नुवाकोटमा बाढीले २ घर लडायो, सयौं रोपनीको धानबालीमा क्षति 

रासस

नुवाकोट — शनिबार राति परेको अविरल वर्षाका कारण नुवाकोटका विभिन्न स्थानमा आएको भलबाढीले घरमा क्षति तथा जनजीवन प्रभावित बनाएको छ ।

इलाका प्रहरी कार्यालय खरानीटारका अनुसार अविरल वर्षाले तादी गाउँपालिका–२ को कोषगाढेखोला र वडा नं ४ को घट्टेखोलामा आएको बाढीले स्थानीय दुई परिवारको घर लडाएको छ भने कुटानीपिसानी गर्ने मिल बगाएको छ।

केही स्थानमा पशुचौपायासमेत बगाएको छ। पहिरोले वडा नं २ को रालुकामा छ घर जोखिममा परेका छन्। इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश महतोका अनुसार वडा नं २ का श्यामबहादुर थापाको घर पहिरोले पुरिएको छ भने उनको गोठ कोषगाढे खोलामा आएको बाढीले बगाएको छ।

सोही स्थानका सोमनाथ सापकोटाको घर र उनले सञ्चालन गर्दै आएको कुटानीपिसानी गर्ने मिल बगाएको छ भने एउटा गाईसहित गोठ नै बगाएको छ। बाढीको कटानका कारण स्थानीय हरि थापा, कृष्ण थापा, वासु थापा, शिशिर उप्रेती, शिव दाहाल, कुमार शिवभक्ति, गोविन्दलाल पण्डित, कृष्णप्रसाद लामिछाने, सुराम तामाङ, मछिन्द्र तामाङ, सुमन थापा लगायत किसानले धान लगाएको सयौँ रोपनी जग्गाको धानबालीमा क्षति पुगेको छ। धानखेत हुँदै अहिले खोला बगिरहेको छ।

तस्बिर : अन्जन तिवारी र प्रदीप शर्माको फेसबुक वालबाट

बाढीले वडा नं २ र ४ जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ भने तादी गापाबाट दुप्चेश्वर गापा जाने खरानीटार–समुन्द्रटार सडक खण्डको पक्की पुलमा समेत क्षति पुर्‍याएको छ। पुलको पर्खाल बगाउँदा यातायात सञ्चालन प्रभावित भएको सोही स्थानका बासिन्दासमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले बताए।

पासाङल्हामु सडक अवरुद्ध

यसैबीच शनिबार राति परेको वर्षाका कारण त्रिशूली–ककनी–बालाजु पासाङल्हामु सडक खण्ड अवरुद्ध भएको छ। प्रहरी चौकी ककनीका अनुसार ककनी गाउँपालिका–२ को बाह्रमाइल र खानीखोला भन्ने स्थानमा लेदोसहित आएको बाढीले सडक अवरुद्ध भएको हो। अवरुद्ध सडक सञ्चालनका लागि पहल भइरहेको प्रहरीले जनाएको छ। उक्त सडक खण्डमा सानाठूला गरेर चार स्थानमा पहिरो गएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिए।

प्रकाशित : भाद्र १५, २०७६ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्

अमेरिकाको टेक्ससमा फेरि गोली हानेर ५ जनाको हत्या

बीबीसी

काठमाडौँ — अमेरिकाको टेक्सस राज्यमा भएको गोलीकाण्डमा कम्तीमा ५ जना मारिएका छन् भने कैयौँ घाइते भएको प्रहरीले बताएको छ।

तस्बिर : रोयटर्स

एक बन्दुकधारीले गाडीमा चढेर वरपरका मानिसहरूमाथि जथाभावी गोली प्रहार गरेको बीबीसीले लेखेको छ। टेक्ससका पश्चिमी नगरहरू ओडिसा तथा मिडल्यान्डमा उक्त घटना भएका हुन् । प्रहरीका अनुसार एकजना संदिग्ध पुरुषलाई गोली हानेर मारिएको छ।

ओडेसा नगर प्रहरीका अनुसार सबभन्दा पहिले ती संदिग्ध पुरुषले उनको गाडी रोक्ने ट्राफिक प्रहरीलाई गोली हानेका थिए। करिब ३० वर्ष हाराहारीका ठानिएका ती बन्दुकधारीले त्यसपछि हुलाक सेवाको एउटा ट्रक खोसेका थिए। फेरि नजिकैको मिडल्याण्ड नगर आवतजावत गर्दै लगातार गोली प्रहार गरेका थिए।

उनलाई प्रहरीले एउटा सिनेमा घर नजिकै गोली हानेर मारिदिएको छ। प्रहरी प्रवक्ताले बताए अनुसार कम्तीमा १६ जना घाइते भएका छन्। घाइतेमध्ये केही प्रहरी पनि छन्।

ओडेसाको अस्पतालले दुई वर्षभन्दा कम उमेरको एक शिशु पनि घाइते अवस्थामा ल्याइएको छ। त्यहाँ भर्ना गरएिकामध्ये ७ जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

प्रकाशित : भाद्र १५, २०७६ १२:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्