‘बोटे समुदायमाथि किन विभेद ?’

प्रताप विष्ट

हेटौंडा — मकवानपुरका संघीय सांसद विरोध खतिवडाले एउटै प्रदेशका, सिमाना जोडिएका जिल्लाका नेपाली नागरिक लोपोन्मुख बोटे समुदायमाथि किन विभेद भनेर बुधबारको संसद्मा सरकारसँग प्रश्न गरेका छन् ।

वन तथा वातावरण विनियोजनसम्बन्धी छलफल हुँदा सांसद खतिवडाले चितवनका बोटे समुदायले चितवन राष्ट्रिय निकुञ्जबाट खोलामा माछा मार्न अनुमतिपत्र पाउने तर मकवानपुरकाले किन नपाउने भनी सोधेका हुन् ।


चितवन राष्ट्रिय निकुञ्जले बोटे समुदायलाई निकुञ्जभित्रको नदी एवं खोलामा माछा मार्न अनुमति पत्र दिइसकेको छ । पर्सा राष्ट्रिय निकुञ्जले भने मकवानपुरका बोटेलाई अनुमति पत्र दिन नमिल्ने बताएको छ । मकवानपुरको मनहरी गाउँपालिकामा रहेको बोटे समुदाय माछा मार्ने परम्परागत पेसाबाट हात धुनुपर्ने भएको छ ।


मकवानपुरका बोटे समुदायले माछा मार्ने लाइसेन्स पाउनका लागि करिब १ महिनाअघि पर्सा राष्ट्रिय निकुञ्जमा नागरिकता र निवेदन छोडेका थिए । निकुञ्जले लाइसेन्स दिन नमिल्ने बताएपछि उनीहरू निराश भएका छन् ।


पर्सा राष्ट्रिय निकुञ्जले माछा मार्नका लागि उनीहरूलाई यो वर्षदेखि लाइसेन्स नदिएपछि माछा मार्न नपाउने भएका हुन् । मनहरी गाउँपालिका—७ रमौलीमा बोटे समुदायको बसोबास छ । उनीहरूले राप्ती खोलामा माछा मार्दै आएका थिए । उक्त खोलामा माछा मार्नका लागि पर्सा राष्ट्रिय निकुञ्जले गत वर्ष २२ बोटेलाई लाइसेन्स दिएको थियो । त्यही आधारमा उनीहरूले माछा मारेर जीवन गुजार्दै आएका थिए ।


‘लाइसेन्स नवीकरण गर्न निवेदन दिएका थियौं,’ दिलबहादुर बोटेले भने, ‘कुरा बुझ्दै जाँदा निकुञ्जको हाकिम साहेबले लाइसेन्स दिन मिल्दैन भने ।’ वर्षका ८ महिना खोलासँगै खेलेर जीवन गुजार्दै आएका रमौलीका बोटेहरू निकुञ्जको हाकिम साहेबको कुरा सुनेपछि निराश भएका छन् ।


जेठदेखि भदौसम्म अर्थात् चार महिना माछाको प्रजनन् समय भएकाले लाइसेन्स भए पनि निकुञ्जले आफ्नो क्षेत्रका खोला र नदीमा माछा मार्न दिँदैन । रमौलीस्थित बोटे समुदायले माछा मार्ने राप्ती खोला निकुञ्जभित्र पर्छ ।


पर्सा राष्ट्रिय निकुञ्जले सुना र वादी जातिलाई मात्र लाइसेन्स दिन सकिने बताएको छ । ‘बोटेलगायत अन्य समुदायलाई माछा मार्न लाइसेन्स दिने अधिकार नै नियमावलीमा छैन,’ पर्सा राष्ट्रिय निकुञ्जका वार्डेन अमीर महर्जनले भने, ‘निकुञ्जको आफ्नो नियमावली छैन, बर्दिया राष्ट्रिय निकुञ्जको नियमावालीअनुसार कामकारबाही गर्न सरकारी निर्देशन छ ।’


वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले निकुञ्जको नियमावली परिवर्तन नगरेसम्म मकवानपुरका बोटेलाई अनुमति पत्र दिन कठिनाइ हुने भएकाले नियमावली संशोधन गर्ने तयारी रहेको बताएका थिए ।

प्रकाशित : भाद्र २०, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?