चाड पर्वको बेलामा मुढाको माग धेरै हुने गरेको छ । चाड पर्वको बेलामा घरमा आउने पाहुनालाई तिब्बतीहरूले नेपाली हस्तकलाबाट बनेका सामग्रीहरू उपहार दिने गर्दछन् । पसलमा आउने ग्राहक बस्नको लागि पनि मुढा प्रयोग हुने गरेको छ ।

नाकाबाट वनजन्य सामग्रीहरू चीनतर्फ निर्यात बढ्दै गइरहेको प्लान्ट क्वारेन्टाइन चेक पोस्ट टिमुरेले बताएको छ । नाकाबाट बाँसको मुढा, काठको टेबल, नाङ्लो, बोधिचित्तको माला, धुपदानी र अम्रिसोको कुचोलगायतका बस्तु निर्यात भइरहेको छ । यो नाकाबाट चीनतर्फ अझै कृषिजन्य सामग्रीहरू निर्यात हुन सकेको छैन ।

प्रकाशित : भाद्र २४, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्

बागवानीमा दरबन्दी १६, कर्मचारी ६

प्रताप विष्ट

हेटौंडा — करिब ६० वर्षअघि स्थापना गरिएको शीतोष्ण बागवानी नर्सरी केन्द्र कर्मचारीविहीन अवस्थामा छ । बागवानीमा दरबन्दी १६ रहेकोमा हाल ६ जना कर्मचारी मात्रै कार्यरत छन् ।

थाहा नगरपालिका—४ दामनस्थित उक्त बागवानी फार्ममा ८ जना प्राविधिकको दरबन्दी छ । तर कार्यालय प्रमुखसहित २ जनामात्रै प्राविधिक कार्यरत छन । प्राविधिक अभावमा विभिन्न किसिमका कलमी र अनुसन्धान गर्न समस्या भएको कार्यालय प्रमुख कालिकाप्रसाद कोइरालाले बताए । ‘काम गर्न सकिने प्रशस्तै क्षेत्र छ तर प्राविधिकहरूको अभावले कठिनाइ छ,’उनले भने ।

प्रदेश मातहतमा रहेको उक्त फार्मलाई ०१९ मा बगैँचा र नर्सरीको रूपमा स्थापना गरिएको थियो । ०२५ मा शीतोष्ण बागवानी नर्सरी केन्द्रको रूपमा स्थापना गरिएको हो । मकवानपुर जिल्लाको सबैभन्दा उचो भूभागमा रहेको उक्त फार्म ७६ हेक्टर जमिनमा फैलिएको छ । फार्मले विभिन्न किसिमका बिरुवाहरू उत्पादन गरी बिक्री गर्ने गरेको छ । यो फार्मले कलमी गरेर बिरुवा उत्पादन गर्ने गर्छ । नास्पाती, किबी, स्याउ, आलु, कटुस, आलुवखेडा र ओखरका बिरुवाहरू बिक्री गर्छ ।

झट्ट हेर्दा फलफूल बगैँचा जस्तो देखिने उक्त केन्द्रमा आरु २ सय ९८ , नास्पाती ४ सय ३, स्याउ ४ सय ७६, हलुवावेद ५९, आरुबखडा २ सय ८६, ओखर १ हजार २ सय ४०, किबी, १ सय ६९ लगायतका फलफूलको बोटसहित ३ हजार ७ सय २५ रुखहरू रहेका छन् । यिनै रूखहरूमा कलमी गरेर बिरुवा उत्पादन गर्ने गरेको छ ।

फलफूल र विभिन्न जातका फूलहरूको गरी ३० हजार बिरुवा उक्त नर्सरी केन्द्रमा रहेका छन् । कलमीबाट उत्पादन भएका नर्सरी र फलफूल बिक्री गरेर फार्मले गत वर्ष १४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

बागवनी केन्द्रभित्र नास्पाती, स्याउलाई असिनाले असर गर्ने भन्दै माथिबाट जाली लगाइएको छ । पाखैभरि आल्चा, खुरवानी, किबी, ओखरका बोटहरू रहेका छन् । उक्त फार्ममा बाँदरले भने दुःख दिने गरेको छ । बीउका लागि उत्पादन गरेको आलु बाँदरले सखाप पार्ने गरेको छ भने कटुस र ओखर पनि खाइदिने गरेको छ । बाँदर लखट्न कुकुरहरू पालेका छन् । कुकुरलाई पनि बाँदरले टोकेर घाइते बनाइदिने गरेको छ ।

भूक्षयको कारणले गर्दा फार्मभित्रका विभिन्न भागमा पहिरो गएको छ । बजेटको अभावले गर्दा संरक्षण गर्न सकेको छैन । त्यति मात्र होइन, २०७२ सालमा गएको भूकम्पले फार्म अतिथि गृह र तालिम भवन र पालेघर क्षतिग्रस्त बनाएको छ । ‘रकमको अभावले अहिलेसम्म मर्मत सम्भार गर्न सकिएको छैन,’ कार्यालय प्रमुख कोइरालाले भने, ‘ कुनै पनि निकायको मर्मत सम्भारका लागि आँखा नै परेको छैन ।’ फलफूलको बिरुवा र बोट रहेको उक्त बागवनीमा व्यवस्थित रूपमा घेराबार नहुँदा घाँस दाउरा गर्न आउने स्थानीयवासी र गाईवस्तुले सताउने गरेको छ ।

हाल प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको उक्त केन्द्रमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले चासो व्यक्त गरेका छन् । उनी उक्त फार्मको अवलोकन गर्न १० दिनअघि दामन पुगेका थिए ।

मुख्यमन्त्री पौडेलले आवश्यक प्राविधिक कर्मचारीहरू तत्काल पठाउने र अतिथि गृह र तालिम भवनको मर्मत सम्भार गर्ने आश्वासन दिएका थिए । बागवानी केन्द्रलाई सुधारेर एक वर्षभित्र परिवर्तन गने दाबी गरेका छन् ।

प्रकाशित : भाद्र २४, २०७६ ०७:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्