पाँच नाबालकको बिचल्ली
सिन्धुपाल्चोक — आमा र हजुरआमा बेहोसझै भएको महिना दिन बित्यो । थोत्रो जस्ता पाताले बेरबार पारेको घर र फोहोर थुर्पिएको आँगन । इन्द्रावती गाउँपालिका वडा २ कुञ्चोक भारती गाउँका पाँच नाबालकको परिवारको बिचल्ली अवस्था देख्दा जोकोही भक्कानिन्छन् ।
सर्पले डसेर बाबु बितेपछि अनाथजस्तै भएका जेठा सन्तान १६ वर्षीय सुरेश र १४ वर्षीया अप्सरा आफूलाई अभागी मान्दै रुन्छन् । दाजु हेर्दै टोलाइरहेका नाबालक दस वर्षीय रचना, आठ स–साना र ६ वर्षीया राधालाई आफ्नो बुबाको मृत्यु नाटकजस्तै लागेको छ । ‘बुबा त बित्नुभएपछि हाम्रो सपना सबै गुम्यो, अब हामी कसरी बाँच्ने अन्योलमा परेका छौँ ?’
दुःखजेलो गरेर बनाएको टहराको घर भूकम्पले ध्वस्त बनाएपछि उनीहरू छिमेकीबाट सहारामा जस्तापातामा बसेका थिए । हुरी र वर्षात्ले क्षतिग्रस्त बनाएपछि संस्था र जनप्रतिनिधिलाई गुहारेर अहिले साधारण आवासमा बसिरहेका छन् । बाबु चन्द्रबहादुरले मजदुरी गरेर छोराछोरीको लालनपालन गर्दै आएका थिए ।
इन्द्रावती गाउँपालिकाका प्रमुख वंशलाल तामाङले स्थलगत पुगेर आवश्यक बुझेर सबै सहयोग गर्दै बालबालिकाको सहयोग जुटाउन लाग्ने बताए । गाउँपालिकाभर यस्ता समस्या व्यहोरिरहेका बालबालिका या अशक्त वर्ग भएकाहरूको आफूले अभिभावकत्व लिने सुनाउँदै उनले गाउँपालिकाका यस्ता पीडितलाई सेवा गर्न हरदम तयार रहेको दाबी गरे ।
प्रकाशित : भाद्र १७, २०७६ ०८:३८