१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तरकारीमा बिचौलिया

किसानलाई मल, बीउ, कृषिमा प्रयोग हुने सामग्रीहरु उधारोमा दिने र बारीमा तरकारी टिपेर संकलन केन्द्रसम्म पुर्‍याउन प्लास्टिकका क्रेटहरुमा आफ्नै नाम लेखेर पठाउन थालेका छन् । किसानले आफूलाई सहयोग गर्ने बिचौलियाबाहेक अरुलाई तरकारी दिन असहज भएको छ ।

काठमाडौँ — प्रदेशका किसानले तरकारीको उचित मूल्य पाउन सकेका छैनन् । तरकारी बजारको सम्बन्धित निकायले नियमित अनुगमन नगर्दा र बिचौलियाका कारण किसान र उपभोक्ता ठगिएका छन् । अविरल वर्षा र विभिन्न रोगकाले पनि तरकारी उत्पादन गर्ने किसान समस्यामा पर्ने गरेका हुन् । मकवानपुरको उत्तरी क्षेत्रमा २० वर्षदेखि किसानले आलु, भेडेखुर्सानी, धनियाँसहित टनेलमा खेती गर्दै आएका छन् । तर, उनीहरूले श्रम र लगानीको प्रतिफल पाउन सकेका छैनन् । 

तरकारीमा बिचौलिया

थाहा–६ वज्रबाराहीका सविन श्रेष्ठले १६ वटा टनेलमा गोलभेडा खेती गरेका छन् । भारी वर्षा भएका कारण टनेलबाट पानी छिरेकाले गोलभेडाको धेरै बोट नै मरे । गत वर्ष करिब १२ लाख रुपैयाँको गोलभेडा बिक्री गरेका उनले यो वर्ष मुस्किलले ३ लाख रुपैयाँमा चित्त बुझाउनुपरेको छ । गोलभेडाको मूल्य थाहा नगरपालिकामा प्रतिकिलो ७० देखि ७५ रुपैयाँमा किसानले स्थानीय व्यापारीलाई बिक्री गर्छन् । त्यही गोलभेडा काठमाडौंमा प्रतिकिलो १५० र हेटौंडामा १४० रुपैयाँमा उपभोक्ताहरूले खरिद गर्छन् । ‘बिचौलियाका कारण किसान र उपभोक्ता दुवै ठगिएका छन्,’ थाहा नगलपालिकाका किसान विष्णु गोपालीले भने, ‘बाढीपहिरो, झरी, बिचौलियाका कारण हामी दुःख पाइरहेका छौं ।’ थाहा नगरपालिकाबाट काठमाडौं र हेटौंडासम्म तरकारी पुग्दा तीन तहका बिचौलिया पार गरिसकेको हुन्छ । तरकारी उत्पादन गर्ने किसानको तुलनामा बिचौलियाले तरकारी बिक्री गरेर बढी फाइदा लिने गरेको छन् ।


यसैगरी, धादिङ जिल्लामा उत्पादित निर्यातमूलक तरकारी र स्थानीयस्तरमै खपत हुने तरकारीको मूल्य निर्धारण र अनुगमन हुन सकेको छैन । जिल्लामा अन्य बजारमूल्य अनुगमन भए पनि तरकारीको खरिद बिक्री मूल्यको अनुगमन हुन सकेको छैन । तरकारीको मूल्य बिचौलियाले नै निर्धारण गर्ने गरेको छ । राजधानीलगायत देशका ठूला सहरमा नियमित तरकारी निर्यात गर्दै आएको धादिङका पृथ्वीराजमार्ग वरपरका सबै बस्तीहरू ताजा तरकारी उत्पादनका लागि प्रसिद्ध छन् । राजमार्ग वरपरका धादिङ मात्रै हैन सडक सञ्जालले छोएका गोरखा र नुवाकोटसम्मका किसानले गरेका कृषिजन्य उत्पादन राजमार्गमा सञ्चालित तरकारी संकलन केन्द्रमा दैनिक जम्मा हुन्छ । केही वर्षअघिसम्म राजधानीलगायत देशमका विभिन्न सहरबाट थोकमै तरकारी किन्न आउने ठूला व्यापारीले स्थानीय बिचौलियासँग प्रतिस्पर्धा गर्न सकेनन् । विभिन्न बहानामा गैह्रजिल्लाबासी व्यापारीलाई स्थानीय बिचौलियाले छिर्न नदिएर तरकारीको खरिद बिक्रीमा एकाधिकार कायम गर्न भ्याए । स्थानीय बिचौलियाबीचमै पनि प्रतिस्पर्धामा उछिन्न किसानलाई तरकारीको मल, बीउ, कृषिमा प्रयोग हुने सामग्रीहरू उधारोमा दिने र बारीमा तरकारी टिपेर संकलन केन्द्रसम्म पुर्‍याउन प्लास्टिकका क्रेटहरूमा आफ्नै नाम लेखेर पठाउन थाले, फलस्वरूप किसानले आफूलाई सहयोग गर्ने बिचौलियाबाहेक अरूलाई तरकारी दिन असहज भयो । बाह्रै महिना उत्पादन हुने बेमौसमी तरकारीमा हरेक संकलन केन्द्रमा रहेका बिचौलियाले एकाधिकार जमाउन सफल भए ।


यसरी किसानको उत्पादनमा स्थानीय स्तरमा गठित साना किसान सहकारी नामका बिचौलियादेखि स्थानीय बिचौलियाले राजधानीको बजारसम्म पुर्‍याउनका लागी तिनदेखी चार जना बिचौलियाको संलग्नता हुने गर्छ । काठमाडौंको मुख्य तरकारी बजारमा जाने तरकारी करिब ९० किमि टाढाको चरौंदस्थित संकलन केन्द्र र ३० किमिको धार्के, सलाङघाट , भल्टार, खानीखोलालगायतका स्थानबाट निर्यात हुन्छ । ५० देखि ६५ रुपैयाँसम्ममा किसानले बिक्री गरेको तरकारीको मूल्य उपभोक्तासम्म पुग्दा १५० सम्म पर्ने गर्छ । तरकारी बिक्री गर्दा नै बिचौलियाले तोकेको मूल्यमा किसानले बिक्री गर्नुपर्ने बाध्यता हुन्छ । तरकारी संकलन केन्द्रमा सहकारीले तरकारी तौल गरेको सेवा शुल्क लिने गरेका छन् । उक्त शुल्क प्रतिकेजी १ रुपैयाँसम्म पर्छ ।


बिचौलियाको मूल्यभन्दा बढी मूल्य खोज्ने किसानको तरकारी सहकारीमा समेत बिक्री नहुने समस्या छ । धादिङका तरकारी उत्पादक किसान यस्तो समस्या बर्सेनि भोग्दै आएका छन् ।


तरकारी तथा कृषि उत्पादनमा हलोगोरु छोडेर अब आधुनिक हाते ट्याक्टरको प्रयोग गर्छन् । यसले तरकारी उत्पादनमा खर्च हुने श्रम लागत पनि घटेको छ । जिल्लास्थित कृषि विकास कार्यालयले वार्षिक तरकारी उत्पादन र निकासी परिणाम हरेक वर्ष वृद्धि हुँदै गएको देखाउँछ । तर, तरकारीको भाउ घट्नु वा सोही मूल्यमा कायमै हुनुको साटो हरेक वर्ष बढेको बढ्यै छ । काठमाडौंको तरकारी आपूर्ति गर्ने भारतपछि धादिङ जिल्लाको २७ प्रतिशत योगदान रहेको जिल्लास्थित कृषि विकास कार्यालयको तथ्यांक छ । तर राजमार्गको तरकारी सिधै काठमाडौं र त्यताबाट फेरि फर्केर जिल्ला सदरमुकाम आउने गरेको छ ।


यसैगरी, चितवनका उपभोक्ताहरूले तरकारीको मूल्य बढी तिरेको गुनासो गर्छन् । किसानहरू भने आफूहरूले राम्रो मूल्य नपाएको बताउने गर्दछन् । चितवनमा सरकारी अधिकारीहरू तरकारी उत्पादनको राम्रो सम्भावना भएको बताउने गर्दछन् । तर तरकारी उत्पादनमा दशकौंदेखि लागेका किसान उत्पादनको मूल्य व्यपारीले तोक्ने गरेकोले मर्कामा पर्ने गरेको दुःखेसो पोख्छन् ।


कान्छा लामा लगभग २० वर्षदेखि तरकारी उत्पादनमा सक्रिय छन् । अहिले दुई बिघामा बर्खे तरकारी लगाएका छन् । ‘तरकारीले मलाई नाम पनि दियो, त्यसैगरी थोरै धेरै दाम पनि दियो । तर यो पेसामा किसानलाई के कति मर्का छ भन्ने ज्ञान पनि दियो,’ उनले भने ।


भरतपुर–२४ को केरुङ्गा ताजा तरकारी उत्पादक सहकारीका अध्यक्ष जनकराज पुरीको अनुभवमा तरकारीको मूल्य कुन बेला आउँछ, कुन बेला जान्छ किसानलाई पत्तो नै हुँदैन । ‘उत्पादन हामीले गर्ने हो । मूल्य व्यापारीले तोक्छन् । उनीहरूले लौ आजको मूल्य यति हो भनेपछि हामीले दिन्नौं भन्न मिल्ने अवस्था रहँदैन,’ पुरीले भने । उत्पादक र उपभोक्ता सिधै जोडिन नसक्दा यस्तो भएको उनले बताए ।


प्रकाशित : भाद्र १४, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?