कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

विदेशबाट फर्केर गोलभेंडा खेती

हेटौंडा — गोलभेंडा उत्पादनबाट प्रदीप थापा हौसिएका छन् । अर्को वर्ष अझ गोलभेंडा खेतीलाई विस्तार गर्ने उनको सोच छ ।

हेटौंडा उपमहानगरपालिका—१७ चुच्चेखोलाका ३२ वर्षीय थापाले २ वर्षयता गोलभेंडा खेती गर्दै आएका छन् । गत वर्ष एउटा मात्र टनेलमा गोलभेंडा खेती गरेका थिए । त्यसबाट राम्रै आम्दानी भएपछि यो वर्ष तीनवटा टनेलमा

गोलभेंडा खेती विस्तार गरे । उनको २ वटा टनेल बाँसका छन् भने एउटा टनेलका खम्बा सबै फलामका छन् । उनलाई गोलभेंडा खेती गर्न हेटौंडा उपमहानगरपालिकाको कृषि शाखाले पनि सघाएको छ । तीनवटा टनेलमा गोलभेंडा खेती गर्न उपमहानगरपालिकाको कृषि शाखाले एक लाख रुपैयाँ अनुदान दिएको छ । सँगै रहेका तीनवटा टनेलमा गोलभेंडा लटरम्म फलेका छन् । कृषक थापाले दैनिक ३ देखि ५ क्रेटसम्म गोलभेंडा टिपेर बिक्री गर्ने गरेका छन् । सुरुसुरुमा उनले प्रतिकेजी एक सय २० रुपैयाँसम्ममा गोलभेंडा बिक्री गरेका थिए । अहिले प्रतिकिलो ९० रुपैयाँमा बिक्री गर्ने गरेको बताए ।


साउन १५ देखि उनले गोलभेंडा बिक्री गर्न थालेका हुन् । शनिबारसम्म उनले करिब २ लाख रुपैयाँको गोलभेंडा बिक्री गरिसकेको बताए । ३ वटा टनेलबाट यो वर्ष करिब ५ लाख मूल्यबराबरको गोलभेंडा बिक्री गर्ने अनुमान उनले गरेका छन् । कविता जातको गोलभेंडा उनले जेठ २२ गते लगाएका थिए । ‘साउनको दोस्रो सातादेखि उत्पादन दिन सुरु गरिगो’ कृषक थापाले भने, ‘राम्रोसँग गोलभेंडा फलेको छ ।’ टनेलमा उनको १ हजार २ सय ५० वटा गोलभेंडाका बोट छन् । सबैमा राम्रोसँग गोलभेंडा फलेको छ । सरदर एउटा बोटमा ५ किलोसम्म गोलभेंडा उत्पादन हुने उनको अनुमान छ । थोपा सिँचाइको व्यवस्थासहित मल्चिङसिस्टमबाट टनेलमा उनले गोलभेंडा खेती गरेका छन् ।


प्रकाशित : भाद्र १५, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?