मध्यवर्ती समितिमा महिला शून्य

चितवन — दुई दशकमा चारवटा कार्य समिति निर्माण हुँदा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमा महिलाको नेतृत्व र प्रतिनिधित्व शून्य नै रहयो । अहिले नयाँ कार्य समितिको लागि निर्वाचन प्रक्रिया सुरू भएको छ ।

पदमा रहन आकांक्षीको नाम हेर्दा आउँदो समितिमा पनि महिलाहरूको संख्या शून्य नै रहने अवस्था छ । चार जिल्ला कार्य क्षेत्र रहेको मध्यवर्ती समितिले वर्षमा १२ करोड रुपैयाँ हाराहारीको बजेट परिचालन गर्छ ।


चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको साउन २६ मा बसेको बैठकले नयाँ कार्य समिति गठनको लागि प्रक्रिया अगाडि बढाएको छ । वर्तमान कार्य समितिको पाँच वर्षे पदावधि आउँदो मंसिर ५ मा सकिँदैछ । त्यसैले उक्त बैठकले कार्यविधि पारित गरेर निर्वाचन प्रक्रिया अगाडि बढाएको हो । कार्यविधिमा समितिका एकजना सदस्य बासु ढुंगानाको फरक मत दर्ता भएको छ ।


‘पारित कार्यविधिअनुसार बन्ने समिति वर्तमान संविधानअनुसार समावेशी हुन नसक्ने हुँदा फरक मत राखेको छु,’ ढुंगानाको मत छ । पहिलेको कार्यविधिअनुसार समूह, समिति र व्यवस्थापन समिति गठन गर्दा महिला प्रतिनिधित्व नहुनेमा ढुंगाना जस्तै मत राख्ने अरु पनि छन ।


नीतिगत तहमा महिला नेतृत्व र प्रतिनिधित्वको चर्चा बढेका बेलामा चितवन मध्यवर्ती समितिमा भने यो पक्षमा ध्यान दिने कमै छन । निकुञ्ज, आरक्ष वा संरक्षित क्षेत्रसँग सिमाना जोडिएको आवादी वा आवासीय भूभाग मध्यवर्ती क्षेत्र हो । निकुञ्जका जनावर वा निकुञ्ज संरक्षित नीतिनियमले मध्यवर्ती क्षेत्र प्रभावित हुने गर्दछ । त्यहाँका बासिन्दालाई संरक्षणप्रति सजग र क्रियाशील बनाउन र निकुञ्जको आम्दानी त्यही क्षेत्रमा लगानी गर्न मध्यवर्ती क्षेत्रको अवधारणा आएको हो ।


चितवनमा २०५४ सालमा मध्यवर्ती क्षेत्रका समितिहरू बन्न सुरु भएका हुन् । चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रको कुल क्षेत्रफल ४२४२ वर्ग किलोमिटर छ । यसभित्र सानो भूभाग मकवानपुरको मनहरी गाउँपालिकाको एउटा वडा, पर्साको ठोरी गाउँपालिकाको १, २ र ३ नम्बर वडाहरू पनि पर्दछन् । ठूलो भाग चितवन र त्यसपछि नवलपुर जिल्लामा पर्दछ । चितवनको राप्ती, खैरहनी र रत्ननगर नगरपालिकाका केही वडाहरू मध्यवर्तीमा परेका छन् ।


त्यसैगरी भरतपुर महानगरपालिकाका ६, ८, ९, १३, १४, १७, १८, २२, २३, २४, २५, २६, २७ र २८ नम्बर वडा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ । माडी नगरपालका पुरै मध्यवर्ती क्षेत्रमा छ । त्यसैगरी नवलपुरका गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाका वडाहरू पनि मध्यवर्तीमा पर्छन् । मध्यवर्तीमा चार जिल्लाका १२ स्थानीय तह जोडिएका छन् ।


मध्यवर्ती क्षेत्र हेर्ने चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार मध्यवर्तीमा ४५ हजार ६ सय १६ घरधुरी छन् । त्यसैगरी १ हजार ७ सय ८४ समूह यसमा आवद्ध छन । १८ वर्ष पुगेका घरमुली सदस्य हुन्छन् । प्रत्येक घरबाट एकजना महिला र पुरुष घरमुलीलाई सदस्य बनाइन्छ । ‘अहिले समूह गठन र पुनर्गठनको प्रक्रिया अगाडि बढेको छ । घरमुली संख्या र समूह संख्या घटबढ हुन सक्छ,’ अधिकारीले भने ।


निकुञ्जको पटिहानी मध्यवर्ती उपभोक्ता समितिका सदस्य बिना बोटे व्यवस्थापन समितिले बजेट बाँडफाट र योजना तथा कार्यक्रम निर्माण गरेर उपभोक्ता समितिहरूमा पठाउने काम गर्दछ । सहायक संरक्षण अधिकृत अधिकारीका अनुसार आर्थिक वर्ष ०७४/४२४ मा चितवन निकुञ्जको मध्यवर्ती समितिमा १२ करोड ७७ लाख रुपैयाँ बजेट आएको थियो । मध्यवर्तीमा ०५४ सालयताको २० वर्षमा ९३ करोड २८ लाख २७ हजार ८८४ रुपैयाँ बजेट आएर खर्च भएको तथ्यांक छ ।

प्रकाशित : भाद्र १६, २०७६ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?