रामेछाप विमानस्थल विस्तार हुँदै

रामेछाप — काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने एयर ट्राफिक कम गराउनका लागि रामेछाप विमानस्थललाई विस्तार गरिने भएको छ ।

काठमाडौंबाट सबैभन्दा नजिकको रामेछाप विमानस्थललाई सुदृढीकरण गरी आन्तरिक उडान गर्ने योजना संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघि सारेको हो ।


केही दिनअघि मन्त्री योगेश भट्टराईले सार्वजनिक गरेको एकवर्षे कार्यनीतिमा रामेछाप विमानस्थल सुधार विस्तारको कार्यक्रम राखेपछि स्थानीयवासी हर्षित भएका छन् । ‘हामीले कैयौं वर्ष अघिदेखि भन्दै आएको कुरा मन्त्रालयको प्राथमिकतामा राखेकोले खुसी भएका छौं,’ स्थानीय नवराज ढुङ्गेलले भने, ‘यो अवसर चुक्न दिन हुँदैन ।’


काठमाडौंभन्दा पूर्वतर्फको नजिक पर्ने रामेछाप विमानस्थल हुँदाहुँदै काठमाडौंको एयर ट्राफिक कम गराउनका लागि काभ्रेमा अर्को विमानस्थल निर्माण गर्ने योजना सरकारले अघि सारेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण र उडानको रुटमा पर्ने बनेपा आसपास क्षेत्रमा विमानस्थल बनाउने प्रस्तावमाथि प्राविधिकहरूले सुरक्षा चुनौती औंल्याएका थिए ।


केहि वर्षअघि मात्र कालोपत्रे भएको रामेछाप विमानस्थलमा सबै पूर्वाधार हुँदाहुँदै फेरि थप लगानी गर्नेभन्दा पनि त्यसैलाई सुधार विस्तार गरी आन्तरिक उडान गर्न सकिने प्राविधिकहरूको निष्कर्ष भएकाले मन्त्री भट्टराईले रामेछाप विमानस्थलको सुधार विस्तार गर्ने योजना अघि बढाएका हुन् ।


रामेछाप विमानस्थलमा ५ सय १८ मिटर लामो धावनमार्ग छ । टुइनअटर र डोर्नियरजस्ता साना विमान अवतरण र उड्न सक्ने उक्त विमानस्थलमा ४ वटा विमान पार्किङ गर्ने क्षमता छ । मौसमका हिसाबले हिउँद वर्षा नै रामेछाप विमानस्थल अवतरण र उडानका लागि उपयुक्त मानिन्छ ।


अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत सुधारका लागि बिहान ८ बजेसम्म उडान र अवतरणमा रोक लगाएका बेला चार महिनाअघि रामेछाप विमानस्थलबाट सोलुको लुक्लाका लागि केही वायुसेवा कम्पनीले उडान गरेका थिए । प्रतिदिन सरदर ३० देखि उडानसम्म रामेछाप विमानस्थलबाट भएको थियो ।


सीता, तारा र समिट एयरले अबको केही दिनमा समेत रामेछाप विमानस्थलबाट सोलुका लागि उडान थाल्दै छन् । सेक्टेम्बरदेखि त्यस क्षेत्रमा जाने यात्रु बढ्न थाल्ने भएकाले काठमाडौं विमानस्थल प्रयोग गर्दा चाहे जति उडान गर्न नसक्ने भएकाले विमान कम्पनीले रामेछाप केन्द्रित उडान तालिका राखेका हुन् ।


लुक्ला क्षेत्रमा हुने छिनछिनको मौसम परिवर्तनले काठमाडौंबाट लुक्लासम्म हुने उडान अनिश्चित हुन्छ । विमान उडेपछि मौसम बिग्रँदा बीचबाटै कैयौं उडानहरू फर्कने गरेका छन् तर रामेछापबाट लुक्ला उड्दा झन्डै आधा उडान समय कटौती हुने भएकाले धेरै उडान गन्तव्यमा पुग्न सक्छन् । काठमाडौंमा विमानलाई उड्नका लागि पालो पर्खंदासम्म रामेछापबाट लुक्लाको उडान भ्याइसक्ने भएकाले पनि रामेछाप विमानस्थल विमान कम्पनीका लागि आकर्षक भएको हो ।


रामेछाप विमानस्थलको उत्तरी र पश्चिमी केही भाग थपेर ठूला एटिआरसम्मका जहाज उडान र अवतरण गराउन सकेमा पूर्वतर्फको विराटनगर, तुम्लिङटार, भोजपुर, ताप्लेजुङ, इलाम, खोटाङ्ग, सोलु, रुम्जाटारजस्ता विमानस्थलमा हुने आन्तरिक उडान त्यहींबाट गराउनका लागि विमानस्थल विस्तार गर्न लागिएको हो । रामेछाप विमानस्थल काठमाडौंभन्दा १ सय ३० किलोमिटर पूर्वमा छ । उक्त विमानस्थल सम्म पुग्नका लागि काठमाडौंबाट जिपमा साढे तीन घण्टा लाग्छ ।

प्रकाशित : भाद्र १६, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?