३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

बागवानीमा दरबन्दी १६, कर्मचारी ६

प्रताप विष्ट

हेटौंडा — करिब ६० वर्षअघि स्थापना गरिएको शीतोष्ण बागवानी नर्सरी केन्द्र कर्मचारीविहीन अवस्थामा छ । बागवानीमा दरबन्दी १६ रहेकोमा हाल ६ जना कर्मचारी मात्रै कार्यरत छन् ।

बागवानीमा दरबन्दी १६, कर्मचारी ६

थाहा नगरपालिका—४ दामनस्थित उक्त बागवानी फार्ममा ८ जना प्राविधिकको दरबन्दी छ । तर कार्यालय प्रमुखसहित २ जनामात्रै प्राविधिक कार्यरत छन । प्राविधिक अभावमा विभिन्न किसिमका कलमी र अनुसन्धान गर्न समस्या भएको कार्यालय प्रमुख कालिकाप्रसाद कोइरालाले बताए । ‘काम गर्न सकिने प्रशस्तै क्षेत्र छ तर प्राविधिकहरूको अभावले कठिनाइ छ,’ उनले भने ।


प्रदेश मातहतमा रहेको उक्त फार्मलाई ०१९ मा बगैँचा र नर्सरीको रूपमा स्थापना गरिएको थियो । ०२५ मा शीतोष्ण बागवानी नर्सरी केन्द्रको रूपमा स्थापना गरिएको हो । मकवानपुर जिल्लाको सबैभन्दा उचो भूभागमा रहेको उक्त फार्म ७६ हेक्टर जमिनमा फैलिएको छ । फार्मले विभिन्न किसिमका बिरुवाहरू उत्पादन गरी बिक्री गर्ने गरेको छ । यो फार्मले कलमी गरेर बिरुवा उत्पादन गर्ने गर्छ । नास्पाती, किबी, स्याउ, आलु, कटुस, आलुवखेडा र ओखरका बिरुवाहरू बिक्री गर्छ ।


झट्ट हेर्दा फलफूल बगैँचा जस्तो देखिने उक्त केन्द्रमा आरु २ सय ९८ , नास्पाती ४ सय ३, स्याउ ४ सय ७६, हलुवावेद ५९, आरुबखडा २ सय ८६, ओखर १ हजार २ सय ४०, किबी, १ सय ६९ लगायतका फलफूलको बोटसहित ३ हजार ७ सय २५ रुखहरू रहेका छन् । यिनै रूखहरूमा कलमी गरेर बिरुवा उत्पादन गर्ने गरेको छ ।


फलफूल र विभिन्न जातका फूलहरूको गरी ३० हजार बिरुवा उक्त नर्सरी केन्द्रमा रहेका छन् । कलमीबाट उत्पादन भएका नर्सरी र फलफूल बिक्री गरेर फार्मले गत वर्ष १४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।


बागवनी केन्द्रभित्र नास्पाती, स्याउलाई असिनाले असर गर्ने भन्दै माथिबाट जाली लगाइएको छ । पाखैभरि आल्चा, खुरवानी, किबी, ओखरका बोटहरू रहेका छन् । उक्त फार्ममा बाँदरले भने दुःख दिने गरेको छ । बीउका लागि उत्पादन गरेको आलु बाँदरले सखाप पार्ने गरेको छ भने कटुस र ओखर पनि खाइदिने गरेको छ । बाँदर लखट्न कुकुरहरू पालेका छन् । कुकुरलाई पनि बाँदरले टोकेर घाइते बनाइदिने गरेको छ ।


भूक्षयको कारणले गर्दा फार्मभित्रका विभिन्न भागमा पहिरो गएको छ । बजेटको अभावले गर्दा संरक्षण गर्न सकेको छैन । त्यति मात्र होइन, २०७२ सालमा गएको भूकम्पले फार्म अतिथि गृह र तालिम भवन र पालेघर क्षतिग्रस्त बनाएको छ । ‘रकमको अभावले अहिलेसम्म मर्मत सम्भार गर्न सकिएको छैन,’ कार्यालय प्रमुख कोइरालाले भने, ‘ कुनै पनि निकायको मर्मत सम्भारका लागि आँखा नै परेको छैन ।’ फलफूलको बिरुवा र बोट रहेको उक्त बागवनीमा व्यवस्थित रूपमा घेराबार नहुँदा घाँस दाउरा गर्न आउने स्थानीयवासी र गाईवस्तुले सताउने गरेको छ ।


हाल प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको उक्त केन्द्रमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले चासो व्यक्त गरेका छन् । उनी उक्त फार्मको अवलोकन गर्न १० दिनअघि दामन पुगेका थिए ।


मुख्यमन्त्री पौडेलले आवश्यक प्राविधिक कर्मचारीहरू तत्काल पठाउने र अतिथि गृह र तालिम भवनको मर्मत सम्भार गर्ने आश्वासन दिएका थिए । बागवानी केन्द्रलाई सुधारेर एक वर्षभित्र परिवर्तन गने दाबी गरेका छन् ।

प्रकाशित : भाद्र २४, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?