पुस्तक धमिराले खाँदै

प्रताप विष्ट

हेटौंडा — मकवानपुरमा स्थापित धेरै पुस्तकालय लामो समयदेखि बन्द अवस्थामा छन् । राणशासनको अन्त्यसँगै समाज परिवर्तनको चाहना राख्नेको सक्रियतामा पुस्तकालय स्थापना गरिएका थिए । अहिले त्यसले निरन्तरता पाउन सकेको छैन ।

००७ मा राणाशासनको अन्त्य भएपछि मकवानपुरमा सबैभन्दा पहिला तत्कालीन सदरमुकाम भीमफेदीमा ज्योति पुस्तकालय स्थापना गरिएको थियो ।


भीमफेदीका त्यतिबेला जागरुक युवा शंखरत्न तुलाधर, विष्णु प्रधान, धनलाल श्रेष्ठ र सुन्दरराज ठिकेको अगुवाइमा २००९ मा ज्योति पुस्तकालयको स्थापना गरेका थिए । पुस्तकालयमा रहेका करिब १० हजार पुस्तकमध्ये धेरै कुहिएको र धमिरा नष्ट भएपछि स्थानीय महेन्द्र उच्च माविमा रहेको पुस्कालयलाई सग्ला करिब २ हजार पुस्तक चार वर्षअघि दिएको थियो ।


ज्योति पुस्तकालयको आफ्नै भवन छ तर पुस्तकालय सञ्चालन गर्न समस्या परेकाले पढ्न हुने राम्रा पुस्तक उच्च माविलाई दिएको स्थानीयले बताए । ‘उक्त पुस्तकालयलाई पुनः सञ्चालन गर्ने सोचमा छौं,’ भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले भने ।


यसैगरी, थाहा नगरपालिकास्थित पालुङमा समाजसेवी तथा चिन्तक स्व. रूपचन्द्र विष्ट (थाहा) ले ०२२ मा नवजीवन ज्योति पुस्तकालय स्थापना गरेका थिए । उक्त पुस्तकालयमा ऐतिहासिक, दर्शनशास्त्र, समाज शास्त्रलगायत ५ हजारभन्दा बढी पुस्तक रहेका थिए । ‘०३५ सम्ममा उक्त पुस्तकालयको सदस्य बनेर पुस्तक पढ्नेको संख्या झन्डै ५ सयभन्दा बढी थियो,’ तत्कालीन पालुङ गाविसका पूर्वअध्यक्ष श्यामभक्त श्रेष्ठले भने, ‘करिब ०४० पछि यो पुस्तकालय पनि बन्द भयो र पुस्तकहरू पनि सबै धमिराका आहारा बनिसकेका छन् ।’


०२५ मा विष्टकै सक्रियतामा थाहा नगरपालिका शिखरकोट बजारमा स्थापना गरेको नवजागृति पुस्तकालय स्थानीय युवाहरूले पुनः सञ्चालनमा ल्याएका छन् । उक्त पुस्तकालय एक दशक बन्द भएर युवाहरूले तीन वर्षदेखि सञ्चालनमा ल्याएका हुन् । दर्शनका पुस्तक पढ्न शिखरकोटको पुस्तकालयमा जानु भन्ने यहाँ प्रचलन थियो ।


थाहा नगरको ओखर बजारमा ०४८ मा स्थापना गरिएको सूर्योदय पुस्तकालय विगत ६ वर्षदेखि बन्द छ । थाहा नगरपालिका—६ बज्रबाराहीमा रहेको सुनौलो सामुदायिक अध्ययन केन्द्र सहकारीले सञ्चालन गरेकाले लिरिङतिरिङ ढंगले चलिरहेको छ तर

पढ्न आउनेको संख्या भने न्यून छ ।


कैलाश गापा र साबिकको नामटार गाविसमा ०३४ सालमा रामचन्द्र फुर्सदीलगायत स्थानीय युवाले कालिका पुस्तकालय स्थापना गरेका थिए । आफ्नै भवनमा स्थापना गरिएको पुस्तकालय राम्रैसँग सञ्चालन भएको थियो । यसैगरी, हेटौंडा उपमहानगरपालिकाले २४ वर्षअघि हेटौंडा उपमहानगरपालिका ५ सानोपोखरामा पुष्पलाल स्मृति पुस्तकालय स्थापना गरेको थियो । उक्त पुस्तकालय ०५९ देखि साहित्य संगम मकवानपुरले सञ्चालन गर्दै आएको छ । संगमले नियमति रूपमा पुस्तकालय सञ्चालन गर्दै आएको छ ।


‘पुस्तकालयमा करिब ५ हजार पुस्तक छन्,’ साहित्य संगम मकवानपुरका पूर्वअध्यक्ष आरसी रिजालले भने, ‘पुस्तकालय नियमित ढंगले सञ्चालन गरिरहेका छौं ।’ नगरपालिकाले पुस्तकालय सञ्चालनका लागि वार्षिक रूपमा अनुदान दिने गरेको छ । पुस्तकालयमा अहिले दैनिक १५–२० जना मात्र अध्ययन गर्न आउने गर्छन् । विगत दैनिक ५० जनाभन्दा बढी आउन गर्थेर् । आवश्यक पुस्तक पुस्तकालयमा थप्ने काम पनि गरिरहेको छ ।


पुस्तकालयमा अन्वेषणमूलक पुस्तक र पत्रिका पढ्ने पाठकहरू आउने गरेका छन् । हेटौंडा ४ स्थित रोशनी पुस्तकालय लिरिङतिरिङ ढंगले चलिरहेको छ भने हेटौंडा ६ चौघडामा रहेको जीवनज्योति पुस्तकालयले निरन्तरता पाउन सकेको छैन । हटिया, हर्नामाडी, नवलपुर, फापरबारीमा स्थापना गरिएका पुस्तकालयको हालत जीवनज्योतिको जस्तै छ ।


समाजमा अहिले सामाजिक कार्यकर्ता अभावका कारण पुस्तकालय स्थापना र सञ्चालन गर्नेलगायत सामाजिक कामको खडेरी परेको छ ।

प्रकाशित : भाद्र २३, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?