मेलम्ची आयोजना परिसरमा निषेधाज्ञा तोड्दै धर्ना, प्रमुखको राजीनामा माग

अनिश तिवारी

सिन्धुपाल्चोक — बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाका सिएमसी पीडितले जिल्ला प्रशासनबाट जारी निषेधाज्ञा तोड्दै धर्ना बसेका छन् । शुक्रबार प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङबाट जारी भएको निषेधक्षेत्र मेलम्ची साइट कार्यालय परिसरमा पीडितले दिनभर धर्ना दिएका  हुन् ।

मेलम्ची आयोजना परिसरमा निषेधाज्ञा तोड्दै धर्ना, प्रमुखको राजीनामा माग

मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्यप्रसाद कँडेलले सिएमसीको उपकरण दुरुपयोग गरेको भन्दै प्रमुखको राजीनामा माग्दै पीडितले चर्को नाराबाजी गरे । ‘यस्तै हो भने, आयोजनाको सवारीसाधन् यहाँ चल्न दिँदैनौं, हाम्रो भुक्तानी नदिएसम्म आन्दोलन गरिरहेनेछौं, ’ मेलम्ची खानेपानी आयोजना पीडित संघर्ष समिति संयोजक विष्णुमणि आचार्यले भने । आफूले काम गरेको ज्याला नपाएसम्म आन्दोलन गरिरहने र आयोजना अगाडि बढ्न नदिने उनले बताए । मजदुरको पारिश्रिमक भने सरकारले दिने तयारी भइरहेको छ ।


९ महिनाअघि ठेक्का तोडेर सीएमसी आफ्नै देश फर्केयता मेलम्चीको काम ठप्प छ । ४६ दिनभित्र दैनिक १७ करोड लिटर पानी राजधानी लैजाने आयोजनाको लक्ष्य पूरा नभएसँगै निर्माणमा संम्लग्न नेपाली कामदारलाई तलबभत्ता र सञ्चयकोषबापत १ अर्ब ६८ करोड भुक्तानी पाएका छैनन् । त्यसमा जिल्लाका १२ फर्मवालाले मात्रै सीएमसीबाट १६ करोड ५० लाख ३८ हजार ५ सय रुपैया लिन बाँकी छ भने जिल्ला प्रशासनले साइट कार्यालय, मुहान, सुरुङ क्षेत्रमा अशान्ति नमच्चाउन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ (क) बमोजिम अर्को आदेश जारी नभएसम्म ५ जनाभन्दा बढी भेला हुन नपाउने निषेधाज्ञा जारी गरेको छ । शुक्रबार ३ देखि ५ बजेसम्म र शनिबार १० देखि ५ बजेसम्म अर्को व्यवस्था नभएसम्म निषेध आज्ञा जारी गरिएको छ ।

प्रकाशित : भाद्र २१, २०७६ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?