चिनियाँ प्राविधिक नआउँदा जलविद्युत् परीक्षण रोकियो

कान्तिपुर संवाददाता

हेटौडा — चिनियाँ ठेकदार कम्पनीका प्राविधिक टोली चीनबाट नआउँदा कुलेखानी—३ जलविद्युत् आयोजनाको अन्तिम परीक्षण रोकिएको छ । चीनको जेजियाङ जियालिङ कम्पनीका प्राविधिकहरू नआएकाले परीक्षण रोकिएको हो ।

जलविद्युत्‌को सिभिल, इलेक्ट्रोमेकानिकल र टावर गाडेर तार तान्ने कार्य साताअघि नै पूरा भइसकेको छ तर उताबाट प्राविधिक नआउँदा परीक्षण रोकिएको आयोजना प्रमुख सुभास मिश्रले बताए । ‘इलेक्ट्रोमेकानिकलका चिनियाँ ठेकेदार कम्पनीका प्राविधिकहरू चीनबाट नआएकाले आयोजनको अन्तिम परीक्षण रोकिएको छ,’ उनले भने, ‘चीनबाट उनीहरूलाई छिटो आउन प्राधिकरणले ताकेता लगाइरहेको छ ।’

इलेक्ट्रोमेकानिकलको जिम्मा पाएको जेजियाङ जियालिङले हुलासलाई काम गर्ने जिम्मा दिएको थियो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ करिब तीन महिनाअघि कुलेखानी—३ को विद्युत्गृहको अवलोकन गर्दै छिट्टै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका थिए । कडा निर्देशन दिँदा पनि चिनियाँ कम्पनीले सुस्त गतिमै काम गरेको थियो । दशकभन्दा बढी समयदेखि निर्माणाधीन यो आयोजनाले गत पुसमा परीक्षण उत्पादन गर्ने भनिएको थियो ।

जेजियाङ जियालिङको ढिलासुस्तीका कारण ४४ महिनामा सक्नुपर्ने कार्य करिब सय महिनाभन्दा बढी भइसक्दा पनि पूरा भएको छैन । आयोजनाको निर्माण कार्य २०१२ मा सम्पन्न गर्ने लक्ष्यका साथ सन् २००८ अप्रिल २७ देखि निर्माण कार्य सुरु गरेको हो । ठेकदार कम्पनी, प्राधिकरणको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारण निर्माण कार्य ढिलाइ भएको हो ।

२ अर्ब ४३ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ ११ वर्षअघि निर्माण कार्य सुरु गरेको उक्त परियोजनाको लागत वृद्धि भएर अहिले ४ अर्ब ६३ करोड पुगेको छ । विभिन्न पक्षको ढिलासुस्तीका कारण ८७ प्रतिशत लागत वृद्धि भएको हो । आयोजनाले जनाएको वार्षिक सरदर ४०.६५ गिगावाट आवर विद्युत् उत्पादन गर्ने क्षमता रहेको छ ।

प्रकाशित : भाद्र २३, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्

बलेरोको ठक्करबाट बालकको मृत्यु

रासस

चितवन — कालिका नगरपालिका–९ शक्तिखोरमा बलेरोको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोर्खा जिल्ला घर भई हाल शक्तिखोरमा आमा बाबुसँग बस्दै आएका हासिल मियाँको छोरा हमिद रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना ४ च २५५८ नम्बरको बलेरोले बालकलाई आइतबार साँझ ७ः३५ बजे ठक्कर दिएको थियो।

बलेरोको ठक्करबाट घाइते बालकको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा राति ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। बलेरो प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ।


प्रकाशित : भाद्र २३, २०७६ ०८:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्