कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सहज बन्दै स्वास्थ्य सेवा

प्रताप विष्ट

हेटौंडा — स्थानीय तहको मातहतमा स्वास्थ्यचौकी रहेपछि ग्रामीण भेगका सेवाग्राहीले सुविधासहितको सेवा पाउन थालेका छन् । जनप्रतिनिधिले अनुगमन गर्ने भएपछि स्वास्थ्यकर्मी नियमित उपस्थिति हुने गरेका छन् ।

स्वास्थ्यचौकीमा सेवाग्राहीलाई निःशुल्क ल्याब परीक्षणको सुविधा दिन थालिएको छ ।


मकवानपुरगढी गाउँपालिका—७ सुकौराको स्वास्थ्यचौकीमा हाल नियमित रूपमा स्वास्थ्यकर्मी बस्न थालेका छन् । स्थानीयवासीले सहज रूपमा स्वास्थ्य सेवा पाइरहेका छन् । स्थानीय तहको निर्वाचन हुनुभन्दा अघिसम्म स्वास्थ्यचौकीमा अधिकांश स्वास्थ्यकर्मीलाई भेटन मुस्किल पर्ने गर्थ्यो । स्वास्थ्यचौकीमा उपस्थित भए पनि अपराह्न २ बजे नै बन्द गर्ने गर्थे । ‘स्थानीय तहको निर्वाचन भएपछि नियमित रूपमा स्वास्थ्यकर्मी बस्न थालेका छन्,’ स्थानीय विद्यालयका शिक्षक दशरथ श्रेष्ठले भने, ‘जनप्रतिनिधि भएपछि स्वास्थ्यचौकीको सेवामा सुधार आएको छ ।’


राक्सिराङ गाउँपालिकाअन्तर्गत रहेका स्वास्थ्य चौकीको स्वास्थ्य सेवामा पनि सुधार आएको छ । चैनपुर, खैराङ, काँकडा र सरिखेतस्थित स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी नियमित रुपमा उपस्थित हुने गरेका छन् । विगतमा स्थानीय कार्यालय सहायक, अनमीलगायतले लामो समयसम्म स्वास्थ्य संस्थाबाट सेवा प्रदान गर्नुपर्ने बाध्यता थियो । अहिले स्वास्थ्य संस्थाका प्रमुख अहेवहरू नै नियमित रूपमा बस्न थालेका छन् । १० बजेदेखि अपराह्न ५ बजेसम्म स्वास्थ्य संस्था खुला राख्ने गरेका छन् ।


गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित वडाध्यक्ष र सदस्यले बेलाबेलामा स्वास्थ्य संस्थाको अनुगमन गर्ने गरेका छन् । गाउँपालिकाले स्वास्थ्य संस्थाका निम्ति राम्रै रकम विनियोजन गर्न थालेका छन् । मकवानपुरगढी गाउँपालिकाले स्वास्थ्य संस्थाका लागि ३० लाख रुपैयाँ विनियोजन गरेको छ भने राक्सिराङले पनि ३२ लाख छुट्ट्याएको छ ।


मकवानपुर गढी गाउँपालिकाले ८ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरेको छ । ‘विगतमा चार वटा वडामा मात्र स्वास्थ्य संस्था थिए ।’ गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँले भने, ‘अहिले चारवटा वडा थपेर नियमित स्वास्थ्य सेवा प्रदान गरिरहेका छौं ।’ स्वास्थ्य संस्थामा अहेव, अनमी र कार्यालय सहयोगी छन् । जनस्वास्थ्य कार्यालयले स्थानीय तहलाई स्वास्थ्य संस्था हस्तान्तरण गरेपछि प्रत्येक गाउँपालिकामा वरिष्ठ अहेवलाई स्वास्थ्य संयोजक तोकेको छ ।


मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य संयोजक वरिष्ठ अहेव भोला चौलागाईंले भने, ‘स्थानीय तहको मातहतमा स्वास्थ्यचौकी भएपछि स्थानीयवासीले नियमित सेवा पाइरहेका छन् ।’ स्वास्थ्यकर्मीको गाउँपालिकाबाट नै तलबभत्ता निकासा हुने भएकाले पनि उनीहरू जवाफदेही हुने गरेका हुन् । गाउँपालिकाले आवश्यक परेको रकम स्वास्थ्यचौकीलाई रकम उपलब्ध गराउने गरेको छ ।


‘स्थानीय बासिन्दाको स्वास्थ्यमा सुधार ल्याउन गाउँपालिकाले सक्दो प्रयत्न गरिरहेको छ,’ मकवानपुरगढीका प्रमुख हुमागाईंले भने । ग्रामीण भेगका बासिन्दा गाउँकै स्वास्थ्यचौकीबाट नियमित रूपमा सेवा पाएकोमा खुसी छन् । ‘अहिले सधैं अहेव साहेब स्वास्थ्यचौकीमा बसेर बिरामीलाई औषधि उपचार गरिरहेका हुन्छन्,’ राक्सिराङ खैराङका ७८ वर्षीय लालबहादुर ठकुरीले भने, ‘पहिला, पहिला सधैं हेटौंडातिर बस्थे ।’

प्रकाशित : भाद्र १९, २०७६ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?