गाँजा नष्ट गर्न ६० प्रहरी

हेटौंडा — मकवानपुरमा गाँजा नष्ट गर्न सुरक्षाकर्मी नै परिचालित गर्नुपरेको छ । ६० जनाको प्रहरी चार समूहका विभाजित गरी राक्सिराङको विभिन्न वडामा गाँजाको बोट र ब्याड नष्ट गर्न आइतबारदेखि प्रहरी खटाएको हो । 

मकवानपुरको राक्सिराङ गाउँपालिका ३ तीन वडामा २ दिनमा प्रहरीले १० बिघा जमिनमा लगाएको गाँजा उखेलेको छ । १६ कठ्ठा जमिन राखेको गाँजाको ब्याड पनि नष्ट गरेको छ । प्रहरीको चार टोलीले राक्सिराङ गाउँपालिका—३ मा ६ बिघा जमिनमा लगाएको गाँजा नष्ट गरेको छ । उक्त गापाकै २ मा पने आमडाँडामा साढे २ बिघा जमिनमा लगाएको गाँजाको बिरुवा उखेलेर फालेको प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताए ।


वडा नं ३ र ४ नम्बरमा ३१ मा लगाएको गाँजाको ब्याड नष्ट गरेको उनले बताए । मकवानपुरलाई गाँजा र अफिममुक्त जिल्ला बनाउने उद्देश्यले गाँजा, अफिम र त्यसको ब्याडसमेत नष्ट गर्न आइतबारबाट प्रहरीलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।


राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने, ‘जहाँ–जहाँ मोटरबाटो पुगेको छ, त्यहाँबाट गाँजा र अफिम खेती क्रमशः विस्थापित हुँदै गएको छ, जहाँ मोटरबाटो पुगेको छैन, त्यहाँका बासिन्दा अहिले पनि गाँजा खेती गरिरहेका छन् ।’


गाँजा प्रभावित क्षेत्रको रूपमा रहेको राक्सिराङ र कैलाश गाउँपालिकाले आफ्नो गाँउपालिकाभित्र गाँजा र अफिम खेती गर्न नदिने वार्षिक नीति तथा कार्यक्रममा पारित गरेका छन् ।


गत आवमा पनि दुई गाउँपालिकाले उक्त नीति पारित गरेको थियो । ‘के कति नियन्त्रण भयो त्यसको समीक्षा गरेका छैनौं,’ कैलाश गापाका अध्यक्ष टंक मोक्तानले भने, ‘तर विगतका वर्षहरूभन्दा गाँजा र अफिम खेती गर्नेको संख्या घट्दै गएको छ, यो क्रमशः घट्दै जान्छ ।’


उक्त गापाले गाउँबाट गाँजा खेती विस्थापित गर्न यस चालू आवमा साढे एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेट गाँजा खेती गर्ने क्षेत्रमा तरकारी खेती गर्न विनियोजित गरेको गाँपा अध्यक्ष मोक्तानले भने ।

प्रकाशित : भाद्र १७, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?