‘भूकम्पका घर’ एकैनासे

टीकाप्रसाद भट्ट

(रामेछाप) — भुकम्प आउनुअघि सबैका फरक–फरक शैलीका घर थिए । तर अहिले सबै एकैनास । सबै भूकम्पका घर । प्राय: एकै डिजाइन अनि सबै दुईकोठे । 

सबैले भूकम्पपछि ३ लाख अनुदान लिएर घर बनाएका छन् । पछिल्ला केही वर्षमा बनेका घरलाई कसैले ‘मेरो’ भन्दैन । सवैको बुझाइ एकै छ ‘भूकम्पका घर’ । प्राय अधिकांशले घर प्लास्टर गरेका छन् । भुइँमा ढलान छ । छाना प्राय: नीलो जस्तापाताकै छ । केहीले भने
रातो र सादा जस्तापाताले छाएका छन् ।

नेवारले घरमा सेतो कमेरो लगाएर तल पेटीभन्दा केही माथिसम्मको भागमा कालो माटोले पोत्थे । झ्याल–ढोकामा स्थानीय झारपातले बनाएको कालो रङ लगाउने चलन थियो । ठूला झ्याल अनि खुला बरन्डामा थोरै भए पनि फूल सजाउने नेवार समुदायको पहिचान थियो । चिसापानी, ठोसे, साँघुटारजस्ता नेवार समुदायमा हेर्दै चिटिक्क परेका घर थिए । अरू जातका भन्दा राम्रा र अग्ला । । सरसफाइ त्यस्तै लोभलाग्दो हुन्थ्यो । रातो माटोले छेपेका, खरले छाएका, माथिल्लो तला नछापेका, दैलो र जस्केलो मात्र भएका हेर्दा स–साना माथिल्लो तलामा जान काठको लिस्नो भएका घर अब माझी गाउँमा देखिँदैनन् । सुनकोसी र तामाकोसीको किनारमा अब अरू समुदायजस्तै ‘भूकम्पका घर’ छन् । राटो माटोको घरको बाहिर टाकलसम्म पुग्ने गरी माछा मार्नका लागि बनाएको घोलेन अहिले ठडिएको पाइँदैन । ‘कोसीमा माछा घटे, मार्ने माझी अरू पेसातिर लागे अनि जाल बन्न छोडे’ हात्तीटारका माइते माझी भन्छन्, ‘पहिले माझीगाउँ परबाटै चिनिन्थ्यो, झुरुप्प घर हुन्थे । अरू जातिको भन्दा फरक शैलीको बसोबास हुन्थ्यो हाम्रो माझीको ।

सुदूर उत्तरपूर्वी रामेछापका दोर्जी शेर्पा गुम्देलले पहिलेको जस्तो शेर्पाको मौलिकता भएका घर अब गाउँमा नभएको सुनाए । क्षत्रीहरूको भन्दा हाम्रो अग्लो घर हुन्थ्यो । माथिल्लो तलामा भान्सा कोठा भएका घरहरू अब छैनन् । ‘भूकम्पले नभत्केका त्यस्ता घर र अहिले पुनर्निर्माण भएका घर कताकता नमिल्ने, अहिलेका सबै होचा’ शेर्पा भन्छन्, ‘भुइँचालोले मौलिकता लग्यो ।’ डडुवाको घलेडाँडामा अर्को गज्जबको मौलिकता थियो । सबै घर काठका पातला फल्याकले छाइएका हुन्थे । पश्चिमी रामेछापको सबैभन्दा उच्च भूभाग झन्डै २ हजार ७ सय मिटरमाथिको उक्त बस्तीमा रहेका ४५ परिवारमा एकै खालको छाना थियो । अहिले त्यस्ता छाना विरलै छन् ।

काठ काट्न पहिलेझैं पाइँदैन, स्थानीय चन्द्रबहादुर श्रेष्ठले भने, ‘जस्ता सस्तो र सजिलो भएकाले सबैले जस्ता लगायौं । पहिले घलेडाँडा काठको छाना भएको टोल भनेर चिनिन्थ्यो । पुराना शैलीका घरहरूमा उज्यालो कम हुन्थ्यो । ढुंगा–माटोको जोडाइमा बनेका घरहरूमा सा–सना खोपा हुन्थे । खोपाहरूमा भँगेरालगायतका चराले बच्चा कोरल्थे । चराचुरुंगी बस्नका लागि अहिलेका घरमा खोपा हँदैनन् । सबै प्लास्टर गरेका हुन्छन् ।

प्रकाशित : भाद्र १५, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्

फैलँदै डेंगु, परीक्षण किटको अभाव

रमेशकुमार पौडेल, प्रताप विष्ट

(चितवन), (हेटौंडा) — डेंगु रोगका बिरामीको संख्या ह्वात्तै बढ्दा चितवनमा नि:शुल्क परीक्षण हुने किटको अभाव भएको छ । सरकारले डेंगुको परीक्षण नि:शुल्क गर्छ । सरकारी अस्पतालमा मात्रै नि:शुल्क परीक्षण हुने व्यवस्था छ । तर भरतपुरको सरकारी अस्पतालमा परीक्षण किट सकिएको छ । शुक्रबारदेखि अस्पतालमा डेंगु परीक्षण गर्न नसकेको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट (मेसु) डा. श्रीराम तिवारीले बताए ।

डेंगुको प्रकोप फैलिएपछि भरतपुर महानगरपालिकाले शनिबार नारायणगढ बजार क्षेत्रमा निकालेको चेतनामूलक र्‍याली । तस्बिर : रमेश/कान्तिपुर

प्रयोगशाला परीक्षणबाट प्रमाणित नभए पनि लक्षणको आधारमा डेंगुको उपचार गर्न मिल्छ । त्यसैको आधारमा उपचार सुरु गरेको उनले बताए । सरकारी अस्पतालमा परीक्षण नभए पनि शुल्क लिएर निजी अस्पतालहरूले डेंगुको परीक्षण गर्छन् । अहिले बिरामीहरूले परीक्षणका लागि मात्रै भए पनि निजी अस्पतालहरूमा उपचार गराउन थालेका छन् । साउनयता चितवनमा डेंगुको प्रकोप फैलिएको हो ।

चितवन स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार साउनयता भदौ १३ गतेसम्म जिल्लाका विभिन्न अस्पतालमा भएका परीक्षणहरूबाट ४९८ जनामा डेंगु भएको प्रमाणित भएको छ । जसमध्ये ३२५ जना भरतपुर महानगर क्षेत्रका बासिन्दा छन् । भरतपुरको नारायणगढ बजार क्षेत्रमा डेंगुको प्रकोप अन्यत्रभन्दा बढी देखिएको छ ।

‘परीक्षण सुरु गर्ने हो भने हामीलाई दिनमै तीन सय किट आवश्यक छ । हामीले स्वास्थ्य कार्यालयमार्फत मगाएको हो । तर शुक्रबारबाट हामीसँग भएको सबै किट सकिए । अब कहिले आउला प्रतीक्षामा छौं,’ मेसु डा.तिवारीले भने । उनले भरतपुर अस्पतालका लागि १५ सय किट तत्काल उपलब्ध हुनुपर्‍यो भनेर पत्राचार गरेको जानकारी दिए । पत्राचारपछि किट कहिले आउने हो भनेर दिनदिनै सोधपुछ सुरु हुने गरेको छ ।

‘महानगर र अन्य स्थानीय निकायसँग सहकार्य गरेर परीक्षण किटहरूको व्यवस्थापन गर्नु भन्ने कुरा छ’ जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केसीले भने । तर भरतपुर महानगरले अहिले जनचेतनामूलक अभियानलाई निरन्तरता दिन सुरु गरेको छ । एक चरणमा लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियान सकिएको छ । शनिबार नारायणगढ बजार क्षेत्रमा महानगरले चेतनामूलक र्‍याली निकाल्यो ।

‘अब फेरि पनि हामी लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने अभियानलाई निरन्तरता दिँदै छौं । यो रोगको प्रभावकारी नियन्त्रणका लागि यो नै उत्तम कार्य हो,’ महानगरका समाजिक विकास महाशाखाका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले भने । महानगरको जनस्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारी ज्वरोसँगै अन्य दुई लक्षण देखिए डेंगुको उपचार सुरु गर्न मिल्ने बताउँछन् । ‘त्यसैले किट अभावमा परीक्षण नहुँदैमा उपचार नै नहुने भन्ने हैन । ज्वरो आएका बिरामीको रगतमा प्लेटलेटको मात्रा र सेता रक्तकोश (डब्लुबीसी) को अवस्था हेरेर उपचार सुरु गर्न सकिन्छ,’ तिवारीले भने । भरतपुर अस्प्तालका फिजिसियन डा.भोजराज अधिकारीले परीक्षण किटहरू नहुँदैमा उपचार नरोकिए पनि बिरामीको मनोभावना परीक्षणबाट प्रमाणित भएरै मात्र उपचार गरौं भन्ने रहेको बताए ।

सरकारीमा नि:शुल्क उपलब्ध नभए पनि बिरामीहरू परीक्षणका लागि निजी अस्पतालहरूमा जाने गरेको डा.अधिकारीको अनुभव छ । ‘ज्वरोसँग अन्य दुई लक्षण टाउको दुख्ने, बान्ता आउने, शरीरमा डाबरहरू आउनेछ भने उपचार गर्न मिल्ने विश्व स्वास्थ्य संगठनकै नीति छ । यसमा प्लेटलेट र डब्लुबीसी परीक्षण गरे पनि भयो । डेंगुकै परीक्षण गरेर उपचार गर्नुपर्छ भन्ने छैन । तर बिरामीको मनोभावना अर्कै हुन सक्छ,’ उनले भने । सरकारीमा नपाए पनि निजीमा परीक्षण हुने भएका कारण मान्छेहरू निजी अस्पतालमा नै जाने गरेको उनले बताए । ‘सबैभन्दा राम्रो परीक्षण हुनु नै हो । नि:शुल्क परीक्षणका लागि किटको अभाव छ । कस्ता बिरामीलाई परीक्षण गर्ने भन्ने आधार बनाएर काम गरौंला तर अहिले जुन खालको ज्वरोको महामारीको अवस्था छ, यस्तो बेलामा किट उपलब्ध भए राम्रो,’ डा.अधिकारीले भने ।

सरकारीमा परीक्षण नभएपछि बिरामीहरू निजीमा जाँदा चर्को मूल्य तिर्नुपर्ने खतरा रहन्छ । ‘त्यस्तो नहोस् भनेर हामीले निगरानी गरी रहेका छौं,’ चितवन जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तिवारीले बताए । सरकारले चितवनका लागि हालसम्म ९६० वटा किट मात्रै पठाएको छ । जसमध्ये सात सय भरतपुर अस्पतालमा खपत भएको छ । अरू किट रत्ननगर अस्पतालमा गएको थियो । चितवनमा डेंगुका कारण एक जना, डेंगु र स्क्रब टाइफस दुवै भएर एक जना र स्क्रब टाइफले एक जनाको निधन भएको छ ।

हेटौंडामा ४३८ डेंगुका रोगी
हेटौंडामा डेंगुका बिरामी दैनिक रूपमा थपिदै गएका छन् । सुरुमा एकै दिन २० जनासम्म डेंगुका रोगी फेला परेपनि अहिले दैनिक चार/पाँच रोगी थपिने गरेको हो । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार शुक्रबार बेलुकासम्म मकवानपुरमा ४ सय ३८ जना डेंगु रोगी फेला परे ।

‘मकवानपुर अर्थात् हेटौंडामा डेंगु रोग क्रमश: नियन्त्रणउन्मुख छ,’ स्वास्थ्य कार्यालयका प्रमुख शशिकान्त सिंहले भने, ‘डेंगुका रोगी दैनिक चार/पाँच जना थपिने क्रम जारी छ ।’ डेंगु परीक्षण गर्ने किट समस्या पनि हुने गरेको छ । मागअनुसार माथिबाट किट आएको छैन । चार सय किट पठाउँछौं भनेका थिए तर २ सय मात्र पठाएका छन्,’ सिंहले भने, ‘अब किट थोरै मात्र बाँकी छ ।’ हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले डेंगु परीक्षण गर्न किट समस्या नहुने, आवश्यक परे उपमहानगरपालिकाले खरिद गरेर ल्याएर स्वास्थ्य कार्यालयलाई दिने बताए । ‘किटको कारणले रोग परीक्षण गर्न नपाउने अवस्था आउनु हुँदैन’ मेयर महतले भने, ‘किट खरिद गर्ने व्यवस्था नगरपालिकाले मिलाउनेछ ।’

स्वास्थ्य कार्यालयमा नि:शुल्क डेंगुको परीक्षण गर्ने गरिएको छ । हेटौंडा उपमहानगरपालिका–४ मा बढी डेंगुका रोगी फेला परेका छन । हेटौंडाबाट फैलिएको डेंगुको रोग अहिले मनहरी भीमफेदी, बकैया र वाग्मती गाउँपालिकाका बासिन्दामा समेत देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गत आवमा हेटौंडामा जम्मा पाँच जना मात्र डेंगुका बिरामी भेटिएकामा यस वर्षको लगातारको वर्षात्पश्चात् एक्कासि डेंगुको संक्रमण देखिएको थियो । साउनको पहिलो सातादेखि हेटौंडामा डेंगुको रोग देखा परेको हो । डेंगु रोग सार्ने लामखुट्टेहरू सफा पानी जम्ने स्थानमा बस्ने भएकाले वडाका हरेक टोलटोलमा पुगी पानी जम्ने खाल्डाखुल्डी पुर्ने, पानीको डम्बा, भाँडा, फ्याँकिएका विभिन्न टायरहरू हटाउने अभियान अहिलेसम्म पनि जारी छ । डेंगु देखिएसँगै स्थानीयको प्रत्यक्ष संलग्नतामा ‘खोज र नष्ट गर’ गर्ने कार्य भइरहेको छ ।

क्षेत्रीय किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाका शिशिर पन्तले आफ्नो टोलमा रहेको खाल्डाखुल्डी, जथाभावी फालिएका टायर, पानीका बोतल पुर्न, एसी र गमलाको पानी फेरेको खण्डमा बिस्तारै डेंगु नियन्त्रण हुँदै जाने बताए । ‘दिउसोको समयमा लामखुट्टेले टोक्दा डेंगु संक्रमण हुन्छ । सफा पानीमा बस्ने लामखुट्टेले टोक्दा यो रोग लाग्ने भएकाले सफा पानी जम्न नदिनु नै सबैभन्दा राम्रो कार्य हो । ’पन्तका अनुसार कुनै स्प्रे वा औषधि प्रयोग गरेर डेंगु नियन्त्रणमा आउँदैन ।

प्रकाशित : भाद्र १५, २०७६ ०९:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्