कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कालिञ्चोकको अवैध संरचना हटाउन पुनः सूचना

राजेन्द्र मानन्धर

दोलखा — धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक क्षेत्रका अवैध घरटहरा तथा संरचना हटाउन जिल्ला प्रशासन कार्यालयले दोस्रो पटक सूचना जारी गरेको छ ।

कालिञ्चोकको अवैध संरचना हटाउन पुनः सूचना

पहिलोपटक जारी सूचनालाई वास्ता नगरिएपछि दोस्रोपटक प्रशासनले फेरि सूचना जारी गरेको हो । सदरमुकाम चरिकोटबाट १७ किलोमिटर दूरीमा रहेको प्राकृतिक सुन्दरस्थल कालिञ्चोकमा एक सय भन्दा बढी अवैध संरचनाहरु छन् ।


केबलकारदेखि ठूला लगानीका होटलहरुले कालिञ्चोकको बेसक्याम्प ठानिने कुरीको मैदान भरिएका छन् । त्यस्तै घ्याङडाँडाको मैदानमा पनि घरटहरा थपिदैछ । तीन हजार आठ सय ४२ मिटर अग्लो कालिञ्चोक मन्दिरको केही तलपनि अतिक्रमण बढ्न थालेपछि जिल्ला प्रशासनले पटकपटक सूचना जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।


मन्दिर दर्शन र रमाइलो दृष्य हेर्न मानिसहरुको घुइँचो लाग्ने उक्त क्षेत्र सामुदायिक वन क्षेत्र की गुठी संस्थानको भन्ने विवाद कायमै छ । गुठी संस्थानको स्थानीय जिम्मेवार प्रतिनिधि प्रमुख जिल्ला अधिकारीलाई बनाइएको छ । तर, जिल्ला वन कार्यालयले आफ्नो पेरीफेरी भन्दै उक्त सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले बोलाएको बैठकहरुमा फरक मत दर्ज गर्दै आएको छ ।


दुई सरकारी निकायबीचको विवादको फाइदा लिदै झनझन संरचनाहरु थपिदै गएको स्थानीयको आरोप छ । पछिल्ला समयमा गुठीसंस्थानले आफ्नो नियमअनुसार जग्गाहरु लिजमा दिन थालेपछि अनावश्यक अतिक्रमण बढेको स्थानीयको भनाई छ । गुठी संस्थाले करिब ४२ वटा घर टहरा तथा एउटा केबल कारलाई मात्रै लिज दिएको दाबी गरेको छ । करिब तीन महिनाअघि जिल्ला प्रशासन कार्यालयले तयार पारेको सूचीमा करिब एक सय घर टहराहरु थिए ।


गुठी संस्थानले लिजमा नियमसम्वत दिएको संरचनाबाहेक अन्यलाई अवैध ठान्छ । तर जिल्ला वनले भने उक्त क्षेत्रमा बनिरहेको सबै घरटहरा र संरचना अवैध दाबी गर्दै आएको छ । जिल्ला वनले गुठी संस्थानबाट स्वीकृति लिएर सञ्चालित केबल कारसमेत भत्काउनुपर्ने जिकिर गर्दै आएको छ ।


पछिल्लो समयमा संरचना थपिने क्रम बढेपछि प्रजिअसहितको सुरक्षा टोलीले निरीक्षण गरेको थियो । निरीक्षणको क्रममा प्रहरी चौकी राख्न घडेरी बनाइएको जग्गासमेत अतिक्रमणमा परेको पाइएको थियो । अवैध रुममा ठड्याइएका घर टहरा र अन्य संरचना नभत्काइ सूचनालाई अटेर गरे कारबाही गरिने प्रजिअ रिजालले जानकारी दिए ।

प्रकाशित : भाद्र १९, २०७६ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?