प्राविधिक केन्द्रद्वारा बढी रकम असुली

सुजता लामा

सिन्धुलीमाढी — सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटास्थित प्राविधिक प्रशिक्षण केन्द्रले विद्यार्थीहरूबाट तोकिएभन्दा बढी रकम असुले खुलेको छ । अनमी र सीएमए पढ्नका लागि लाग्नेभन्दा बढी रकम लिएको विद्यार्थीहरूले बताएका छन् ।

वर्ष २०७५/७६ मा अनमी पढनेहरूबाट प्रतिविद्यार्थी ४० हजार रुपैयाँ बढी रकम असुलेको पाइएको हो । त्यस्तै, सीएमए पढ्नेहरूबाट प्रतिविद्यार्थी ३२ हजार रुपैयाँ बढी रकम लिएको विद्यार्थीले बताएका छन । पीडित विद्यार्थीले भने, ‘सीटीईभीटीबाट आएका पदाधिकारीले सीएमए र अनमीका लागि तोकिएको रकम बताएपछि हामी ठगिएको थाहा पाएका हौं ।’

अनमीका लागि १ लाख २० हजार रुपैयाँ लाग्नेमा प्राविधिक प्रशिक्षण केन्द्र सिन्धुलीले १ लाख ६० हजार रुपैयाँ लिएको विद्यार्थीले बताएका छन । सीएमएका लागि १ लाख ८ हजार रुपैयाँ लाग्नेमा १ लाख ४० हजार रुपैयाँ लिएको उनीहरूको गुनासो छ ।

अनमी पढ्ने ४० जना र सीएमए पढने ४० जना गरी ८० जना विद्यार्थी ठगीमा परेका हुन् । ८० जना विद्यार्थीबाट उनीहरूले २८ लाख ८० हजार रुपैयाँ बढी रकम लिएका छन् । अनमी पढने ४० जना विद्यार्थीबाट प्रतिविद्यार्थी ४० हजार रुपैयाँ बढी रकम लिँदा १६ लाख रुपैयाँ रकम ठगी गरेको देखिएको छ । त्यस्तै, सीएमए पढ्ने ४० जना विद्यार्थीबाट प्रतिविद्यार्थी ३२ हजार रुपैयाँ बढी रकम लिँदा १२ लाख ८० हजार रुपैयाँ बढी लिएको देखिन्छ । यसरी उनीहरूले २८ लाख ८० हजार रुपैयाँ बढी रकम लिएको पाइएको छ ।
तोकिएभन्दा बढी रकम लिएको भन्दै विद्यार्थीले बढी रकम फिर्ता गर्न माग गरेपछि सञ्चालक समितिका अध्यक्ष सुबोध ढकाल भने सम्पर्कविहीन बनेका छन् । आफूहरूबाट लिएको बढी रकम फिर्ता माग गरेदेखि ढकालकलेज आउन छाडेको विद्यार्थीले बताए । उनलाई सम्पर्क गर्नखोज्दा १५ दिनदेखि उनको मोबाइल नै बन्द छ ।त्यसपछि पीडित विद्यार्थी जिल्ला प्रशासन कार्यालयसम्म पुगेका छन् ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले प्रहरीमा लिखित उजुरी दिन सुझाव दिए । यता प्राविधिक प्रशिक्षण केन्द्रकी भाइस प्रिन्सिपल मन्दिरा श्रेष्ठले भने बढी रकम फिर्ता गर्नुपरे सञ्चालक समितिले सर्टिफिकेट रोक्न सक्ने बताएको विद्यार्थीले सुनाए ।

श्रेष्ठले विद्यार्थीबाट तोकिएभन्दा बढी रकमलिएको स्वीकार गरेकी छन् । अनमीका लागि १ लाख २० हजार रुपैयाँ तोकिएको भए पनि १ लाख ६० हजाररुपैयाँ र सीएमए पढ्न १ लाख ८ हजार रुपैयाँ लाग्नेमा १ लाख ४० हजार रुपैयाँ लिएको उनीस्विकार्छिन् । तोकिएभन्दा बढी रकम किन लिएको भन्ने प्रश्नमा भने उनले सञ्चालक समितिलाई नै सोध्नुपर्ने जवाफ दिइन् ।

प्रकाशित : भाद्र २३, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्

चिनियाँ प्राविधिक नआउँदा जलविद्युत् परीक्षण रोकियो

कान्तिपुर संवाददाता

हेटौडा — चिनियाँ ठेकदार कम्पनीका प्राविधिक टोली चीनबाट नआउँदा कुलेखानी—३ जलविद्युत् आयोजनाको अन्तिम परीक्षण रोकिएको छ । चीनको जेजियाङ जियालिङ कम्पनीका प्राविधिकहरू नआएकाले परीक्षण रोकिएको हो ।

जलविद्युत्‌को सिभिल, इलेक्ट्रोमेकानिकल र टावर गाडेर तार तान्ने कार्य साताअघि नै पूरा भइसकेको छ तर उताबाट प्राविधिक नआउँदा परीक्षण रोकिएको आयोजना प्रमुख सुभास मिश्रले बताए । ‘इलेक्ट्रोमेकानिकलका चिनियाँ ठेकेदार कम्पनीका प्राविधिकहरू चीनबाट नआएकाले आयोजनको अन्तिम परीक्षण रोकिएको छ,’ उनले भने, ‘चीनबाट उनीहरूलाई छिटो आउन प्राधिकरणले ताकेता लगाइरहेको छ ।’

इलेक्ट्रोमेकानिकलको जिम्मा पाएको जेजियाङ जियालिङले हुलासलाई काम गर्ने जिम्मा दिएको थियो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ करिब तीन महिनाअघि कुलेखानी—३ को विद्युत्गृहको अवलोकन गर्दै छिट्टै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका थिए । कडा निर्देशन दिँदा पनि चिनियाँ कम्पनीले सुस्त गतिमै काम गरेको थियो । दशकभन्दा बढी समयदेखि निर्माणाधीन यो आयोजनाले गत पुसमा परीक्षण उत्पादन गर्ने भनिएको थियो ।

जेजियाङ जियालिङको ढिलासुस्तीका कारण ४४ महिनामा सक्नुपर्ने कार्य करिब सय महिनाभन्दा बढी भइसक्दा पनि पूरा भएको छैन । आयोजनाको निर्माण कार्य २०१२ मा सम्पन्न गर्ने लक्ष्यका साथ सन् २००८ अप्रिल २७ देखि निर्माण कार्य सुरु गरेको हो । ठेकदार कम्पनी, प्राधिकरणको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारण निर्माण कार्य ढिलाइ भएको हो ।

२ अर्ब ४३ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ ११ वर्षअघि निर्माण कार्य सुरु गरेको उक्त परियोजनाको लागत वृद्धि भएर अहिले ४ अर्ब ६३ करोड पुगेको छ । विभिन्न पक्षको ढिलासुस्तीका कारण ८७ प्रतिशत लागत वृद्धि भएको हो । आयोजनाले जनाएको वार्षिक सरदर ४०.६५ गिगावाट आवर विद्युत् उत्पादन गर्ने क्षमता रहेको छ ।

प्रकाशित : भाद्र २३, २०७६ ०८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्