कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

प्राविधिक केन्द्रद्वारा बढी रकम असुली

सुजता लामा

सिन्धुलीमाढी — सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटास्थित प्राविधिक प्रशिक्षण केन्द्रले विद्यार्थीहरूबाट तोकिएभन्दा बढी रकम असुले खुलेको छ । अनमी र सीएमए पढ्नका लागि लाग्नेभन्दा बढी रकम लिएको विद्यार्थीहरूले बताएका छन् ।

वर्ष २०७५/७६ मा अनमी पढनेहरूबाट प्रतिविद्यार्थी ४० हजार रुपैयाँ बढी रकम असुलेको पाइएको हो । त्यस्तै, सीएमए पढ्नेहरूबाट प्रतिविद्यार्थी ३२ हजार रुपैयाँ बढी रकम लिएको विद्यार्थीले बताएका छन । पीडित विद्यार्थीले भने, ‘सीटीईभीटीबाट आएका पदाधिकारीले सीएमए र अनमीका लागि तोकिएको रकम बताएपछि हामी ठगिएको थाहा पाएका हौं ।’


अनमीका लागि १ लाख २० हजार रुपैयाँ लाग्नेमा प्राविधिक प्रशिक्षण केन्द्र सिन्धुलीले १ लाख ६० हजार रुपैयाँ लिएको विद्यार्थीले बताएका छन । सीएमएका लागि १ लाख ८ हजार रुपैयाँ लाग्नेमा १ लाख ४० हजार रुपैयाँ लिएको उनीहरूको गुनासो छ ।


अनमी पढ्ने ४० जना र सीएमए पढने ४० जना गरी ८० जना विद्यार्थी ठगीमा परेका हुन् । ८० जना विद्यार्थीबाट उनीहरूले २८ लाख ८० हजार रुपैयाँ बढी रकम लिएका छन् । अनमी पढने ४० जना विद्यार्थीबाट प्रतिविद्यार्थी ४० हजार रुपैयाँ बढी रकम लिँदा १६ लाख रुपैयाँ रकम ठगी गरेको देखिएको छ । त्यस्तै, सीएमए पढ्ने ४० जना विद्यार्थीबाट प्रतिविद्यार्थी ३२ हजार रुपैयाँ बढी रकम लिँदा १२ लाख ८० हजार रुपैयाँ बढी लिएको देखिन्छ । यसरी उनीहरूले २८ लाख ८० हजार रुपैयाँ बढी रकम लिएको पाइएको छ ।

तोकिएभन्दा बढी रकम लिएको भन्दै विद्यार्थीले बढी रकम फिर्ता गर्न माग गरेपछि सञ्चालक समितिका अध्यक्ष सुबोध ढकाल भने सम्पर्कविहीन बनेका छन् । आफूहरूबाट लिएको बढी रकम फिर्ता माग गरेदेखि ढकाल कलेज आउन छाडेको विद्यार्थीले बताए । उनलाई सम्पर्क गर्न खोज्दा १५ दिनदेखि उनको मोबाइल नै बन्द छ । त्यसपछि पीडित विद्यार्थी जिल्ला प्रशासन कार्यालयसम्म पुगेका छन् ।


प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले प्रहरीमा लिखित उजुरी दिन सुझाव दिए । यता प्राविधिक प्रशिक्षण केन्द्रकी भाइस प्रिन्सिपल मन्दिरा श्रेष्ठले भने बढी रकम फिर्ता गर्नुपरे सञ्चालक समितिले सर्टिफिकेट रोक्न सक्ने बताएको विद्यार्थीले सुनाए ।


श्रेष्ठले विद्यार्थीबाट तोकिएभन्दा बढी रकम लिएको स्वीकार गरेकी छन् । अनमीका लागि १ लाख २० हजार रुपैयाँ तोकिएको भए पनि १ लाख ६० हजार रुपैयाँ र सीएमए पढ्न १ लाख ८ हजार रुपैयाँ लाग्नेमा १ लाख ४० हजार रुपैयाँ लिएको उनी स्विकार्छिन् । तोकिएभन्दा बढी रकम किन लिएको भन्ने प्रश्नमा भने उनले सञ्चालक समितिलाई नै सोध्नुपर्ने जवाफ दिइन् ।

प्रकाशित : भाद्र २३, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?